PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

हेटौंडामा स्थानीय तह सहीद स्मृति गोल्डकप : उद्घाटन खेलमा वाग्मती र सिमरा भिड्दै



पहिलोपोस्ट

हेटौंडामा स्थानीय तह सहीद स्मृति गोल्डकप : उद्घाटन खेलमा वाग्मती र सिमरा भिड्दै

हेटौंडा : वाग्मती प्रदेशको राजधानी हेटौंडा - ५ स्थित पिप्ले रंगशालामा चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तरार्ष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता आजबाट सुरु हुँदै छ।

बिहीवार दिउँसो हुने उद्घाटन खेलमा सर्लाहीको वाग्मती युवा क्लब र सिमराको नव जनजागृति क्लब भिड्ने छन्। ३० गतेसम्म जारी रहने प्रतियोगितामा १२ टिमको सहभागिता रहने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ।

प्रतियोगितामा मनाङ मर्स्याङदी, खुमलटार युवा क्लब, नेपाल पुलिस, वागमती युवा क्लब सर्लाही, नवजन जागृति युवा क्लब सिमरा, विजय युथ क्लब हेटौडा, नेपाल आर्मी, फ्रेण्डस् क्लब, सशस्त्र प्रहरी क्लब, विएफसि चितवन, चर्चव्वाईज क्लब र अन्तर्राष्ट्रिय क्लब एनिनियर एफसी क्यामरुनको सहभागिता रहने आयोजकले जनायो।

प्रतियोगिताको विजेता टोलीले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन्। प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई रोयल इन्फिल्ड बुलेट बाइक प्रदान गरिने छ भने विद्यागत उत्कृष्ट खेलाडीलाई २५ हजार र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा १ करोड १७ लाख ९२ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ। प्रतियोगितालाई मकवानपुरको १० वटै स्थानीय तहले आर्थिक सहयोग गरेको छ। प्रतियोगिताको लागि हेटौंडा उपमहानगरपालिकाले २५ लाख, थाहा नगरपालिकाले १० लाख र अन्य ८ गाउँपालिकाहरुले ५/५ लाख सहयोग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell