PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

टिकटकमा भिडियो हेरेर आएका योगेशको अर्थमन्त्रीलाई प्रश्न, 'बजेटमा माओ र मार्क्सको गन्ध आयो'



पहिलोपोस्ट

टिकटकमा भिडियो हेरेर आएका योगेशको अर्थमन्त्रीलाई प्रश्न, 'बजेटमा माओ र मार्क्सको गन्ध आयो'

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद योगेश भट्टराईले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौती भएको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन्।

प्रतिनिधिसभामा जारी बजेटमाथिको सैद्धान्तिक छलफलमा उनले प्रश्न गरे, ‘ कमिशन नआउने भएर नै शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौती गर्नु भएको हो ?’

एमाले सचिव समेत रहेका भट्टराईले सरकारले गत वर्षको भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौती गरेको बताए।

उहाँले अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे इन्टरभ्यू दिँदा अर्थमन्त्रीहरुले कमिशन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कम ल्याउने गरेको भिडियो टिकटकमा भाईरल भएको भन्दै आफूले पनि त्यसै गरेको हुनुपर्ने जिकीर गर्नु भयो ।

‘अहिले टिकटकमा माननीय अर्थमन्त्रीज्यूको एउटा भिडियो आईरहेको छ। सायद उहाँले पनि हेर्नु भयो होला। त्यतिबेला उहाँले एउटा इन्टरभ्यू दिइरहनु भएको थियो। त्यो मैले हिजो मात्रै टिकटकमा हेरेँ। शिक्षाको बजेट किन बढाएन, स्वास्थ्यको बजेट किन बढाइएन भन्ने सन्दर्भमा उहाँले उत्तर दिनु भएको छ। शिक्षाको बजेटमा त २० प्रतिशत हुनुपर्थ्यो, स्वास्थ्यको बजेट त २० प्रतिशत हुनुपर्थ्यो भन्दै उहाँले के भन्नु भएको छ भने, त्यहाँ किन बजेट बढाउँदैनन भने अर्थमन्त्रीहरु त्यहाँ कमिशन आउँदैन’ योगेशले भने, ‘आज उहाँ स्वयमले अर्थमन्त्रीको रुपमा यहाँ बजेट प्रस्तुत गर्नु भएको छ। शिक्षामा उहाँले कुनै उल्लेख्य बजेट राख्नु भएको छैन। २० प्रतिशतको कुरै छोडौं। १० प्रतिशतको हाराहारी पनि पुगेको छैन। स्वास्थ्यको स्थिति हेर्ने हो भने गएको वर्ष भन्दा बजेट घटाइएको छ। अब म अर्थमन्त्रीजीलाई नै सोध्न चाहन्छु, के साँच्चै कमिशन नआउने भएर शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा बजेट कटौती गर्नु भएको हो त ?’

बजेटमा माओत्सेतुङ र कार्ल्स मार्क्सको गन्ध आएको उनको टिप्पणी थियो।

‘कतैकतै यो बजेट हेर्दा सत्तरी, असी दशकतिरको माओत्सेतुङको गन्ध आउँछ। कतैकतै यो बजेट हेर्दा अलिअलि मार्क्स पनि गन्ध आउँछ। यो बजेट वास्तवमा के हो ? मेरो विचारमा यो चौबाटोमा उभिएको छ। कता जाने यसले गन्तव्य निश्चित गरेको छैन। त्यसको अर्थ यो कतै पनि जाँदैन। यो त्यही बस्छ, अलमलिएर बस्छ,’ उनले भने।

बजेटले नेपाली समाजमा रहेका उत्पादक शक्तिहरुको विकास गर्ने कुरामा ध्यान नदिएको आरोप उनले लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell