PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

छ र आठ कक्षाका विद्यार्थीलाई पुस्तक अभाव



पहिलोपोस्ट

छ र आठ कक्षाका विद्यार्थीलाई पुस्तक अभाव
फाइल फोटो

चितवन: नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता वितिसक्दासमेत यहाँका विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ। सामुदायिक विद्यालय अन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो।

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र कक्षा ८ को नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयको पाठ्यपुस्तक अभाव भएको हो। अन्य पुस्तक धमाधम वितरण भइरहेको उनले जानकारी दिए।

चितवनसहित नवलपुर, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लामा यस केन्द्रबाट पुस्तक वितरण गर्ने गरिएको छ। गत वर्ष यस केन्द्रबाट ४५ लाख सेट पुस्तक वितरण गरिएको थियो। यस शैक्षिक सत्रमा अहिलेसम्म ३० हजार सेट पुस्तक वितरण गरिएको छ।

अझै १५ हजार सेट पुस्तक माग भएको उनले बताए। थप माग भएका पुस्तक केन्द्रीय कार्यालयसँग माग भएको बताउँदै उनले यही महिनाभित्र पुस्तक विद्यार्थीको हातहातमा पुग्ने बताए।

यहाँबाट वितरण हुने जिल्लामा १६५ वटा पुस्तक पसल दर्ता भएर पुस्तक बिक्रीवितरण गर्न लगेका छन्। टाढाबाट आएका व्यवसायीले अहिले दर्ता गर्दै पुस्तक लाने गरेको उनको भनाइ छ। जिल्लामा मात्रै ८९ वटा पुस्तक पसल दर्तामा रहेको छन्। जिल्लामा ३२५ सामुदायिक विद्यालय रहेका छन्।

ती विद्यालयमा ९५ हजार २०४ विद्यार्थी अध्ययनरत रहेका छन्। शिक्षा विकास तथा समन्वय इकाई चितवनका प्रमुख भूमिलाल सुवेदीले पुस्तकको अभाव हुन नदिन जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई अनुरोध गरिएको बताए। यस जिल्लालाई उच्च प्रथामिकतामा राखेर थप पुस्तक पठाउन लिखितरुपमै अनुरोध गरिएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell