
काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले बाढी पहिरोबाट हुने क्षति देखि मंकिपक्स भाइरस न्यूनीकरणका लागि अहिले नै पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको शून्य समयमा नेकपा एकीकृत समाजवादीका सांसद नन्दा चपाईंले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न अव्यवस्थितरूपमा बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। सम्भावित जोखिमको आंकलन गर्दै जोखिमयुक्त स्थानमा बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा सार्न सके मानवीय क्षति हुनबाट रोक्न सकिने उनको भनाइ थियो।
गत वर्ष मनाङ, सिन्धुपाल्चोकलगायत जिल्लामा गएको पहिराका कारण मानवीय र अर्बाौंको भौतिक क्षति भएको थियो।
बैठकमा नेकपा एमालेका सांसद दीपा गुरुङले सडकसँग जोडिएका विद्युतका तार हटाउन माग गरेकी थिइन् भने एमालेकै सांसद दीलकुमारी रावल थापा (पार्वती)ले महिला हिंसाका घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेकी थिइन्।
नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले भने विश्वव्यापी फैलिएको मङ्कीपक्स रोग फैलन नदिन आवश्यक सतर्कता अपनाउन सरकारसँग माग गरेका थिए। नेकपा (माओवादी केन्द्र)का सांसद महेशकुमार महराले नेपालगञ्जमा जनआन्दोलनका सहिदको शालिक भत्काउने कार्यमा संलग्नलाई कारबाही गर्न माग गरे। माओवादीकै सांसद हरिराम चौधरीले सातै प्रदेशबाट सवारी चालक अनुमतिपत्र दिने व्यवस्था मिलाउन माग गरेका थिए।