
दक्षिण अमेरिकी र युरोपेली च्याम्पियनबीचको खेल फाइनलिसिमाको गएराति सम्पन्न खेलमा इटलीमाथि अर्जेन्टिनाले जित निकालेको छ। इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा सम्पन्न खेलमा कोपा अमेरिकाको च्याम्पियन अर्जेन्टिनाले युरोकपको च्याम्पियन इटलीलाई ३-० गोलअन्तरले हराएको हो।
खेलको २८ औं मिनेटमा लियोनल मेस्सीको पासमा लौटरो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा मार्टिनेजको पासमा एन्जेल डी मारियाले गोल गर्दा पहिलो हाफमा अर्जेन्टिना दुई गोलले अघि रह्यो। दोस्रो हाफमा सब्सिच्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेका पाउलो डिब्यालाले अर्जेन्टिनाका लागि अर्को गोल थपे। उनले इन्ज्युरी समयमा लियोनल मेस्सीको पासमा गोल गरेका थिए।
अघिल्लो वर्ष जुलाई महिनामा यूईएफए युरो कपको फाइनल खेलमा इङ्ग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इटली च्याम्पियन युरो कप च्याम्पियन बनेको थियो। यद्यपि, कतार विश्वकपमा भने इटलीको उपस्थिति रहने छैन। छनोट चरणबाटै बाहिरिँदा इटलीले विश्वकप गुमाउँने भएको हो।
अर्कोतर्फ अघिल्लो वर्षको जुलाई महिनामै कोपा अमेरिकामा ब्राजिललाई १-० गोलअन्तरले हराउँदै अर्जेन्टिनाले २८ वर्षपछि उपाधि जितेको थियो।