काठमाडौं : 'नेपालमा अधिकांश हेलिकोप्टर र प्लेन सेकेण्ड ह्याण्ड आउँदो रहेछ। युरोपमा काम नलाग्ने जहाज नेपालमा आउँदो रहेछ। यसले गर्दा मानिसको जीवनमाथि खेलबाड गर्ने काम भइरहेको छ,' तारा एयरको विमान दुर्घटना भएपछि संसदीय समितिमा सोमबार भएको छलफलमा पर्यटन मन्त्री आलेले यसरी आफ्नो अभिव्यक्ति राखेका थिए। उनले नेपालको आन्तरिक उडानका प्रयोग हुने अधिकांश जहाज कामै नलाग्ने भएको टिप्पणी गरेका थिए।
तारा एयरको विमान दुर्घटनामा २२ जनाको मृत्यु भएपछि अहिले आन्तरिक उडानबारे विभिन्न प्रश्न उठिरहेको बेला मन्त्रीले नै आन्तरिक उड्डयन क्षेत्रबारे आफ्नो धारणा राखे। अहिले उनको यही अभिव्यक्तिको आलोचना भइरहेको छ। आन्तरिक उडानमा प्रयोग हुने धेरैजसो जहाज कामै नलाग्ने रहेको बताएपछि उड्डयन क्षेत्रमा आवद्ध विज्ञ तथा व्यवसायीहरुले चर्को असन्तुष्टि जनाएका हुन्।
उड्डयन क्षेत्रकै अभिभावकको भुमिकामा रहेका व्यक्तिले यसरी प्राविधिक अध्ययनबिनै नेपालको उड्डयन र पर्यटन क्षेत्रमै प्रभाव पर्ने गरि अनावश्यक तर्क राख्नु लापरवाही रहेको सम्बन्धित व्यवसायीहरुले बताएका छन्। एक व्यवसायीले भने, 'उड्डयन क्षेत्र नै नबुझेको व्यक्ति विभागीय मन्त्री भएका कारण यस्तो तर्क आउनु स्वभाविक हो।'
जहाजमा उत्पादन मितिभन्दा पनि मर्मत सम्भार र उडान योग्यतालाई प्राथमिकता दिइने वायुसेवा संचालकहरुले बताउने गरेका छन्।
'ताराले ब्राण्ड न्यू जहाज ल्याएर यही रुटमा उडान गर्दा पहिला पनि दुर्घटना भएको थियो। जहाज नयाँ र पुरानो भन्दा पनि यसको मर्मत सम्भारलगायत र उडान योग्य रहे-नरहेकोमा ठूलो अर्थ राख्छ,' एक व्यवसायीले भने, 'छानविन कमिटी गठन भएको छ। अनुभवै नभएको विभागीय मन्त्री आएपछि यस्ता बचपना कुरा भएको छ। जनजीवनसँग खेलवाड गर्ने कम्पनीलाई नियन्त्रण गर्न सकिएन भनेर राजीनामा दिए भैगो नी। मन्त्री त विज्ञसँग बसेर कुरा गर्ने हो नी। मिडियामा कुर्लिएर मात्र हुँदैन।'
हवाई जहाज कहिल्यै फर्स्ट वा सेकेण्ड ह्याण्ड नहुने नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम बताउँछन्।
सुरक्षाको दृष्टिकोणले कुनै पनि मुलुकको नियामक निकायले उडानयोग्य प्रमाणित गरेपछि मात्र उडान अनुमति दिइने हुँदा प्रयोग भइसकेको वा ब्राण्ड न्यू जहाजले उडान गर्न सक्ने उनले जानकारी दिए।
'यहाँ उडान हुने जहाजहरुको नियमित र छड्के निरीक्षण हुन्छ। योसँगै जहाजमा प्रयोग उपकरणको समय अवधि सकिएअनुसार चेकजाँच गरिन्छ। त्यहीअनुसार उपकरण फेरिन्छ,' पूर्वमहानिर्देशक गौतमले भने, 'मन्त्रीज्यूलाई यहाँ प्रयोग हुने जहाज कामै नलाग्ने लागेको अवस्थामा कम्पनी नै बन्द गरिदिए भैगो नी।'
दुई दशकयता भएको हवाई दुर्घटनाको कारण जहाज पुरानो भएकै कारण भएको पुष्टी नभएको उनको दाबी छ। 'संवेदनशील विषयमा सार्वजनिक ठाउँमा जे मन लाग्यो त्यही बोल्न भएन नी,' उनले भने।
विभागीय मन्त्रीको हैसियतमा भएको व्यक्तिले प्राविधिक अध्ययनबिनै संसदीय समितिमा तर्क दिएको बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले बताए।
'हामीले सुरुदेखि नै भन्दै आएका छौं - जहाजको लाइफ हुन्छ। जसलाई इकोनोमिक लाइफ भनिन्छ। त्यसलाई एक साइकल, एक घण्टा, एक मिनेटले अर्थ राख्छ। जहाज पुरानो आउँछ। त्यसलाई मर्मत सम्भार गर्दै उडान गरिन्छ,' बस्नेतले भने, जहाज नयाँ ल्यायो भने पनि आखिर पुरानो त भइहाल्छ। अब पुरानो कति समयावधिसम्म चलाउने भन्ने कुरा उत्पादक कम्पनीले तोकेको हुन्छ।'
उनका अनुसार, एउटा ब्राण्ड न्यू एटीआर-७२ खरिद गर्दा २ करोड ५० लाख अमेरिकी डलर पर्न आउँछ। अर्थात् तीन अर्ब १० करोड नेपाली रुपैयाँ पर्छ। प्रयोग भइसकेको तर नियम अनुसार १५ वर्षभन्दा कम पुरानो जहाज खरिद गर्दा पनि तीन अर्ब रुपैयाँ मूल्य पर्छ।
बस्नेत भन्छन्, 'मन्त्रीज्यूले १५ हजार घण्टा उडान क्षमताको इन्जिन भएको जहाज १० हजार घण्टामा उडान गर्ने, पाँच वर्षभन्दा पुराना जहाज चलाउन नपाइने जस्तो कुरा गर्नुभयो। अब एटिआरकै ७० हजार घण्टा जहाज उडान गर्न पाइन्छ। यसमा अब ३० हजार घण्टा भन्दा बढी चलाउन नपाइने भनिएपछि बाँकीको आर्थिक नोक्सानी मन्त्रीजीले तिर्नुहुन्छ हामीलाई?'
नयाँ जहाज समेत दुर्घटना हुन सक्ने वा हुने गरेकाले हवाई दुर्घटनालाई कसरी न्युनिकरण गर्ने भन्ने महत्त्वपूर्ण रहेको उड्डयन क्षेत्रका जानकारहरु बताउँछन्।
नेपालमा प्रेसराइजअन्तर्गत हाफ लाइफ र १५ वर्ष पुरानोसम्म जहाज ल्याउन दिने प्रावधान रहेको छ। जस्तै, ७० हजार माइल साइकलको जहाज छ भने कम्पनीलाई ३५ हजार साइकलभन्दा कम उडान गरेको या १५ वर्षभन्दा कम समयावधिको जहाज ल्याउन पाउने प्रावधान छ।
नयाँ जहाज खरिद असम्भव: प्रवन्ध निर्देशक बस्नेत
लागतका कारण पनि सबै नयाँ जहाज खरिद असम्भव रहेको बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेतको भनाइ छ। उनी भन्छन्, 'साढे २ करोड अमेरिकी डलर पर्ने ब्राण्ड न्यू जहाज पहिलेदेखि उडिरहेको र उडान लाइफ भएको ५० लाख डलरमा ल्याइन्छ। हिजोको दिनमा हामीले ९० लाख डलर तिरेर पनि जहाज ल्याएका थियौं।' लागत अन्तरका कारण पनि नयाँ जहाज ल्याउन असम्भव रहेको उनको आशय छ।
जहाज खरिद बाहेको यसको नियमित संचालनका लागि गर्नुपर्ने मर्मत सम्भार र अन्य खर्च पनि ठूलो आउने भएकाले त्यसतर्फ पनि विचार गर्नुपर्ने बस्नेत बताउँछन्।
उनी भन्छन्, 'नेपालमा विदेशी जनशक्ति ल्याएर वायुसेवा संचालन गर्न सकिँदैन। यसका लागि हामीले पाइलटलाई ६ महिनाको अन्तरालमा सिमुलेटर ट्रेनिङमा पठाउँदै आएका छौं। हरेक जहाजको वर्षको तीन हजार युरो तिर्दै आएका छौँ।' जहाजको प्यारामिटर प्रोसिड्योर अनुसार छ कि छैन भन्ने विषयमा अपडेट हुनका लागि कम्पनीले वार्षिक करिब ५० हजार युरो खर्च गर्दै आएको उनले बताए।
प्राविधिक मर्मत सम्भारका लागि कम्पनीले एक अर्ब रुपैयाँ बराबरको स्पेयरपार्ट्स जगेडा राख्दै आएको उनले जानकारी दिए। कम्पनीले दुईवटा जहाज ह्याङ्गरमै राखेर प्रकृया अनुसारको मर्मत सम्भार गर्दै आएको पनि उनको भनाइ छ।