PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

जिङ्गल गाउँदै सुरु भएको थियो केकेको यात्रा, बलिउडलाई दिएका थिए आइकनिक रोमान्टिक गीत



पहिलोपोस्ट

जिङ्गल गाउँदै सुरु भएको थियो केकेको यात्रा, बलिउडलाई दिएका थिए आइकनिक रोमान्टिक गीत
Photo : Getty Images/ BBC

‘हम रहेँ या ना रहेँ कल कल...याद आयेंगे ये पल.. पल ये हे प्यार के पल ..’

कुरा मित्रताको होस् वा प्रेमको, जीवन दर्शनलाई समेट्ने यो गीत कुनै समय एक 'एन्थम' जस्तै बनेको थियो । सबैलाई मन पर्ने गीत।

सन् १९९९ मा सार्वजनिक भएको ‘पल’ एल्बमका गीतहरु गाउने यी गायकको नाम हो केके। कर्णप्रिय स्वरका धनी कृष्णकुमार कुननाथले त्यसअघि हजारौं जिङ्गलहरु गाइसकेका थिए तर उनले ‘याद आयेंगे ये पल’ गीतबाट मानिसको मनमा स्थान बनाएका थिए। उनले आफ्नो आध्यात्मिक स्वरलाई फरक स्तरमा पुर्‍याए। उनले बिरहलाई आफ्नो गायनमा ढाले र गाए - ‘तडप तडप के इस दिल से आह निकल्ती रही’।

यसरी नै केके फिल्म संगीतको दुनियाँमा आए र प्रभुत्व पनि जमाए। कहिले शाहरुखको रोमान्टिसिज्म (आँखों में तेरी अजब सी गजब सी अदाएँ हे), कहिले प्रेमको बयान गर्दा रणवीरको स्वर (सजदे में यूँ ही  झुकता हूँ, तुम पे आके रुकता हूँ) त कहिले प्रेमको उदासीनता(दश बहाने करके ले गई दिल) र कहिलेकाहीँ हृदयको पीडा (तडप तडप)मा उनले आफ्नो स्वर दिए।

उनी गायक त थिए नै त्यससँगै उनी एक संगीतकार, खानाप्रेमी, प्रकृति प्रेमी, यात्रा गरिरहन मन पराउने एक असल व्यक्ति पनि थिए। केकेले आफ्नो पहिचान यसरी नै वर्णन गर्थे। दिल्लीमा हुर्केका केकेलाई बाल्यकालदेखि नै संगीतमा रुचि थियो र गीत पनि गाउने गर्थे। उनले संगीतको पाठ त लिएनन्, तर उनको लय अचम्मको थियो।

उनै गायकको ५३ वर्षको उमेर मंगलवार निधन भयो। कोलकातामा उनको अचानक निधन हुन पुग्यो। उनी कोलकातामा एक कन्सर्टमा सहभागी थिए। कोलकाताको एक कलेजको कार्यक्रममा सहभागी हुन यहाँ गएका थिए उनी। कार्यक्रमकै क्रममा उनले आफू बिरामी भएको बताएका थिए। कार्यक्रमबाट फर्किएपछि उनलाई निजी अस्पताल लगिएको थियो। त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरे। उनको शव पोष्टमार्टमका लागि पठाइएको छ।

गायक बन्ने सपना

सानैदेखि उनलाई गीत संगीतको निकै रची थियो। पुरानो क्यासेट प्लेयरमा आफूले धेरै गीत सुन्ने गरेको उनले बताएका छन्

कलेजमा साथीभाइहरु सँगसँगै प्रस्तुति पनि दिन्थे उनले। जब उनको बिहे हुन लागेको थियो, एकजना साथीले उनको लागि मार्केटिङको काम खोजिदिए। तर, काम गर्दागर्दै उनले गीत संगीतलाई निकै सम्झे। त्यसपछि उनी काम छाडेर मुम्बई हानिए। उनले विज्ञापनहरूमा जिङ्गल गाउन थाले, त्यसपछि हजारौँ जिंङ्गलहरूमा उनले स्वर भर्ने मौका पाए। यसैगरी, सुरु भएको थियो उनको गायन यात्रा।

बलिउड यात्रा सुरुवात

विज्ञापनमा जिङ्गल गाउने काम गर्दागर्दै उनलाई फिल्म ‘माचिस’मा ‘छोड आए हम वो गलियाँ’ गीत गाउने मौका मिल्यो। उनले गीतमा दुई लाइन मात्रै गाएको भएपनि त्यो विशाल भारद्वाजको फिल्म थियो। त्यसपछि एआर रहमानले फिल्म ‘सपना’मा उनलाई मौका दिए। तर, टर्निङ प्वाइन्ट बन्यो १९९९ मा आएको फिल्म ‘हम दिल दे चुके सनम’।

इस्माइल दरबारले फिल्म ‘हम दिल दे चुके सनम’को लागि उनलाई ‘तडप तडप के इस दिल’ गीत गाउन लगाए। सामान्यतया यस्ता गीतका लागि संगीतकारहरूले पाका गायकहरुलाई मात्रै लिने गर्दथे।

तर, इस्माइलले उनलाई विश्वास गरे र उनले पनि मनबाटै सो गीत गाइदिए। त्यो गीत निकै हिट भयो। सोही वर्ष उनको एल्बम पनि रिलिज भयो। जसको एउटा गीत ‘जैसे याद आएंगे वो पल’ निकै लोकप्रिय भयो। आजभोलि पनि स्कुल कलेज तिर यही गीत बजाइन्छ।

बलिउड यात्राका क्रममा उनीमाझ केही अप्ठ्यारा पलहरु पनि आए। गीतका शब्दहरु मन नपर्दा उनले गीत गाउनै इन्कार गरेका पलहरु पनि छन्।

एक पटक एक नयाँ संगीतकारले उनलाई गीत गाउन बोलाए। गीत गाउँदै गर्दा उनलाई महसुस भयो कि गीतका शब्दहरू ठीक छैनन्। त्यसपछि उनी गीत नै नगाइ स्टुडियो छोडेर हिँडे। पछि गीतको शब्द बद्लिएको भन्दै फोन गरेरै उनलाई बोलाइयो। ती संगीतकारको त्यो पहिलो फिल्म थियो र निर्माता सिनियर भएकाले पनि संगीतकारले हुँदैन भन्न सकेनन्।

संगीतकारको गीतलाई आफ्नै गीत  जसरी गाउने गायक नै असल गायक हो भन्ने उनले सोच्थे। उनले आफ्नो सांगीतिक यात्रा दौरान पनि त्यसै गरे। उनले दिनमा एउटा मात्र गीत रेकर्ड गर्ने गर्थे।

उनी भन्ने गर्थे, ‘गायकले गीत आफैँ महसुस नगर्दासम्म श्रोतालाई कसरी त्यो राम्रो लाग्छ र?’

उनको निधनपछि भारत शोकमा डुबेको छ। भारतीय संगीतले एक अब्बल गायक गुमाएको छ। उनका फ्यानहरुले सामाजिक सञ्जालमा दुःख व्यक्त गरिरहेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न मन्त्री तथा राजनीतिज्ञहरुले उनलाई श्रद्धान्जली दिइरहेका छन्।

भारतमा मात्रै नभई उनका फ्यानहरु पाकिस्तानमा पनि छन्।

केकेको मृत्युमा शोक व्यक्त गर्दै पाकिस्तानी पत्रकार डिनो अलीले ट्वीट गरेका छन्, ‘किशोरावस्थादेखि युवावस्थासम्मै तपाईँ मेरो साउन्डट्र्याकमा हुनुहुन्थ्यो। ती सम्झनाहरू, संगीत र आवाजहरूको लागि म सधैँ तपाईँप्रति आभारी रहनेछु। धन्यवाद सर। पाकिस्तानबाट तपाईँको प्रशंसकको माया।’ नेपालमा पनि उनले फ्यानहरुले श्रद्धान्जली अर्पण गरिरहेका छन्।

केही वर्षपछि केके कोलकतामा दुई वटा शोका लागि फर्किएका थिए। उनी आफ्नो जादुमय आवाजले आफ्ना फ्यानहरूलाई मनोरञ्जन दिन निकै उत्साहित थिए। कोलकाताको एक स्थानीय च्यानलसँगको अन्तिम अन्तर्वार्तामा केकेले आफ्ना फ्यानहरूबाट आइरहेको मायाले आफू अभिभूत भएको बताएका थिए।

उनले कोलकताका मानिसहरूले आफूलाई निकै माया गर्ने र आफूले पनि उनीहरूलाई माया गर्ने बताएका थिए। उनले नजरुल मञ्चमा प्रस्तुति दिन पाउँदा आफू निकै उत्साहित भएको बताएका थिए।

उनले आफ्नो पुरानो गीत ‘यारोँ’ गाएर अन्तर्वार्ताको अन्त्य गर्दै भनेका थिए, ‘यसलाई याद गरिरहनु।’ दिवंगत गायकको आज पोष्टमार्टम गरिने बताइएको छ। त्यसपछि परिवारले शवलाई मुम्बई ल्याइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell