PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

जितपछि फरक क्षमता भएका खेलाडीमा छचल्किएको खुसी : सपना पारा ओलम्पिकबाट पदक ल्याउने

जितपछि फरक क्षमता भएका खेलाडीमा छचल्किएको खुसी : सपना पारा ओलम्पिकबाट पदक ल्याउने

मुकुन्द घिमिरे/पहिलोपोस्ट


सुभेक्षा खतिवडा १५ वर्षकी भइन्। बाल मस्तिस्क पक्षघातका कारण आफै हिड्डुल गर्न नसक्ने उनी बुधवार बोचिया खेलमा पहिलो भइन्।

'खुशी लाग्छ खेल्न पाउँदा। रमाइलो लाग्छ। आज त म पहिलो भए,' जितपछि उनी दंग देखिए। त्यसो त पहिलो भए पनि अझै सन्तुष्ट छैनन् उनी। किनकि पारा ओलम्पिक खेल्ने सपना छ उनको।

सुभेक्षाको दुबै खुट्टा अनि एउटा हात चल्दैन।

मध्य बानेश्वरस्थित एम्बिसन एकेडेमीमा कक्षा आठमा पढ्छिन्। उनलाई घरभन्दा स्कुलमा रमाइलो लाग्ने रहेछ।

'सुरुबाटै त्यही पढेकी हुँ। आनन्द लाग्छ। घरभन्दा स्कुल प्यारो लाग्छ,' उनी भन्छिन्, 'बाबाले स्कुल पुर्‍याइदिनु हुन्छ। ममी लिन आउनुहुन्छ।'

उनको अहिलेको सबैभन्दा ठूलो सपना हो पारा ओलम्पिकमा बोचियाबाट देशका लागि मेडल जित्ने। सँगसँगै कम्य्युटर इन्जिनियर बन्ने। सपना पुरा गर्न पढाइमा पनि अब्बल हुनुपर्ने बुझेकी छिन् उनले।

'६ सम्म त राम्रो पढाइ थियो। सातमा आएर चाहिँ अलि बिग्रियो,' सुभेक्षा भन्दै थिइन्, 'बाबा ममीले कम्प्युटर इन्जिनियर बन्नुपर्छ भन्नु हुन्छ। मलाई कम्प्युटर चलाउन मनपर्छ।'

उनकी आमा शोभा विष्ट संघसंस्थाहरुमा सक्रिय छिन्। त्यसो त सुभेक्षालाई स्याहार गर्दै उनको दिन जान्छ।

फरक क्षमता भएका व्यक्तिहरुले समाजमा विभिन्न समस्या झेल्नुपर्छ। एक त भौतिक संरचना नै मैत्री छैनन्। अर्को मानिसहरु आफै जिस्क्याउने, खिज्याउने र दुर्व्यवहारसम्ममा उत्रन्छन् फरक क्षमता भएका व्यक्तिविरुद्ध। तर, उनले भने त्यस्तो ब्यहोर्नु नपरेको सुनाइन्।

'अरुले जस्तो ह्यारेसमेन्ट खप्नु परेको छैन। सहयोग पनि मिलेन र असहयोग पनि भएन,' शोभाले सुनाइन्। सुभेक्षाजस्ता फरक क्षमता भएका अधिकांश बालबालिका स्कुल जाने अवसरबाट चुकिरहेकामा उनी चिन्तित छिन्। देशभर उनीहरुलाई मैत्री हुनेगरी स्कुल हुनुपर्ने भनेर आफूहरुले आवाज उठाइरहेको उनी बताउँछिन्।

+++

रिया श्रेष्ठ १६ वर्षकी भइन्। फरक क्षमताकी उनले बोचिया खेल्न थालेको तीन वर्ष भयो। उनको बसाइ थानकोट। सिर्जनशील काम गर्न मन पराउने रियाले पनि विदेश पुगेर मेडल जित्ने रहर सुनाए। प्रस्टसँग बोल्न नसके पनि आफ्ना सपनाका कुरा सुनाउँछिन्। अनि उनकी आमा सुशीला उनको कुरा स्पष्ट पार्छिन्।

रिया ८ कक्षामा पढ्छिन्। पढाइका लागि भन्दा पनि सामाजिक व्यवहारका लागि स्कुल पठाएको उनकी आमा बताउँछिन्।

'खेल्न पाउँदा खुशी लाग्छ,' सुशीलाले सुनाइन्।

त्यसबाहेक पनि शोखहरु छन् उनका। माला बुन्न, खाना बनाउन उनलाई मन पर्छ। आफूलाई म:म:, रोटी, मासु, अचार, चना, चटपटे बनाउन मनपर्ने उनले सुनाइन्।

माला बनाउन उनको ठूलो शोख। सुशीलाले लगाएको माला पनि उनैले उनेको। 'माला बनाएर बिजनेस गर्छु पछि,' रियाले सुनाइन्।

रियालाई नकारात्मक कुराहरु कसैले भर्लाकी भन्ने चिन्ता पनि छ सुशीलालाई।

'केही हुँदा म डिफेन्ड गरिहाल्छु। साथीहरु मिल्छन्। नराम्रो केही गरेका छैनन्,' उनले सुनाइन्।

थानकोटमा किराना पसल छ उनको। छोरीलाई समय दिन कहिलेकही पसल बन्द गर्नुपर्छ। पुरा समय छोरीको ध्यानमै जाने उनी बताउँछिन्।

कुशल कोइरालाको घर पनि रियाको नजिकै छ। उनकी आमा देउमाया पनि छोरालाई धेरै समय दिनुपर्ने बताउँछिन्। राष्ट्रिय खेलकुद परिषद् आइपुगे खेल्न पाउँदा कुशल साह्रै खुशी देखिन्थे। उनको हाँसो थामिइरहेको थिएन। उनी सेल्फी खिच्दै यताउता गरिरहेका थिए।

+++

बोचिया खेल प्राचीन ग्रीस र इजिप्टबाट सुरु भएको मानिन्छ। सुरुमा ढुंगाको प्रयोगबाट खेलिने यो खेललाई हाल पारा खेलका रुपमा विकसित गरिएको छ। पारा ओलम्पिकमा पनि विभिन्न देशका फरक क्षमता भएका खेलाडीले यसमा सहभागिता जनाउँछन्। यस खेलमा सेतो 'ज्याक' बलको सकेसम्म नजिक बल फ्याँक्ने प्रयत्न खेलाडीको रहन्छ।

नेपालमा यो खेलको इतिहास लामो छैन। न त नेपालले कुनै ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा नै सहभागिता जनाउने अवसर पाएको छ।  

नेपाल बोचिया संघकी अध्यक्ष होमादेवी पौडेल २००६ मा जापान जाँदा यो खेलबारे आफूले जानकारी पाएको सुनाउँछिन्। हाल यसमा ७२ देशहरुले सहभागिता जनाउने नेपालले भने आफ्नो उपस्थिति जनाउन सकेको छैन।

टोकियोमा सम्पन्न पाराओलम्पिकमा जापानसँग मैत्रीपूर्ण खेल र ओलम्पिकको अब्जर्बेसनको अवसर मिलेको भए पनि कोभिड संक्रमणका कारण त्यो सम्भव नभएको उनी बताउँछिन्। फरक क्षमताका आधारमा यसभित्र चारवटा वर्गहरु हुने उनले बताइन्।

पारा खेलकुद गराउन त्यति सजिलो भने छैन। यो खेल खेल्ने अधिकांश खेलाडीलाई अभिभावक चाहिन्छ। त्यसमाथि यातायातको पनि उस्तै समस्या। राष्ट्रिय स्तरको प्रतियोगिता गर्दा पनि धेरै खेलाडी चाहेर पनि उपस्थित हुन नसकेको उनले सुनाइन्। त्यसमाथि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गर्न पनि उत्तिकै गाह्रो। ट्रेनिङमा खेलाडीसँगै अभिभावकको पनि समय छुट्याउनु पर्ने हुँदा अन्य खेलकुदजस्तो सहज नभएको उनी बताउँछिन्।

'अन्तर्राष्ट्रिय स्तरमा मेडल ल्याउन सक्ने राम्रो सम्भावना छ। राखेपले पनि यसमा ध्यान दिए। ट्रेनिङ राम्रो भए मेडल नल्याउने भन्ने पनि हुँदैन,' उनले भनिन्। यसमा खुट्टाले मात्रा खेल्ने, टाउकोले खेल्नेलगायत फरक क्षमता अनुसारको वर्गीकरण हुने उनले बताइन्।



ट्रेन्डिङ पोस्ट

Ncell