
काठमाडौंः इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ। केही समययता निरन्तर उकालो लागिरहेको पट्रोलको भाउ यो पटक पनि उँभो लाग्ने देखिएको छ। डिजेलमा भने केही मूल्य घटेर आएको छ। नयाँ मूल्यका आधारमा पनि पाक्षिक रुपमा पेट्रोलमा ६७ करोड, डिजेलमा एक अर्ब ३० करोड र एलपी ग्यासमा एक अर्ब ४३ करोड रुपैयाँ घाटा नै रहेको निगमले जनाएको छ।
मूल्य समायोजनअघि निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलमा आठ रुपैयाँ २१ पैसाले भाउ बढेर आएको छ। यस्तै, मट्टीतेलमा करिब सात रुपैयाँ भाउ बढेर आएको छ। डिजेल र ग्यासको मूल्य भने घटेर आएको छ। डिजेलमा सात रुपैयाँ र ग्यासमा २२ रुपैयाँ भाउ घटृेर आएको छ।
निगमका अनुसार नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा र डिजेलमा १९ रुपैयाँ ७३ पैसा घाटा रहेको छ। अहिले पेट्रोल प्रतिलिटर १८० र डिजेल १६३ मा कारोबार भइरहेको छ।
निगमले आइओसीलाई मे महिनाका लागि ४३ अर्ब भुक्तानी गर्नुपर्नेमा २२ अर्ब ४० करोड रुपैयाँमात्र भुक्तानी गर्न सकेको जनाएको छ। १६ अर्ब भुक्तानी अझै बाँकी रहेको निगमले जनाएको छ।
आर्थिक वर्षको वैशाख मसान्तसम्म निगमलाई ४७ अर्ब नोक्सानी भइरहेको र असारसम्म ६० अर्ब पुग्ने प्रक्षेपण निगमको छ।
आपूर्तिलाई सहज गर्न मूल्य समायोजन आवश्यक रहेको निगमले विज्ञप्तिमा जनाएको छ।