
काठमाडौं : हेलिकप्टरका उडान सुरक्षित र व्यवस्थित गराउने भन्दै नागरिक उड्डयन प्राधिकरणले नयाँ नियम प्रस्ताव गरेको छ। प्रति उडान दुई जना पाइलट परिचालन गर्नुपर्ने प्रस्तावमा व्यवस्था गरिएको छ।
तर, यस्तो नियम अनिवार्य गरे व्यवसायमा प्रतिकूल असर पर्ने भन्दै व्यवसायी असन्तुष्ट छन्। सीमित यात्रु क्षमताको हुने भएकाले हेलिकप्टरका लागि दुई जना पाइलट अनिवार्य गर्न नहुने तर्क व्यवसायीको छ। उनीहरुका अनुसार प्रति उडान दुई जना पाइलट परिचालन गर्नुपर्दा जनशक्ति अभावसँगै उच्च हिमाली क्षेत्रमा प्रतियात्रु ५५ प्रतिशतले भाडादर वृद्धि हुनेछ। सामान्य क्षेत्रमा ३० र उच्च हिमाली क्षेत्रमा ५५ प्रतिशतसम्म भाडादर वृद्धि हुने उनीहरुको भनाइ छ।
हाल सगरमाथा बेस क्याम्प, गोरक्षेप लगायत हिमाली क्षेत्रमा यात्रुले चार हजार अमेरिकी डलर तिर्दै आएका छन्। प्रस्तावित नियम लागु भए प्रति व्यक्ति भाडादर वृद्धि हुनेछ।
'यसै पनि नेपालमा हेलिकप्टरमा काम गर्ने जनशक्तिको कमी छ। अहिले नै विदेशी पाइलट प्रयोग गरिएको छ। प्रत्येक कम्पनीको अवस्था यही छ,' एक व्यवसायीले भने, 'एकजना पाइलटबाहेक पाँच यात्रु चढ्न मिल्छ। नयाँ नियम लागु भए त यात्रु चारजना मात्रै चढाउनु पर्छ। यात्रुलाई नै घाटा छ। पाँच जनाले मिलेर तिर्दै आएको भाडा चार जनाले तिर्दा त महँगो हुने नै भयो।'
स्पेसल भीएफआरको हकमा दुईजना पाइलट राख्दा समस्या नभए पनि सबै उडानमा यो संख्यामा सेवा दिँदा त कम्पनी टिक्नै नसक्ने उनको तर्क छ।
यो विषयमा बुधबार वायुसेवा संचालक संघको बैठक बस्ने तयारी रहेको प्रवक्ता योगराज शर्मा कँडेलले बताए। 'दुईवटा क्याप्टेन राख्दैमा दुर्घटना हुँदैन भन्न मिल्दैन। अब कुन लजिकमा यो प्रावधान लागू गर्न लागिएको हो बुझ्न सकिएको छैन,' उनले भने, 'रोबिन्सन हेलिकप्टरमा दुईजना पाइलट राखेर उडान गर्नु कतिको भायवल छ? यत्ति त बुझिदिनुपर्यो नि।'
कमर्सियल हेलिकप्टरको कमर्सियल भ्यालु राखेर नियम लागू गर्न आवश्यक रहेको उनले बताए। कोभिड१९ बाट तंग्रिन बल्ल सुरु भएको उद्योगलाई यो नियम पारित हुँदा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा राज्यको आम्दानीमै प्रभाव पर्ने उनको भनाइ छ।
'यसअघि नै हेलिकप्टरको सिट संख्या घटाइएको छ। अहिले यो नियमको कुरा। नेपाली पाइलटको संख्या बढाउने हो भने ठीक छ,' उनले भने, 'तर कहिले लकडाउन त कहिले नयाँ नियम ! उसै पनि बजेटमा पर्यटन र उड्डयन क्षेत्रलाई त्यति प्राथमिकता दिइएको छैन।'
उनका अनुसार मुलुकमा हाल सञ्चालनमा रहेका हेलिकोप्टर कम्पनीको संख्या ११ छ भने हेलिकोप्टर ३७ वटा छ। जसमा २९ वटा हेलिकोप्टरले उडान सेवा दिँदै आएका छन्। निजी हेलिकोप्टर कम्पनीमा ११ जना विदेशी र करिब ३५ जना नेपाली पाइलट कार्यरत रहेको उनले जानकारी दिए। हाल तीनवटा नयाँ हेलिकोप्टर भित्रिन मन्त्रालयको प्रक्रियामा छन् भने एउटा कम्पनी उद्योग दर्ताका लागि प्रक्रियामा छ।
नागरिक उड्डयन प्राधिकरणको मंगलबार बसेको बैठकमार्फत एक इन्जिन भएका हेलिकोप्टरको हकमा प्राधिकरणले तोके बमोजिमको अवस्था बाहेक दुईजना पाइलट अनिवार्य गर्नका लाग प्रस्ताव तयार गर्न निर्देशन दिएको थियो। यसका लागि प्राविधिक टोली गठन गरिएको जनाइएको छ।
हाल मुलुकमा सिम्रिक, एयर डाइनेष्टी, कैलाश, मुस्ताङ, मनाङ, हेली एभरेष्ट, श्री, प्रभु, अल्टिच्युड, माउन्टेन, फिस्टेल लगायत हेलिकोप्टर कम्पनीले उडान सेवा दिँदै आएका छन्।