PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित



पहिलोपोस्ट

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

हेटौँडा : वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले जेठ १६ गते प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम बुधवार बहुमतले पारित भएको हो।

नीति तथा कार्यक्रमको पक्षमा गठबन्धन दलका  सांसद्हरु रहँदा विपक्षमा सदनमा प्रतिनिधित्व गर्ने नेकपा (एमाले) र अन्य दलहरु रहेका थिए।

नीति तथा कार्यक्रममा एमालेका सांसदहरु  केशव प्रसाद पोखरेल, शान्ति पौडेल, सिता लामा, नारायण बहादुर शिंह, अरुण नेपाल, योगेन्द्र संग्रौला, रामकुमार अधिकारी,  विवेशिल साझा पार्टीका रमेश पौड्याल, नेमकीपाका सुरेन्द्रराज गोसाईले दर्ता गराएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।

नीति तथा कार्यक्रममा विभिन्न दलका सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिएका थिए। उनले प्रदेश सरकारले ल्याएको समाजवादी कार्यक्रमबाट नतर्सिन समेत सुझाव दिएका छन्। मुख्यमन्त्री पाण्डेले कर्मचारी अभावका कारण काम अघि बढाउन समस्या भएकाले बजेट खर्च गर्न नसकेको बताए। उनले डीपीआर नभएका योजनामा बजेट विनियोजन गर्ने प्रवृत्तिका कारण पनि बजेट खर्च हुन नसकेको बताए।

उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमाथि अख्तियारमा उजुरीका चाङ रहेको बताउँदै पूरा समय काम गर्न नसक्ने भए बिदा लिन पनि सुझाव दिएको जानकारी दिए। उनले उपकुलपतिबिना जानकारी २ महिना सम्पर्कविहीन भएको समेत बताए। कागजमा ३ सय बेडको लेखेपनि हेटौँडा अस्पतालको काम नबढेको भन्दै पूर्व मूख्यमन्त्री डोरमणि पौडेललाई पाण्डेले कटाक्ष गरे।

प्रतिष्ठानमा ५० लाख रुपैयाँभन्दा बढीको बेरुजु रहेको र ५५ वटा योजना ५/५ लाख रुपैयाँको बनाएर गैरकानुनी काम गरेको उनको आरोप थियो। प्रतिष्ठानका नेतृत्वबाट आफ्ना श्रीमती र नातेदारलाई जागिर लगाएको बताउँदै मूख्यमन्त्री पाण्डेले अघिल्लो सरकारकै पालामा यस्ता गतिविधि भएको उनको भनाइ थियो।

समाजवादी कार्यक्रम वडा तहबाटै सुरु गर्ने पुनः दोहोर्‍याउँदै उनले यो कार्यक्रम आगामी दिनमा सबैले सम्झन लायक कार्यक्रम हुने बताए। यो कार्यक्रमको विरोध भन्दा सुझाव दिन उनको आग्रह थियो।

उनले विगतमा सिमान्तकृत समुदायको पक्षमा नीति तथा कार्यक्रम ल्याउन तत्कालिन सरकारले नसकेको भन्दै अहिलेको सरकारले सिमान्तकृत वर्गलाई लक्षित गरी नीति तथा कार्यक्रम ल्याएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell