PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

आठ वर्षदेखि अल्झिएका यी १० नयाँ सहरलाई ३ अर्ब बजेट, के छ अहिलेसम्मको प्रगति?



पहिलोपोस्ट

आठ वर्षदेखि अल्झिएका यी १० नयाँ सहरलाई ३ अर्ब बजेट, के छ अहिलेसम्मको प्रगति?

काठमाडौं : सरकारले आगामी वर्षको बजेटमा नयाँ सहर आयोजनाका लागि ३ अर्ब बढी बजेट विनियोजना गरेको छ। आइतवार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पुष्पलाल मध्यपहाडी लोकमार्गमा पर्ने १० नयाँ सहर आयोजनाका लागि तीन अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन्।

आर्थिक वर्ष २०६७/६८ बाट देशका १२ स्थानमा स्मार्ट सिटी योजना अघि सारेको सरकारले यस वर्ष पुष्पलाल राजमार्गमा पर्ने शहरका लागि मात्रै बजेट विनियोजन गरेको हो। शहरी विकास मन्त्रालयले सबै आयोजनालाई एकैसाथ अघि बढाउँदा बजेट कम भएको र कुनै पनि आयोजनामा खर्च नपुगेको भन्दै १० नयाँ सहरलाई प्राथमिकताका साथ अघि बढाउन लागेको जनायो।

सहरी विकास मन्त्रालयले आगामी वर्षका लागि ३७ अर्ब ७३ करोड रुपैयाँ बजेट पाएको छ।

आगामी आर्थिक वर्षका लागि नयाँ सहर निर्माणमा ३ अर्ब रुपैयाँ बजेट आएको र उक्त बजेटको ७० प्रतिशत रकम मध्यपहाडी क्षेत्रका १० नयाँ सहरहरूमा खर्च गरिने योजना रहेको नयाँ सहर आयोजनाका प्रमुख रोशन श्रेष्ठले बताए। साथै, बाँकी ३० प्रतिशत बजेट भने अन्य आयोजनाका लागि खर्च हुनेछन्।

उनका अनुसार बजेटकै कारणले नयाँ सहर निर्माणले गति लिन सकेको थिएन। अब यो बजेटले मध्यपहाडीको १० वटा सहरलाई मुख्य प्राथमिकता दिएर अघि बढाउने उनले बताए।

विगतमा नयाँ सहर निर्माणमा २० लाखका दरले लगानी भइरहेको थियो। उक्त रकमले नयाँ सहर निर्माण गर्न धेरै समस्या भएको उनले बताए। मध्यपहाडी क्षेत्रमा कुल १० वटा शहरको भौतिक पूर्वाधार निर्माणको कामलाई सहरी विकास मन्त्रालयले उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको छ।

सरकारले मध्यपहाडी लोकमार्गअन्तर्गतका पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी-गल्छी, तनहुँको डुम्रे भन्सार, बागलुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनमा आधुनिक सुविधासम्पन्न सहर निर्माण गर्न लागेको हो।

कतिपय सहर निर्माणका लागि खर्च भए पनि उपलब्धि भने शुन्य रहेको बताइएको छ।

मध्यपहाडी लोकमार्गभित्र पर्ने बसन्तपुरमा नयाँ सहर निर्माणअन्तर्गत चालु आर्थिक वर्षको त्रैमासिक (साउन-असोज) मा १०.६४ प्रतिशत भौतिक प्रगति भएको श्रेष्ठले बताए। हालसम्म यस आयोजनामा कुल ५.६३ प्रतिशत काम सम्पन्न भएको श्रेष्ठको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell