PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

२१ वर्षअघिको अकल्पनीय हत्याकाण्डको त्यो 'स्थल'मा आजकै दिन पुग्दा …



सविन ढकाल

२१ वर्षअघिको अकल्पनीय हत्याकाण्डको त्यो 'स्थल'मा आजकै दिन पुग्दा …

काठमाडौं : मंगलबार मीनबहादुर तामाङ दक्षिण कोरियाबाट काठमाडौं ओर्लिए। घरपरिवारको मायाले उनलाई सुनसरीको इटहरी पुग्ने व्यग्रता थियो नै। तर, उनी एकाएक नारायणहिटी दरवार संग्राहलय पुगे। साताका मंगलबार र बुधबार संग्रहालय बन्द हुने उनलाई थाहा थिएन। त्यस दिन भित्र छिर्न नै पाएनन्।

बिहीबार भने उनलाई फेरि नारायणहिटी पुग्ने हुटहुटीले तान्यो। केही आफन्तसहित उनी ११ बज्दा दरबारमार्ग पार गरेर नारायणहिटी संग्रहालय पुगे। संयोग नै हो, २१ वर्षअघि जुन दिन नारायणहिटीमा राजपरिवारका सदस्यसहित १० जनाको हत्या भएको थियो त्यसै दिन उनी त्यहाँ भित्र छिर्न पाए। आज अर्थात्'दरबार हत्या काण्ड'ले संसारलाई नै तरङ्गित गरेको दिन जुन इतिहासका पान्ना र कथाहरुमा मात्र सीमित थिए।

बिहीबार त्रिभुवन सदन कक्षभत्रि छिरेर पूर्वयुवराज दीपेन्द्रलाई गोली लागेको ठाउँलाई नियालिरहेका भेटिए उनी। उनको अनुहारमा उदासिनता पढ्न सकिन्थ्यो। राजारानीको हत्या भएको घटनाबारे सेतो पर्दामा हेरेका मीनबहादुर आज 'घटनास्थल' पुग्दा भावुक भएका थिए।

'आज यस्तो संयोगमा हेर्न जुरेको रहेछ। त्यसैले होला हिजोअस्ति हेर्न मिलेन,' मीनबहादुरले भने।

त्यसो त विदेश जानु अघि नै उनलाई एकपटक यो ठाउँमा आउन मन थियो। त्यो इच्छा पूरा गर्न उनले वर्षौं कुर्नुपर्‍यो। तर,त्यस दिनमात्र उनी इच्छा पूरा गर्न पुगे जुनदिनलाई नेपालको राजनीतिक इतिहासको पानामा 'क्रुर' दिनका रुपमा चित्रित गरिएको छ।

२०५८ जेठ १९ गते राति दरबारमा गोली चल्दा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित एकै खलकका १० जनाको मृत्यु भयो। त्यही ठाउँलाई आज २१ वर्षपछि मीनबहादुले नियालिरहेका थिए।

+++

नारायणहिटी दरबार गेटबाट नै देखिन्छ ठूलो भवन अर्थात् मुख्य राजदरबार। करिब ७ सय ५४ रोपनीमा नारायणहिटी फैलिएको छ। दरबार हत्याकाण्डसँगै सुरु भएको राजतन्त्रको पतनले मुलुकलाई गणतान्त्रिक बनाउन योगदान दियो। 'विष्णुका अवतार'को गोली लागेर मृत्यु हुनुले दरबारप्रति आशक्त हुनेहरु हच्किए। वीरेन्द्रका भाइ ज्ञानेन्द्र शाह राजा त भए तर राजतन्त्रलाई उनले जोगाउन सकेनन्। उनी गद्दीच्यूत भए,मुलुकमा गणतन्त्रले स्तम्भ गाड्यो। मुलुकको सबैभन्दा ठूलो शक्तिकेन्द्र संग्राहलयमा रुपान्तरित भयो। र, सर्वसाधारणले नजिकबाट हेर्न पाउन थाले दरबार।

मुख्य दरबारको बायाँतर्फबाट च्यापिएर जाँदा त्रिभुवन सदनमा पुगिन्छ। करिब १८ रोपनीमा छ त्रिभुवन सदन।राजतन्त्र नै सकिएपछि राजदरबार पहिलेजस्तो होवस् कसरी? त्रिभुवन सदनलाई सुरक्षित गर्ने पर्खालका भित्ताहरू लेग्रिएका छन्। कतै लेउ लागेको छ त कतै खुइलिएका रङ्गहरू। संग्रालयका कर्मचारीले सरसफाइ गरे पनि आकर्षण छैन। छेउछाउमा झारहरू उत्तिकै उम्रिएका। अव्यवस्थित पानीका पाइपले पनि कुरूप बनाएको छ त्रिभुवन सदनलाई। त्यही त्रिभुवन सदनभित्र छिर्ने बित्तिकै गेटमा रातो अक्षर लेखिएको छ' घटना स्थल'।

गेटमा रातो अक्षरले लेखिएको कुराले यहाँ पुग्ने जो कसैलाई पनि झसङ्ग बनाउँदै स्मृतिमा ल्याइदिन्छ२१ वर्ष अगाडिको कहालीलाग्दो घटना। त्यो घटना जसको अनुसन्धान गरेर लेखिएको प्रतिवेदनभन्दा कथिएका कथाहरुबाट मानिस प्रभावित छन्। 'कन्सपिरेसी'का कथाहरु कुनै समय बजारमा यति तात्तातै बिक्थे कि मानिसहरु राजाहरुका तिलस्मी कथा भुल्न बाध्य हुन्थे।

'घटना स्थल' हेर्नपुग्ने जो कसैले पनि तिनै 'कन्सपिरेसी'लाई सम्झनु अनौठो पनि होइन।गेटबाट छिरेर थोरै दायाँतिर लागेपछिपुगिन्छ बिलियार्ड हल। जसलाई घटनास्थलको १ नम्बर भनिन्छ।

यहाँ सिसाबाट भित्र हेर्दा देख्न सकिन्छ- केही सोफाहरु।स्नुकरका लडिरहेका गोटीहरु। बिलियार्ड हल राजपरिवारको पार्टी गर्ने ठाउँ। जहाँ सम्भव भए अनुसार महिनाको पहिलो वा अन्तिम साता भव्य पार्टी हुने गरेको दरबारमा २०४४ सालदेखि काम गर्दै आएका बुद्धि बहादुर गुरुङ बताउँछन्।

२१ वर्ष अघि राजा विरेन्द्रसहित सातजनामाथि गोली प्रहार भएको बिलियार्ड हल


'महिनामा दुई पटक राजपरिवारको दुई पटक पार्टी हुन्थ्यो। अन्तिम र सुरुको साता नभए बिचको समयमा पनि हुने गरेको थियो,' गुरुङले सुनाए। दरबार अहिले संग्रालयमा रुपान्तरित भएपछि सूचना अधिकारी भएर काम गर्दै आएका छन् उनी।

बिलियार्ड हलमा राजपरिवारका सात जनालाई गोली लागेको थियो- राजा वीरेन्द्र, अधिराजकुमारी श्रुती, धीरेन्द्र लगायतलाई। नारायणहिटी राजदरबारमा हरेक महिनाको तेस्रो शुक्रवार राति नियमित रूपमा पारिवारिक जमघटको आयोजना गर्ने परम्परा अनुसार २०५८ जेठ १९ गते शुक्रवार त्रिभुवन सदनमा सबैलाई डाकिएको थियो। राति ८ बजे युवराज दीपेन्द्रले मुमा बडामहारानी रत्नलाई महेन्द्र–मञ्जिल पुगेर गाडीमा आफैँले हाँकेर त्रिभुवन सदनमा ल्याएका थिए।

दरबार हत्याकाण्डको प्रतिवेदन अनुसार सैनिक कम्व्याटमाबिलियार्ड कोठामा प्रवेश गरेका थिए युवराज। भित्र पसेलगत्तै कालो रङ्गको बन्दुकले कोठाको सिलिङ र पश्चिम भित्तातर्फ फायरिङ गरे। त्यसपछि तत्काल बिलियार्ड टेबुलको पूर्व छेउमा उभिएर अरुहरूसँग कुरा गरिरहेका राजा वीरेन्द्रमाथि गोली चलाए।

अहिलेको बिलियार्ड हल चाहिँ २०६२ सालमा पूर्व राजा ज्ञानेन्द्र शाहले भत्काएका हुन्। राजपरिवारका सदस्यहरूलाई उक्त घटना याद आइरहने भएपछि भत्काइएको दरबारको तर्क थियो। तर पछि फेरि उस्तै शैलीमा भवन बनाइएको गुरुङले सुनाए।

बिलियार्ड हलको अगाडि पट्टि बगैँचा छ। केही फूलका बिरुवा पनि छन्। तर, फूल खासै फुलेको छैन। घारीजस्तै लाग्छ बगैचा। बिलियार्ड हलबाट निस्किएपछि निराजनमाथि गोली प्रहार भएको ठाउँमा पुगिन्छ जसलाई'घटनास्थल चार' भनेर नामाकरण गरिएको छ।यहाँ गोलीको छिद्रा देखिन्छ। रगतका दागहरू भएको भन्दै नोटिस त गरिएको छ तर भवनको खुइलिएको रङ्ग र लागेका लेउले सहजै रगतको धब्बा छुट्याउन सकिँदैन। नजिकै तत्कालीन राजा त्रिभुवनको  सैलुन रहेको छ। त्यस भागमा दुई वटा कुर्सीहरू राखिएका छन्। त्यहाँ पुग्ने जो कोहीले प्रश्न गर्छन्- राजा त्रिभुवनको कपाल काट्ने ठाउँ पनि यति सिम्पल?

राजा त्रिभुवनको सैलुन


निराजनलाई गोली लागेको विपरीत दिशाको करिब १० मिटरको दुरीमा युवराज दीपेन्द्रलाई गोली लागेर घाइते भएको ठाउँ छ। यो 'घटनास्थल तीन' हो। त्यहाँ नजिकै पानीको सानो पोखरी देखिन्छ। सरसफाइ कम भएर त्यसमा पनि लेउ देखिन्छ। बिलियार्ड हलबाट सात जनालाई गोली प्रहार गरेपछि कोठाको पूर्वतर्फ भित्री बगैँचाको छेउकै उत्तर तर्फ झ्याङ थियो। दीपेन्द्रको मृत्यु भने ढिलोगरी घोषणा गरिएको थियो।उपचारका क्रममा उनको मृत्यु भएको हो। गोली लागेर बेहोस अवस्थामा नै उनी राजा घोषित भएका थिए।

दीपेन्द्र घाइते भएको केही मिटर नजिक एउटा भवन निर्माणाधीन अवस्थामाछ। त्यो भवन दीपेन्द्रले प्रयोग गर्दै आएका थिए। तर बलियार्ड हल भत्काउँदा त्यो पनि भत्काइएको थियो। अहिले फेरि त्यो हल बनाइँदैछ। त्यही भवनको भर्‍याङ रहेको स्थानमा पूर्व रानी ऐश्वर्यालाई गोली लागेको अवस्थामा भेटिएको थियो। यो 'घटनास्थल २' हो। यतिखेर निर्माणाधीन भवनभित्र उन्यू घारी देखिन्छ –बेरुप हालतमा।

रानी एश्वर्या गोली लागेको अवस्थामा भेटिएको स्थान


राजदरबारहत्या काण्डका चार घटनास्थल हेरिसकेपछि संग्रालय घुम्न आएका गुल्मीका रामप्रसाद पन्थीलेआश्चर्यमा परेको सुनाए। उनको जिज्ञासा थियो - यतिका सुरक्षाले घेरिएको र बन्दोबस्ती भएको ठाउँमा कसरी घटना भयो होला? अनि आम सर्वसाधारणले पत्याउने हत्यारा को होलान्?

रामप्रसाद पनि आजै दरबार हेर्न पुगेका थिए। तर,उनलाई आजै त्यो कालो दिन थियो भन्ने याद रहेनछ। हामीले त्यो दिन आज हो भन्दा उनी केही झस्किए पनि।

'हो त आज जेठ १९ गते! कस्तो बिर्सिएको?,'अचम्मितसँगै ठट्यौली पारामा उनले भने,'श्राद्धा गर्ने दिनमा नै पो यो ठाउँ घुम्न आइएछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell