
पोखराः बिहानी सूर्यको किरणसँगै विष्णुदेवी रनपालको मनमा आशा पलाएको थियो। प्रार्थना गर्दै थिइन्, छोरी सकुशल भेटिनेछिन्। जोमसोमको पहाडमा हराएकी छोरी फर्किने छिन्। आड भरोसा बनिरहेकी छोरी त्रासले बढिरहेको सीताको धड्कन थाम्नेछिन्। सधैझैं आमालाई थमथमाउनै आउने छिन्। तर, उनको आशामा कालो बादल मडारियो। छोरीको सास कहिल्यै नफर्किने गरी जोमसोमको पहाडमा बिलायो।
आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका -२ सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो। विमानमा रहेका २२ जनामध्ये एक थिइन् उनकी छोरी एयर होस्टेस किस्मी थापा (मनिषा)। आएको समाचारसँगै सीताले आफ्नो आशाको दियो निम्भेको थाहा पाइन्। थामेर राखेको झिनो आशा हरायो। छोरीलाई पर्खेर नथाकेका उनका आँखा छोरीको सास हराएसँगै रोएर थाक्दै छन्।
दुर्घटनामा परेकाको शव उद्दार गरेर मुस्ताङबाट काठमाडौँ लगिँदै छ। आफ्नी छोरीलाई अन्तिम पटक मायाले सुम्सुमाउन काठमाडौँ पुगेकी छिन् उनी। स्याङ्जा घरबाट उनलाई बोलाउँदा आफन्तले छोरी अस्पतालमा रहेको बताए। तर समाचार हेरेर छोरी कहिल्यै नफर्किने गरि हराइसकी भन्ने उनले थाहा पाइन्। खबरसँगै विष्णुदेवीको होस् छैन। सोमबार दिउँसो पोखरा विमानस्थल ल्याउँदा आफन्तले समाल्दै थिए उनलाई। भक्कानिदै थिइन् उनी एक्लो सन्तान गुमाउँदा। आफन्तले सम्झाउँदै थिए उनलाई। मन थामे जस्तो गर्थिन उनी। तर, एकैछिनमा डाँको छोडेर रुन्थिन्।
'मलाई मेरो छोरीसँगै लगिदेउ, म जान्न कतै मेरो छोरी थिम जान्छु,' उनी कराउँदै थिइन्, 'मेरो छोरीको ज्यान खाको प्लेनमा म चढ्दिनँ। छोरी छैन रे मेरो म किन जाने। छोरीसँगै जान देऊ।'
किस्मी उनकी एक्लो सन्तानमात्र होइनन्। जिन्दगीमा जिउने आशा र भरोसा थिइन्। अन्तरजातीय विवाह गरेर मगरको घरमा भित्रिएकी सीतालाई किस्मीको जन्म भएपछि श्रीमानले घरबाट निकालिदिए।
श्रीमानले घरबाट निकालेपछि काखमा किस्मी बोकेर माइती घर स्याङ्जा चापाकोट वडा ४ मा आएर आमासँगै बसिन्। छोरीलाई संघर्ष गरेर पढाइन्, हुर्काइन्। साथमा थिइन् विष्णुदेवीकी आमा उमासरा रनपाल। उनलाई आमाको साथ भए पनि परिवारको स्थिति सहज थिएन। उमासराले पनि एक्लो ज्यान र मृतक श्रीमानको पेन्सनबाट परिवार धान्दै थिइन्।
संघर्षमै हुर्किएकी किस्मी गाउँमा १० कक्षासम्म पढेर थप अध्ययनका लागि वालिङ झरिन्। त्यसपछि एयर होस्टेस बन्ने सपना बोकेर पोखरा आइन्। ०७१ मा पोखराकै एयरलायन्स फ्लाइट अटेन्डेन्ट एकेडेमीमा तालिम लिइनँ। नाम निकालिन। केही समयपछि यति एयरलाइन्समा एयर होस्टेसका लागि विज्ञापन खुल्यो। त्यसको केही समयपछि यतिले किस्मीलाई तारा एयरमा पठायो। त्यसपछि उनी लगातार तारा एयरमा होस्टेसका रूपमा कार्यरत थिइन्।
काम सुरु गरेपछि आमालाई हौसला दिने बलियो आधार बनेकी थिइन् किस्मी। परिवारको आर्थिक जिम्मा उनैले सम्हाल्न थालिन्। संघर्षका दिनमा मामाले सहयोग गरेका थिए। उनी मामाको पनि आड लगाउने टेको बनिन्। मामाको छोराछोरीको शिक्षाको जिम्मा लिइन्। दुई बहिनी र एक भाइलाई पढाउँदै आएकी थिइन् उनले।
'दुःख गरेर हुर्काएकी छोरी थिइ। दुखैदुःखमा हुर्किइ। परिवारको जिम्मेवारी सम्हालेकी नानी हो। यस्तो भयो,' विमानस्थलमा आफन्तले भन्दै थिए।
विमानस्थलमा रहँदासम्म १६ जनाको शव भेटिएको थियो। त्यही भीडमा कसैले सुनाउँदै थिए 'एयर होस्टेसको शव अझै पाइएको छैन।'
आफन्तले झिनो आशा गरेका थिए। किस्मीको जिउँदै उद्दार हुन्छ कि।
'विमान दुर्घटना भयो भन्ने खबर पाइयो। पछि त तारा एयर नै भन्छन्। दिदीको पनि तारा एयर। पछि त नाम नै आयो,' ती आफन्तले भने, 'अझै नि १६ जनाको मात्र शव भेटिएको छ रे। दिदीको शव नि भेटिए छैन भन्छन्। घाइते भएर उद्दार हुन्छ कि।'
अन्तिमसम्म उनले आशा गरे पनि अब, किस्मी फर्किएर आउँदिनन्। परिवारको आड भरोसा, भाइबहिनीको मार्गदर्शक बनिरहेकी किस्मीको हिँड्ने बाटो हराएको छ। उनी अब, आमा विष्णुदेवीलाई सम्हाल्न आउने छैनन्। किस्मीकै मुहार हेरेर अघि बढेकी उनले राम्रोसँग आफ्नो खुसी बाँड्न पनि पाइनन्। अस्ति भर्खर स्थानीय निर्वाचनबाट चापाकोट ४ मा दलित महिला सदस्यमा निर्वाचित भएकी विष्णुदेवीको ऊर्जा उनै छोरी थिइन्। अहिले उनको जिउने आधार निभेको छ।