‘जोनी डेप-एम्बर हर्ड मानहानि मुद्दा’मा ‘जूरी’ले जोनी डेपको पक्षमा फैसला गरेको छ। जूरीले सन् २०१८ मा वासिङ्गटन पोस्टमा प्रकाशित हर्डको ओप-एडले उनका पूर्व पति समेत रहेका डेपलाई बदनाम गरेको ठहर गरेको हो। यही मुद्दाको विषय अहिले विश्वभर चर्चामा छ।
२०१८ मा वासिङ्गटन पोस्टमा प्रकाशित ओप-एडको लागि भएको मानहानिको लागि डेपले आफ्नी पूर्व पत्नी हर्डमाथि मुद्दा दायर गरेका थिए। सो ओप-एडमा हर्डले आफूलाई ‘घरेलु दुर्व्यवहारको प्रतिनिधित्व गर्ने सार्वजनिक व्यक्तित्व’ भनेर वर्णन गरेकी थिइन्। ओप-एडमा डेपको नाम उल्लेख गरिएको थिएन तर त्यसको कारण आफूले चलचित्रमा आकर्षक भूमिकाहरू गुमाएको डेपको आरोप छ। हर्डले डेपका वकिलले उनको दुर्व्यवहारको दावीको बारेमा दिएको बयानमा मानहानिको लागि आफ्नो पूर्व पतिको काउन्टरमा मुद्दा दिएकी थिइन्।
जूरीले वासिङ्गटन पोस्टको ओप-एडमा प्रकाशित तीन अलग-अलग भनाइहरूबाट हर्डले डेपको बदनाम गरेको फेला पारेको छ भने डेपले आफ्नो वकिलमार्फत दिएको एउटा बयानले हर्डलाई बदनाम गरेको पाएको छ। यो फैसला डेपको लागि ‘अथाह’ कानुनी जित हो।
बुधवार जूरीको सर्वसम्मत निर्णयले भर्जिनियाको अदालतमा सात हप्ता लामो सुनुवाइलाई टुंग्याएको छ। सो सुनुवाइमा दर्जनौँ साक्षीहरू र विज्ञहरूले डेप वा हर्डले उनीहरूको १५ महिना लामो वैवाहिक सम्बन्धको क्रममा एक अर्कालाई दुर्व्यवहार गरेको हो या होइन भन्ने सन्दर्भमा बयान दिएका थिए।
जूरीले डेपको मानहानी भएको दावीको पक्षमा तीन काउन्टमा फैसला गर्दै अभिनेता डेपलाई १५ मिलियन डलर (१ करोड ५० लाख) क्षतिपूर्ति तोकिदिएका थिए। तर पछि राज्यको कानुन अन्तर्गत दण्डात्मक क्षतिको सीमालाई उदृत गर्दै सो रकमलाई १०.३५ (१ करोड ३ लाख ५० हजार)* मिलियन डलरमा घटाएका छन्।
फैसलापछि एक विज्ञप्तिमा डेपले भने, ‘हर्डले घरेलु हिंसाको आरोप लगाएको ६ वर्षपछि, जूरीले मलाई मेरो जीवन फिर्ता दिनुभयो। म साँच्चै नतमस्तक छु।’
त्यस्तै, हर्डले उनको काउन्टरसुटको एक काउन्टमा जितेकी छिन्, जसमा उनले डेपका प्रेस एजेन्टद्वारा आफू बदनाम भएको भन्दै १०० मिलियन डलरको क्षतिपूर्ति माग गरेकी थिइन्। हर्डले ‘मिटू’ आन्दोलनको फाइदा उठाउँदै डेपविरुद्ध आरोप लगाएको र ‘दुर्व्यवहारको हल्ला’ फैलाएको भन्दै डेपका प्रेस एजेन्टले आरोप लगाएका थिए। सो काउन्टमा हर्डलाई २ मिलियन (२० लाख) डलर क्षतिपूर्ति दिने फैसला गरिएको छ।
जूरीले फैसला सुनाउँदा डेप अदालतमा उपस्थित थिएनन्। उनले बेलायतबाट फैसलाको प्रत्यक्ष प्रसारण हेरेका थिए। फैसला सुनाइँदै गर्दा हर्ड भने ‘कोर्टरुम’मै उपस्थित थिइन्।
प्रवक्तामार्फत जारी गरिएको आफ्नो विज्ञप्तिमा डेपले भनेका छन्, ‘मैले भोग्नु पर्ने कानुनी जटिलताको उचाइ र विश्वव्यापी रुपमै मेरो जीवनको तमाशा हुन्छ भन्ने थाहा पाउँदा पाउँदै पनि धेरै सोचविचार गरेर मात्र यस मुद्दालाई अगाडि बढाउने निर्णय गरेको हुँ।’
‘सुरुदेखि नै यो मुद्दा अघि बढाउनुको लक्ष्य भनेको फैसलाको पर्वाह नगरी सत्यलाई सबैमाझ प्रकट गर्नु थियो। मैले साँचो बोल्नु मेरा सन्तान र मेरो समर्थनमा अडिग रहेका सबैको लागि मेरो कर्तव्य थियो। अन्ततः त्यो पूरा गर्न सकेको थाहा पाउँदा मैले शान्ति महसुस गरेको छु,’ विज्ञप्तिमा उल्लेख छ।
डेपले अगाडि भनेका छन्, ‘मलाई आशा छ कि सत्य बोल्ने मेरो अठोटले अरूलाई पनि मद्दत गरेको छ। हरेक पुरुष या महिला जसले आफूलाई मेरै परिस्थितिमा भेट्टाएका छन्। उनीहरूलाई समर्थन गर्नेहरूले पनि कहिल्यै हार मान्ने छैनन् भन्ने मेरो विश्वास छ। म यो पनि आशा गर्दछु कि अदालत र मिडिया दुवैमा ‘प्रमाणित नभएसम्म दोषी नहुने’ अवस्था फर्किएको छ।’
फैसलापछि हर्ड कुनै प्रतिकृयाबिना नै अदालतबाट बाहिरिएकी थिइन्। तर, ३६ वर्षीया अभिनेत्रीले पछि ट्विटरमा उनी अदालतको फैसलाबाट दुखी भएको बताएकी थिइन्।
‘आज मैले महसुस गरिरहेको निराशा शब्दमा बयान गर्न सकिँदैन। मेरो भूतपूर्व पतिको असमान शक्ति र प्रभावको सामना गर्न प्रमाणहरुको पहाड अझै पनि पर्याप्त भएन,’ हर्डले भनेकी छिन्, ‘यो फैसलाले अन्य महिलाहरूको लागि के अर्थ राख्छ भनेर सम्झँदा म अझ निराश छु। यो एक सेटब्याक हो। यसले बोल्ने र प्रतिवाद गर्ने महिलालाई सार्वजनिक रूपमा अपमानित गर्ने त्यो समयमा फर्काइदिएको छ। यसले महिलामाथि हुने हिंसालाई गम्भीरताका साथ लिनुपर्छ भन्ने धारणालाई पछाडि धकेलिदिएको छ।’
अदालत बाहिर डेपका वकिलहरू बेन्जामिन च्यू र कमिल भास्क्वेजले डेपका प्रशंसकहरूको हर्षोल्लासपूर्ण भीडको अगाडि फैसलाबारे टिप्पणी गरेका थिए। भास्क्वेजले भनिन्, ‘फैसलाले हामीले सुरुदेखि नै भनेको कुरालाई पुष्टि गर्यो - जोनी डेपविरुद्धको दावीहरू मानहानिपूर्ण थिए र कुनै प्रमाणले यसको समर्थन गरेको थिएन।’
त्यस्तै, अधिवक्ता च्यूले डेपको कानुनी टोली ‘सत्य र न्यायको कदर गर्ने धेरै मानिसहरूको पक्षमा फैसला भएकोमा’ धेरै खुशी छ। वकिलहरूले पत्रकारका अन्य प्रश्नको जवाफ भने दिएनन्।
यो फैसला लन्डन मानहानी अदालतको फैसलाको ठीक विपरित छ। सो अदालतमा डेपले सन पत्रिका र त्यसका सम्पादक ड्यान वूटनकोविरूद्ध मुद्दा दिएका थिए। तर, डेपलाई ‘पत्नी हिंसक’ भनेर सन पत्रिकाले लगाएको आरोप सो अदालतले ‘पर्याप्त रूपमा सत्य’ भएको फैसला गरेको थियो।
मानहानि भएको प्रमाणित गर्न अमेरिकी कानुनीको मापदण्ड बेलायतको तुलनामा धेरै उच्च छ। यस कारण पनि फेयरफ्याक्स, भर्जिनियामा बुधवार भएको फैसला डेपको लागि बेलायतमा उनीविरूद्धको फैसलाभन्दा सम्भावित रूपमा धेरै महत्त्वपूर्ण प्रमाण हुन सक्ने बताइएको छ।
भर्जिनियाको मुद्दामा डेपले हर्डलाई कहिल्यै आक्रमण नगरेको भनेर प्रमाणित गर्ने मात्रै होइन हर्डको आर्टिकलले उनलाई बदनाम गरेको र हर्डले ‘दुर्भावका साथ’ वा गलत भनेर जान्दा जान्दै पनि त्यसो गरेको भनेर स्थापित पनि गर्नुपर्ने थियो।
* १ करोड हुनुपर्नेमा सच्चाइएको।