PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

नेपाली खेलकुदमा कप्तान - उपकप्तानको आकस्मिक बहिर्गमन : संयोग कि 'इगोको क्ल्यास'?



मुकुन्द घिमिरे

नेपाली खेलकुदमा कप्तान - उपकप्तानको आकस्मिक बहिर्गमन : संयोग कि 'इगोको क्ल्यास'?

काठमाडौं : जेठ ६ गते नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कप क्वालिफायर्स खेल्न २३ सदस्यीय खेलाडी घोषणा गरे। उनले घोषणा गरेको टोलीमा नेपाली टोलीका नियमित कप्तान किरण चेम्जोङ र उपकप्तान रोहित चन्दलगायत पहिलो रोजाइमा पर्दै आएका ११ खेलाडी परेनन्। र, सिनियर खेलाडी बिना नै नेपाली टोली एसिया कप छनोट खेल्न निस्किसकेको छ। उसो त खेलाडी र प्रशिक्षकको विवादले १० जना सिनियर खेलाडीले राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए। तर ती खेलाडीको समर्थनमा बोल्ने चेम्जोङसहित ११ खेलाडी टिममा अटाएनन्।

भलै, अखिल नेपाल फुटबल संघ एन्फाले गठन गरेको छानविन समितिले प्रशिक्षकको गल्ती ठहर गर्दै एसियन कप क्वालिफायर्सपछि अलमुताइरीको विकल्प खोज्न सुझाव दिएको छ। एन्फाको चुनाव नजिकिँदै गर्दा खेलाडीको मुद्दा चुनावी एजेन्डाका रुपमा पनि विकसित हुँदैछ। त्यसैले अध्यक्षको दाबेदारी दिइसकेका पंकज विक्रम नेम्बाङले सामाजिक सञ्जालमा प्रश्न उठाए - नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान श्री किरण चेम्जोङ टिमबाट बाहिरिनुपर्ने कारण चाहिँ के रै'छ? टिम मेनेजरले प्रष्ट पारिदिनुपर्‍यो।

त्यही प्रश्न एन्फाका उपाध्यक्ष कृष्ण थापाले पनि राखेका छन्। फुटबल समर्थक पनि प्रशिक्षकको यस्तो निर्णयमा खुशी सुनिँदैनन्।

+++

नेपाली महिला क्रिकेट टोलीले युगाण्डाको टोलीसँग पाँच खेलको टी २० सिरिज खेल्यो। जसमा ३-२ ले सिरिज गुमाउन पुग्यो। सिरिजको ठीक अघि नेपाल क्रिकेट संघ क्यानले उपकप्तानमा सीता राना मगरलाई हटाउँदै इन्दु वर्मालाई नियुक्त गर्‍यो। त्यतिखेर हटाइयो जतिबेला सीता प्रतिष्ठित विदेशी लिग फेयर ब्रेकमा उच्चस्तरको प्रदर्शन गरिरहेकी थिइन्।

'क्यानले राम्रै सोच्नु भएको होला। भविष्यका लागि सोच्नु भएको होला। मैले पनि मिडियाबाटै थाहा पाएको हो। मलाई केही थाहा थिएन। म फेयरब्रेकको फाइनल खेल खेल्न जाँदै थिएँ। त्यतिबेला अरुबाट उप कप्तान फेरिएको थाहा पाएँ,' उनले भनिन्, 'युवा खेलाडीलाई ग्रुम गर्न त्यसो गर्नुभएको होला। अझ राम्रो हुन्थ्यो होला जब अर्को युवा खेलाडीलाई लिएर कप्तानमा 'ग्रुम' गराएको भए। घरेलु मैदानमा म्याच खेल्दा अझ राम्रो हुन्थ्यो होला।'

उसो त घरेलु महिला क्रिकेटमा सबैभन्दा सफल क्रिकेट टोली एपीएफको कप्तान हुन्, राना। उनलाई राष्ट्रिय टोलीकै कप्तानमा दाबेदारका रुपमा हेर्ने अवस्था रहँदारहँदा पाइरहेकै पदसमेत गुमाउन पुगिन्। कप्तानमा आफू दाबेदार भएको भए पनि क्यानको निर्णय स्वीकार्ने उनी बताउँछिन्।

'कप्तानीमा दाबेदारी हो तपाईँ भन्ने लाग्दैन?'

'लाग्न त लाग्छ। उहाँहरुको निर्णयलाई मैले स्वीकार गर्नैपर्छ। म खुशी छु। एपीएफको नेतृत्व गरेको राम्रो नतिजा पनि दिइरहेको छु,'सीताको जवाफ रह्यो, 'एपीफएफमा मेरो कदर भइरहेको छ। म खुशी छु।

+++

जेठ ५ गते क्यानले रोहितकुमार पौडेललाई उप कप्तानको जिम्मेवारी दियो। खेलाडी र क्यान बिचको विवादपछि रिक्त रहेको उपकप्तान पदमा पौडेललाई राख्यो। कुरा सोझो देखिन्छ, तर त्यसको पछाडिको कथा भने लामो छ।

फागुन पहिलो साता खेलाडी वर्गीकरणबाट सुरु भएको विवादमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई हटाउनेसम्मको निर्णयमा पुग्यो नेपाल क्रिकेट संघ। उनीहरु सहित चारजना खेलाडी कारबाहीमा पनि परे। त्यसपछि सन्दीप लामिछानेले कप्तानीको जिम्मेवारी पाए। पछि खेलाडीको कारवाही क्यानले फुकुवा गरे पनि कप्तान र उपकप्तानको पद फिर्ता भएन। कप्तानमा सन्दीप लामिछाने आए भने लामो समय नेपाली टोली उपकप्तान बिहीन बन्यो।

यस विवादले खेलाडी त विभाजित भए नै, बोर्ड सदस्यबिच पनि मतभेद सुरु भयो। र छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्न थाले। पुबुदुको आगमनसँगै लामो छलफलपछि सतहमा आएको विवादपछि साम्य भएको देखियो। कारबाही फिर्ता लिने लगायतका सहमति भएपछि खेलाडी मैदानमा फर्किए। त्यसपछि राष्ट्रिय टोलीको विवाद पनि सेलायो। तर, सबै पक्षको इगो भने साम्य भइसकेको छैन। कप्तान परिवर्तनपछि पूर्व कप्तान बनेका ज्ञानेन्द्र मल्लले एउटा सिरिजमा अवसर पाए अनि ड्रप भए। चाहे त्यो घरेलु मैदानमा भएको खेलमा होस् या विश्वकप लिग २ अन्तर्गत नेपालले अमेरिकामा खेल्न गइरहेको प्रतियोगिता नै किन नहोस्।

त्यसअघिका कप्तान पारस खड्काले कप्तानी छाड्‍दा अनपेक्षित मानेको थियो खेलकुद क्षेत्रले। अझ सफल कप्तानका रुपमा हेरिएका खड्काको सन्यास त्यो भन्दा पनि अनपेक्षित रह्यो।  

+++

चैत अन्तिम साता नेपाली फुटसल टोलीले कीर्गिस्तानको राजधानी विस्केकमा एसिया कप छनोटको खेल खेलेको थियो। एक महिनाको मात्र तयारी गरेर बिस्केक पुगेको नेपाली टोलीको प्रदर्शन राम्रो हुन सकेन। दुईवटा अभ्यास खेल र तीन वटा प्रतियोगितामा पराजय ब्यहोर्दै नेपाल घर फर्कियो। मापदण्ड सहितको अभ्यास स्थलमा समेत अभ्यास गर्न नपाएको नेपाली टोलीले ब्यहोरेको त्यो नतिजा अप्रत्यसित थिएन।

प्रतियोगिताको अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग खेल्ने तय थियो। नेपाली टोलीका कप्तान अनिस श्रेष्ठ भने त्यसै खेलपछि सन्यासको सोचमा थिए। उनले यो कुरा अफिसियललाई भनेनन् र अन्तिम खेलमा टिममा परेनन्। राष्ट्रिय टिमका सिनियर खेलाडी मध्येका एक हुन् उनी। सन् २०१७ बाट नेपालले फुटसलमा सहभागिता जनाउन सुरु गर्दा २६ वर्षे उनी टिममा थिए। फुटसलमा उनी लागेको चाहिँ दशक कटिसकेको थियो।

नेपाल फर्किएसँगै उनले समाजिक सञ्जालमार्फत अब राष्ट्रिय जर्सीमा नउत्रिने घोषणा गरे।

'सायद १९ देखि २४ वर्षको उमेरसम्म खेल्छु भन्ने जोश हुन्छ तर त्यसपछि घरेलु समस्या पनि त आउँछन्। काँधमा जिम्‍मेवारी आएपछि चाहिँ गाह्रो हुन्छ। म अहिले २६ वर्षको भएँ,' उनले पहिलोपोस्टसँग सुनाए, 'इन्टरनेसलमा मेरो ताजकिस्तानसँगको अन्तिम हो। घरेलु प्रतियोगितामा सायद खेल्छु होला तर राष्‍ट्रिय टोली नै भनेर चाहिँ हिँड्दिन।'

+++

यी प्रतिनिधि घटना हुन्। यस्ता घटनाक्रमहरु नेपाली खेलकुदमा आइरहन्छन्। सुनिइरहन्छ। २०७६ सालमा भलिबलमा पनि यस्तै परिवर्तन भएको थियो। तत्कालीन कप्तान र उपकप्तान बिनिता बुढाथोकी र मञ्जु गुरुङलाई टिमभन्दा बाहिर राख्दै भलिबल संघले टिमको घोषणा गरेको थियो। भलै, त्यसयता नेपाली महिला टोलीको प्रदर्शन उच्च छ।

पछिल्लो समय भारत्तोलनका खेलाडी सञ्जु चौधरीको आत्महत्या सिंगो नेपाली खेलकुद क्षेत्रलाई नै तरङ्गित बनाउने खालको थियो। सागमा स्वर्ण पदक जितेकी उनी एकाएक श्रद्धाञ्जली दिने पात्र बन्न पुगिन्। मर्नेहरुको कथा अलग भए पनि बाँचिरहेका धेरै खेलाडीको हालत पनि सहज छैन।

यसरी खेलकुद राजनीतिको केन्द्र बन्दै जाँदा खेलाडी पलायनको दर पनि त्यत्तिकै छ। राजनीतिकै कारण पछिल्लो समय राष्ट्रिय फुटबल टोलीमा उच्च प्रदर्शन गर्दै गएका दुई खेलाडी विदेश भासिए। क्रिकेटका कति राष्ट्रिय टोलीका खेलाडी अमेरिकामा लिग खेल्दै बसेका छन् र कति पलायन भइसके? अन्य खेलका खेलाडी कसरी पलायन हुँदैछन्? दक्षिण एसियाली खेलकुदजस्तो प्रतिस्ठित प्रतियोगिताको पूर्व सन्ध्यामा खेलाडी किन विदेश भासिन्छ, यसको जवाफ राजनीतिको केन्द्र बनेका संघहरुले खोज्नैपर्ने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell