
काठमाडौं : स्थानीय तह निर्वाचन हुनु भन्दा अघि नै काठमाडौंको फोहोर उठ्न छाडेको थियो। महानगरको अन्तिम परिणाम आउनुभन्दा केही दिन अघि काठमाडौं उपत्यकाका फोहोर बोकेका ट्रकले बञ्चरेडाँडामा फोहोर खसायो। स्थानीयको अवरोधबिच नै फोहोर खसाइएको थियो। तर, त्यसयता फेरि काठमाडौंको फोहोर उठ्न सकेको छैन।
काठमाडौं महानगरपालिका प्रमुखमा विजयी भएपछि स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले महानगरको फोहोर व्यवस्थापन नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका थिए। उनले त्यही अुनुसार नगर कार्यपालिका बैठकमा एजेन्डा पेश गरेका थिए।
आज भने प्रमुख साहसँगै उपप्रमुख सुनिता डंगोल सिसडोल पुगेका थिए। बञ्चरेडाँडा अघि काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा बिसर्जन हुँदै आएको थियो। त्यहाँका स्थानीयले वैज्ञानिक तरिकाले फोहोरको व्यवस्थापन हुनुपर्ने माग गरिरहेका छन्। आज सिसडोल पुगेर साह र डंगोलले त्यहाँको अवस्थाबारे ब्रिफिङ लिएका थिए।
त्यसक्रममा प्रमख साहले नयाँ निर्वाचित भएर आएका जनप्रतिनिहरु सबै मिलेर फोहोर व्यवस्थापन गर्ने बताएका थिए। साहले फोहोर व्यवस्थापन बारे शहरी विकास मन्त्रालयसँग कुरा भइरहेको भन्दै काठमाडौंको फोहोर व्यवस्थापनका लागि सरकारले गरेको प्रतिवद्धता समयमै पूरा गर्न आग्रह गरेको जानकारी दिए। केही दिन अघि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर साहले फोहोर व्यवस्थापाको बारेमा कुरा राखेका थिए।
स्थानीयले भने फोहोर व्यवस्थापनसँगै त्यहाँ हालसम्म भएका सहमति कार्यान्वयनमा जोड दिएका थिए। स्थानीयसँगको छलफलका क्रममा साहले एक हप्ता भित्र हुन सक्ने काम गर्न तयारी भइसकेको बताए। सुरुवातमा फोहोरको दुर्गन्ध हटाएर सिसडोलमा बस्ने वातावरण बनाउने उनले बताएका छन्।
सिसडोल जानु अघि बिहीवार साह र डंगोलले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग काठमाडौंको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने बारेमा छलफल गरेका थिए।
त्यसक्रममा झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापन अहिलेको ठूलो चुनौति रहेको भन्दै फोहोर व्यवस्थापनको लागि नयाँ प्रविधिको निर्माण गरेर अघि बढ्न आवश्यक रहेको बताएकी थिइन्। झाँक्रीले बञ्चरेडाँडामा व्यवस्थित तरिकाबाट फोहोर व्यवस्थापन गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन्।
सरकारले स्थानीयका माग पूरा नगरेको र उचित तरिकाले व्यवस्थापन नगरेको भन्दै बञ्चरेडाँडावासीले फोहोर फाल्न दिएका छैनन्।