PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

तारा एयरको विमान दुर्घटना : २१ जनाको शव फेला, १ जनाको खोजी कार्य जारी



पहिलोपोस्ट

तारा एयरको विमान दुर्घटना : २१ जनाको शव फेला, १ जनाको खोजी कार्य जारी

काठमाडौं : तारा एयरको विमान दुर्घटनामा विमानमा सवार २२ जनामध्ये हालसम्म २१ जनाको शव फेला परेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले सोमवार एक विज्ञप्ति जारी गर्दै घटनाले आफूहरु निकै मर्माहित भएको बताएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रसँगको समन्वयमा दुर्घटनास्थलबाट १० जनाको शव आधार शिविरमा ल्याई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको कम्पनीले जानकारी दिएको छ। शवहरु काठमाडौं ल्याइसकेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिने बताइएको छ।

‘संकलित अन्य ११ जनाको शव प्रतिकूल मौसमको कारण आधार शिविरतर्फ ल्याउन कठिनाई भइरहेको तर उद्धार टोली प्रयासरत रहेको छ, साथै बाँकी १ जनाको खोजी कार्य भइरहेको छ। संकलित सम्पूर्ण शवहरु पोस्टमार्टम गरिसकेपछि प्रक्रियाअनुसार सम्बन्धित परिवारजनहरुलाई हस्तान्तरण गरिने व्यहोरा जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

विमान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भिरमा १४ हजार ५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell