PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

जयनगर-जनकपुरधाम रेलको एक बोगीमा केमिकल पोखिएर आगलागी, प्रतिबन्धित केमिकल बोक्ने दुई महिला पक्राउ



पहिलोपोस्ट

जयनगर-जनकपुरधाम रेलको एक बोगीमा केमिकल पोखिएर आगलागी, प्रतिबन्धित केमिकल बोक्ने दुई महिला पक्राउ

जनकपुरधाम : नेपालको एकमात्र जयनगर-जनकपुरधाम रेलको एउटा बोगी (डब्बा)मा केमिकल पोखिएर आगलागी भएको छ। जयनगर स्टेशनबाट कुर्था आउने क्रममा १९०१ नम्बर रेलको एउटा बोगीमा बिहीवार दिउँसो आगलागी भएको नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।

बोगीमा लागेको आगो तत्कालै नियन्त्रणमा लिइएको महाप्रवन्धक झाले बताए। प्रतिबन्धित केमिकल बोकेर जयनगरस्थित १ नम्बर गेटबाट रेलमा प्रवेश गरेकी दुई महिलालाई भारतीय प्रहरीले जयनगरमै पक्राउ गरेर नेपाल प्रहरीको जिम्मा लगाएको उनले जानकारी दिए।

उनले भने, ‘केमिकल बोकेर रेलमा प्रवेश गरेका महिलाहरुले यात्रु बस्ने बोगीमा केमिकल राख्दा त्यही बोगीमा यात्रा गरेरहेकी अर्की एक महिलाको शरीरमा पोखिँदा उनलाई आगोको जलन जस्तो महसुस भएपछि बोगीभित्र हल्ला मच्चिएको थियो। केमिकलकै छेउमा एउटा सानो ग्यास सिलिण्डर पनि रहेकोले केमिकल पोखिदा आगोको मुस्लो जस्तै निस्केपछि सबै डराएका थिए।’

महाप्रबन्धक झाले पक्राउ परेका महिलाहरुमाथि अनुसन्धान अघि बढाइने बताए। उनले अहिले रेल जनकपुरधाम आइसकेको समेत जानकारी दिए।

रेलमा भएको आगलागीबाट सामान्य क्षति भएको महाप्रबन्धक झाले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell