PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

वीरेन्द्रको सालिक राख्न नदिँदा शहीद सेतुको सालिक तोडफोड, सामाजिक सद्भभाव कायम राख्न उपमहानगर प्रमुखको आग्रह



पहिलोपोस्ट

वीरेन्द्रको सालिक राख्न नदिँदा शहीद सेतुको सालिक तोडफोड, सामाजिक सद्भभाव कायम राख्न उपमहानगर प्रमुखको आग्रह

काठमाडौं : नेपालगञ्जको धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा प्रहरी र राष्ट्रवादी युवा समूहका सदस्यबिच झडप हुँदा केही व्यक्ति घाइते भएका छन्। सो समूहका सदस्य र केही सर्वसाधारण घाइते भएका हुन्। यस्तै, सो झडपमा परेर ९ जना प्रहरी पनि घाइते भएका छन्।

झडपपछि केहीबेर बजारमा तनाव हुँदा प्रहरीले कयौँ राउण्ड हवाई फायर गरेको थियो। दरबार हत्याकाण्डको २१ औं वर्ष पुगेको दिन आज राष्ट्रवादी युवा समूहले चोकमा स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक राखेका थिए। राखेको सालिक प्रहरीले हटाएपछि उक्त समूहले न्यूरोडमा रहेको शहीद सेतु विकको सालिकसमेत तोडफोड गरेको छ। धम्बोझीचोकमा राखिएको पूर्वराजा वीरेन्द्रको अर्धकदको सालिक प्रहरीले हटाउँदा स्थिति नियन्त्रण भन्दा बाहिर जाने देखिएपछि प्रहरीले फायर खोलेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए। 

प्रहरीले घटनास्थलबाट चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ। आक्रोशित राष्ट्रवादी युवा समूहले सेतुविक चोकमा रहेको शहीद सेतुको सालिकसमेत तोडफोड गरेपछि प्रहरीले धम्बोझी चोक र सेतु विक चोकलाई घेरा हाल्नुको साथै बिपीचोक, पुष्पलाल चोकमा पनि सुरक्षा सर्तकता बढाएको छ। 

२०६२-६३ को जनआन्दोलनमा वीरेन्द्र चोकमा रहेको स्व राजा वीरेन्द्रको सालिक भत्काइएको थियो। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले घटनास्थलमा पुगेर नेपालगञ्जमा कायम रहेको सामाजिक सद्भावमा खलल नपुर्‍याउन आग्रह गरेका छन्। उनीहरुले सर्वपक्षीय सर्वदलीय छलफलबाट आपसी सहमतिमा समाधान खोज्न सकिने भएकाले सार्वजनिक सम्पत्ति तोडफोड गर्ने कार्य नगर्न आग्रह गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell