PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

महानगरको पहिलो बैठकमै बालेनलाई सकस : छलफल नै नगरी निर्णय गरेको भन्दै प्रशासकीय अधिकृतमाथि वडाध्यक्ष खनिएपछि...



प्रकाश भण्डारी

महानगरको पहिलो बैठकमै बालेनलाई सकस : छलफल नै नगरी निर्णय गरेको भन्दै प्रशासकीय अधिकृतमाथि वडाध्यक्ष खनिएपछि...

काठमाडौं : काठमाडौं महानगरका प्रमुख वालेन्द्र साहले सोमवार सपथ लिए। लगतै महानगरको कार्यालय पुगेका साहको पहिलो निर्णय रह्यो-महानगरको बैठक लाइभ गर्ने। खचाखच भरिएको साहको कार्यकक्षमा पत्रकारका केही प्रश्नको साहले जवाफ दिए। साहको पुरानै घोषणा हो-महानगरको फोहोर व्यवस्थापन नगरेसम्म जितको उत्सव नमनाउने, खादा माला नलगाउने। 

सञ्चार माध्यममा अन्तवार्ता पनि नदिने साहको घोषणा छ। जसको जानकारी साहले महानगरको कार्यालयमा पदभार ग्रहण गर्दा पनि गराए।  ‘फोहोरको व्यवस्थापन नभएसम्म अन्तर्वार्ता, खादा माला लगाएर सेलिब्रेसन गर्दैनौँ। हामीले गरेको पापको भोगी सिसडोलवासीहरु भइरहनुभएको छ,’ साहले भने। पत्रकारले एक पछि अर्को प्रश्न गर्न थालेपछि  साहको पत्रकारसँग गरम संवाद भयो। कसरी काम गर्ने? फोहोर व्यवस्थापन कसरी? महानगरको आफ्नै भवन कहिले भन्ने प्रश्न सोधिएपछि साहको जवाफ थियो, ‘पत्रकारले हाम्रो कुरा कहिले बुझ्ने?’  

सपथ ग्रहणमा दौरा सुरुवाल र चस्मा लगाएर उपस्थित भएका साह मेयरको कुर्सीमा बस्दा पनि कालो चस्मा सहितको गेटअपमा थिए। र्‍यापर पृष्ठभूमिका साहको सेलिबेट्री शैली महानगरको कुर्सीमा पुग्दा पनि देखियो। श्रीमती सविना काफ्लेलाई लिएर सपथ लिन मञ्चमा पुगेका साहले छेउमा बसेको उपप्रमुख सुनिता डंगोलसँग बेलाबेला कानेखुसी गरिरहेका थिए। नेपाली र नेवारी दुबैमा सपथ लिएका साहले मुख्य निर्वाचन अधिकृतबाट सपथ लिएका थिए। 

६ एजेण्डामा छलफल

पहिलो दिनको बैठकमै साहले ६ एजेण्डा प्रस्तुत गरे। परिचय, धन्यवाद ज्ञापन, फोहोरमैला व्यवस्थापन,रेष्टुँरामा ट्वाइलेट सार्वजनिक प्रयोगमा ल्याउने, कल सेन्टर सञ्चलान, इन्फ्रास्ट्रक्चर एम्बुलेन्स सञ्चालन गर्ने बताए। लाइभ गरिएको बैठकको सुरुवातमा महानगरका प्रमुख प्रशासनिक अधिकृत लोकनाथ पौडेलले प्रमुख र उपप्रमुखको परिचय गराएपछि साहले बैठकलाई अघि बढाएका थिए। 

भौतिक संरचना बिग्रिएको ठाउँमा एम्बुलेन्समार्फत तत्काल सेवा दिने घोषणा साहले गरेका छन्। ढल फुटेको, खाल्डो परेको, बिजुलीका पोल व्यवस्थापन लगायतका विषय उक्त सेवामा समेटिने साहले बताएका छन्। कल सेन्टरमा आउने गुनासोलाई पनि सबै वडा अध्यक्षहरुले पनि सम्बोधन गर्नुपर्ने महानगरले व्यवस्था गर्न लागेको छ। रेष्टुरामा एउटा वत्ती राख्ने र त्यो वत्ती बलेको देखेपछि नागरिकले शौचालयमा जान सक्ने साहले बताएका छन्। रेष्टुरामा शौचालय प्रयोग गर्दा व्यापर पनि बढ्ने साहको भनाइ छ। कार्ययोजना बनाएर महानगरका सबै ढलहरुको ४५ दिनभित्र गर्ने पनि महानगर कार्यपालिकको बैठकले निर्णय गरेको छ। भोलिदेखि नै काम सुरु हुने प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिए। 

साहको एजेण्डामा साथ तर कार्यान्वनयमा प्रश्न

बैठकमा वडा अध्यक्षहरुले साहले अघि बढाएका एजेण्डाहरुमा प्रश्न उठाएका थिए। फोहोर व्यवस्थापनमा केन्द्रित भएको बैठकमा रेष्टुराँको शौचालयलाई सार्वजनकि प्रयोगमा ल्याउने निर्णय माथि पनि वडा अध्यक्षहरुले प्रश्न उठाए। वडा नम्बर १५ का वडा अध्यक्ष ईश्वरमान डंगोलले रेष्टुँराको शौचालयलाई सार्वजनिक प्रयोग ल्याउने विषमा प्रश्न उठाउँदै फोहोर व्यवस्थापन नभएसम्म बैठकको भत्ता नलिने घोषणा गरे। यस्तै, वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालले पनि फोहोरमैला व्यवस्थापन गर्दा एकातिर महानगरले घरबहाल कर लिएको र अर्कातिर फोहोरको पैसा लिएको भन्दै साहलाई ध्यान दिन आग्रह गरे।

वडा अध्यक्षहरुले महानगर वडा अध्यक्षहरुसँग मिलेर अघि बढ्न आग्रह गरे। उनीहरुले फोहोर व्यवस्थापनका लागि यसअघिका भएका निर्णयलाई पनि अघि बढाउन सुझाए। पौडेलले प्रस्तावलाई निर्णयका रुपमा प्रस्तुत गरेको भन्दै वडा अध्यक्षहरुले विरोध गरेपछि निर्णय नै फिर्ता भएको थियो। 

‘तपाई एक्लो हुनुहुन्छ’

वडा नम्बर ६ को वडा अध्यक्ष भुवन लामाले ढललाई व्यवस्थापन गर्नका लागि मेयरले आफै फिल्डमा जानुपर्ने बताए। ‘सर्वे गर्न मेयर आफै फिल्डमा जानुपर्छ। के के कुरालाई व्यवस्थापन गर्ने,’ उनले भने।  वडा नम्बर ३२ का वडाध्यक्ष नवराज पराजुलीले साह मेयरमा एक्लो भएको बताए। उनले तर एक्लो महसुस नगर्न आग्रह गर्दै भने, ’तपाइ त एस्सो हेर्दाखेरी एक्लो हुनुहुन्छ। तपाइले आफूलाई एक्लो फिल नगर्न म अनुरोध गर्छु। तपाइ तबसम्म एक्लो हुनुहुन्न हामी पार्टीको घोषणापत्र लिएर जनतामा गयौं घोषणापत्रमा उल्लेख भए अनुसार काम गर्न हामी प्रतिवद्ध छौ। नाङ्लो जत्रो छाति बनाए। सबै जनप्रतिनिधिलाई सहयोग गर्नुपर्ने खाँचो छ। मैले नेपाली कांग्रेसको भाषा एमालेले बोल्ने भनेर साथीहरुले नलिन म अनुरोध गर्छु।’ 

एमालेबाट वडाध्यक्षमा निर्वाचित पराजुलीले सल्लाह गरेर अगाडि नबढे साहलाई काम गर्न अप्ठेरो हुने भन्दै सरसल्लाह गरेर मात्रै अघि बढ्न सुझाव दिए। भने,’साथीहरुसँग छलफल गरेर सल्लाह गरेर अगाडि बढेनौं भने अप्ठेरो हुन सक्छ। एमाले, कांग्रेस र समाजवादीका साथीहरुसँग फ्रिक्वेन्टलि छलफल गर्नु राम्रो ऐजेण्डामा छलफल गरेर त्यही अनुसार केही भए थप्ने घटाउने। आजको एजेण्डाको पनि निर्णय हुदै छ।’ मिटिङ बस्नु पहिले एजेण्डाबारे पूर्व जानकारी नदिएको भन्दै वडा अध्यक्षहरुले असन्तुष्टि जनाएका थिए। रेष्टुरामा शौचालय सुरु गर्न सात दिनभित्र सम्झौता गर्नुपर्ने निर्णय बैठकले गरेको छ। एजेण्डाबारे छलफल नगरी निर्णय गरिएको भन्दै बैठकमा वडा अध्यक्षहरुले विरोध गरेका थिए। प्रमुख प्रशासकीय अधिकृतले निर्णयका रुपमा प्रस्तावहरुलाई राखेको भन्दै बैठकको अन्तिममा वडा अध्यक्षहरुले विरोध गरेपछि पौडेललले निर्णयको बचाउ गरेका थिए। 

'अविश्वास नगर्नुस्'

वडाध्यक्षहरुले उठाएका प्रश्नहरुलाई सम्बोधन गर्दै साहले आफूलाई अविश्वास नगर्न आग्रह गरे। उनले दलीय हिसाबले आफूलाई नसोच्न आग्रह गरे। फोहोर व्यवस्थापनका लागि कार्यदल बनाएर जानुपर्ने बताउँदै उनले हरेक पार्टीको दुई जना रहेको कर्यदल बन्ने जानकारी दिए। 'फोहोर व्यवस्थापनमा प्लान ए प्लान बि बनाएर जान सकिन्छ। दल बनाएर यहाँ इन्टरड्युस गर्न जरुरी छैन। फोहोर व्यवस्थापनका लागि सबै फार्टीको दुई दुई जना राखेर समिति बनाउ,' उनले भने। साहले आफूले बैठकमा उठेका प्रश्नहरुलाई नकारात्मक रुपमा नलिएको बताएका छन्। 'नेगेटिभ सोचेको भए त पाँच महिनाअघि नै चुनाव हार्थे नि। आज यहाँ आएको कुरा पोजेटिभ छ,' साहले भने। 

उपप्रमुख डंगोलले कल सेन्टर सञ्चलनको आइडिया एकदमै राम्रो भए पनि चुनौतीपूर्ण भएको बताइन्।  उनले क्वीक रेस्पोन्स टिम बनाएर अगाडि बढ्नुपर्ने बताइन्। उनले एजेण्डाहरुबारे पहिले नै छलफल गर्नुपर्ने भए पनि पहिलो दिनको बैठकमा पूर्व जानकारी हुन नसकेको बताइन। 'कोअपरेसन,कोलाब्रेसन र कोएकजिसटेन्स हुनुपर्छ,' डंगोलले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell