PahiloPost

Jun 18, 2024 | ५ असार २०८१

दुई वर्षपछि जावलाखेल पुगे रातो मछिन्द्रनाथ, दृश्यमा रथयात्राको उल्लास

दुई वर्षपछि जावलाखेल पुगे रातो मछिन्द्रनाथ, दृश्यमा रथयात्राको उल्लास

पहिलोपोस्ट /पहिलोपोस्ट


ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथलाई आज जावलाखेल पुर्‍याइएको छ। लगनखेलको इति टोलबाट तानेर कुमारीपाटी हुँदै रथलाई जावलाखेलमा रहेको ‘रछ्यान कामना पीठ’को खाल्डोमा पुर्‍याइएको हो। सो पीठको खाल्डोमा पुगेपछि मात्रै रातो मछिन्द्रनाथको रथ तान्ने लक्ष्य सम्पन्न (या: न्याइ) भएको मानिन्छ।

रातो मछिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्‍याइएको छ। इति टोलबाट जावलाखेलसम्म रथ पुर्‍याउने दिन पुल्चोक, बुंगमती, कीर्तिपुर, पांगा, नँगाउँ, सतुंगल, बलम्बु, मच्छेगाउँ  र थानकोटका मानिसहरु आउनुपर्ने कथन छ।

रातो मछिन्द्रनाथको रथलाई पाटनबाट पश्चिम दिशामा पर्ने बुङ्गमती लैजाने भएकाले आजको यात्रालाई ‘पश्चिमगमन यात्रा’ पनि भनिन्छ।

पढ्नुहोस् : रातो मछिन्द्रनाथको ‘पश्चिमगमन यात्रा’, मणिमण्डपको सिंहासन अगाडि बसेर निकालिएको थियो साइत

दुई वर्षपछि रातो मछिन्द्रनाथको रथ आज जावलाखेल पुर्‍याइएको हो। कोरोना भाइरस संक्रमणका कारण दुई वर्षसम्म पुल्चोकबाट नजिकैको पाटीसम्म पुर्‍याएर रातो मछिन्द्रनाथको रथयात्रा समापन गरिएको थियो। भोटो जात्रा नगरी रातो मछिन्द्रनाथलाई बुंगमति फिर्ता लगिएको थियो।

रथ जावलाखेल पुगेसँगै यो वर्षको रथयात्रा सम्पन्न भएको छ। जेठ २१ गते जावलाखेलमै भोटो जात्रा हुनेछ। सो दिन उपत्यकामा सार्वजनिक विदा दिइनेछ।

भोटो जात्रापछि रातो मछिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्गमती लगिन्छ। त्यहाँ रहेको मन्दिरमा विराजमान गराएपछि मात्रै यो वर्षको रातो मछिन्द्रनाथको जात्रा समापन हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell