PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

एमालेको माग : पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँमात्रै घटाएर पुग्दैन, मूल्यवृद्धिबारे छानबिन गर्न संसदीय समिति बनाऔं



पहिलोपोस्ट

एमालेको माग : पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँमात्रै घटाएर पुग्दैन, मूल्यवृद्धिबारे छानबिन गर्न संसदीय समिति बनाऔं

काठमाडौं : नेकपा एमालेका सांसदहरुले सरकारले मूल्यवृद्धि नियन्त्रणमा चासो नदिएको आरोप लगाएका छन्। 

मूल्यवृद्धि नियन्त्रणको माग गर्दै एमालेले प्रतिनिधि सभामा पेश गरेको सार्वजनिक महत्व माथिको प्रस्तावमा छलफलका क्रममा सांसद यज्ञराज सुनुवारले सरकारले गरेको मुल्यवृद्धि अनैतिक र अचकाली भएको बताएका हुन्।

प्रस्तावलाई समर्थन गर्दै सुनुवारले मूल्यवृद्धि अपत्यारिलो भएको बताएका हुन्। उनले अहिले भइरहेको मूल्यवृद्धि को बारेमा छानविन गर्न संसदीय समिति बनाउनु पर्ने माग समेत गरेका छन्। 

'यो अवैधानिक छ। जेठ १ गते र ९ गते पेट्रोलियम पदार्थमा जुन ढंगले मूल्यवृद्धि गरिएको छ। त्यो त्यसकारणले पनि अवैधानिक छ। सरकाले आफैंले बनाएको कार्यविधिलाई तिलाञ्जली दिएको छ,' सांसद सुनुवारले भने।

पेट्रिलियम पदार्थमा भष्ट्रचारको गन्ध आएको समेत उनले आरोप लगाएका छन्। सरकारले अहिलेको मूल्यवृद्धि फिर्ता लिनुपर्ने उनले माग राखे। मूल्यवृद्धि नियन्त्रण गर्न अहिले पेट्रोलियम पदार्थमा लिटरमा १० रुपैयाँले मात्र घटाएर नपुग्ने उनले बताए।

यस्तै, सांसद गणेश कुमार पहाडिले पनि मूल्यवृद्धि छानविन गर्न संसदीय समिति गठन गर्नु पर्ने बताएका छन्।

नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले सर्वसाधारण जनता मूल्यवृद्धिको चर्को मारमा पर्दा समेत बजेटले समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। उनले सबै वस्तुहरुको मूल्य चर्को हुँदा पनि सरकारले सात प्रतिशत मात्रै मूल्यवृद्धि भएको भनेर ढाँटने कुरा गरिरहेको आरोप लगाए। सबै मूल्यवृद्धिको मुख्य कारण पेट्रोलियम पदार्थ भएको उल्लेख गर्दै सांसद पोखरेलले यसको व्यवस्थापन गर्न नसक्नु सरकारको कुशासन र भ्रष्टाचार नै भएको दाबी गरे।

भने, ‘मूल्यवृद्धिले सर्वसाधारणको जीवन धान्नै नसक्ने अवस्थामा पुगेको छ। सरकारसँग सुन्ने कान छैन, देख्ने आँखा छैन। र, अनुभूति गर्ने हृदय छैन भन्ने अनुभूति भएको छ। यो सरकार बन्दाको समयमा २३० मा पाईने खानेतेल लिटरको अहिले ४०० भएको छ। ५०-५५ रुपैयाँ केजीमा पाईने चामल ७० रुपैंयाँ भएको छ। १०२ रुपैयाँमा पाईने पेट्रोलियम पदार्थ जरुरी सार्वजनिक महत्वको प्रस्तावपछि १० रुपैयाँ घटदा पनि १७० रुपैयाँ छ। ६५ पाइने चिनी १०० रुपैयाँ पुगेको छ। तर सरकार भन्दैछ–७ प्रतिशत मात्रै मूल्यवृद्धि भएको छ। यी सबै मूल्य वृद्धिको कारण पेट्रोलियम पदार्थको व्यवस्थापन गर्न नसक्नु कुशासन र भ्रष्टाचार नै हो भन्ने मलाई लाग्दछ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell