
हेटौंडाः वाग्मती युवा क्लब सर्लाही चोथौ संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ ।
हेटौंडा ५ स्थित क्याम्पा रंगशालामा भएको खेलमा नव जनजागृति युवा क्लब, सिमरासँग २-० गोलले पराजित हुँदै वाग्मती प्रतियोगिताबाट बाहिरिएको हो ।
नव जनजागृतिको जितमा विवेक चौधरी र क्रिपाकान्त चौधरीले गोल गरे।
खेलको ८औं मिनेटमा विवेक चौधरीको गोल गर्दै सिमरालाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा सिमराका क्रिपाकान्तले गोल थपे।
प्रतियोगिता अन्तर्गत शुक्रबार चितवनको बिएफसी क्लब र काठमाडौँको चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ।
१२ टिम सहभागी प्रतियोगिता ३० गतेसम्म जारी रहने छ।
प्रतियोगिताको विजेता टोलीले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन्। प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई रोयल इन्फिल्ड बुलेट बाइक प्रदान गरिने छ भने विद्यागत उत्कृष्ट खेलाडीलाई २५ हजार र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।