PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश, जिल्लाको थुनछेक आदेश सदर



सविन ढकाल

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश, जिल्लाको थुनछेक आदेश सदर

काठमाडौं: उच्च अदालत कास्कीले अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्ने आदेश सुनाएको छ। धरौटी वा तारेखमा रिहाइको माग गर्दै शाहले उच्च अदालत कास्कीमा निवेदन दिएका थिए। जिल्ला अदालत तनहुँको थुनछेक आदेशउपर शाहले निवेदन दिएका थिए। थुनछेक आदेश रितपूर्वक नभएको भन्दै शाह उच्चमा पुगेका थिए। 

तर बिहीबार न्यायाधीश उज्जवल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाकै आदेश सदर गरेको हो। आदेश सदरसँगै शाहले थुनामै रहेर मुद्दाको प्रक्रियामा सहभागी हुनुपर्ने छ। शाहले अझै एक तह माथिल्लो अदालतमा निवेदन भने दिन सक्नेछन्। 

जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध शाहले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम उनी अदालत कास्की पुगेर निवेदन दिएका थिए।

चैत १० गते न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले थुनछेक बहसपछि शाहलाई थुनामा पठाउन आदेश गरेको थियो। यस्तै, शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई एक लाख रुपैयाँ धरौटीमा रिहाको आदेश दिएको थियो।

२०७८ वैशाख १४ गते तनहुँको दुलेगौंडास्थित एक घरमा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रेम जालमा पारेर करणी गरेको आरोप लागेको छ। शाहले १५ वर्ष ९ महिना ११ दिनकी किशोरीलाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ। उता जिल्ला अदालतमा भएको बयानमा पिडित किशोरी र उनका बाबुले भने फरक बयान दिएका छन्। मुद्दा जिल्ला अदालतमै विचाराधीन छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell