PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

सगरमाथा क्षेत्रमा स्थापित नयाँ स्वचालित मौसम केन्द्रले जलवायु विश्लेषण कति भरपर्दो ?



पहिलोपोस्ट

सगरमाथा क्षेत्रमा स्थापित नयाँ स्वचालित मौसम केन्द्रले जलवायु विश्लेषण कति भरपर्दो ?

काठमाडौं : विश्वको सर्वाोच्च शिखर सगरमाथामा नयाँ स्वचालित मौसम मापन केन्द्र जडान भएसँगै त्यहाँको तापक्रम, आद्रता, वायुमण्डलको चाप तथा हावाको चाप तथा गतिको तथ्याङ्क सङ्कलन र तत्कालीन समय सहजरुपमा सम्प्रेषण भइरहेको छ। सगरमाथाको नेपालतर्फको भागमा आठ हजार ८१० मिटर उचाइमा अवस्थित ‘बिसप रक’ मा नयाँ स्वचालित मौसम मापन केन्द्र जडान कार्य गत वैशाख २६ गते सम्पन्न भएको थियो। जल तथा मौसम विज्ञान त्विरभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको राष्ट्रिय भौगोलिक समाज (एनएसजी)को सहकार्यमा सो केन्द्र जडान गरिएको हो।

यसअघि सन् २०१९ मा सगरमाथा क्षेत्रमा विभिन्न उचाइमा रहेका पाँच स्थान (फोन्र्से- ३८१० मि, सगरमाथा बेस क्याम्प– ५३१५ मि, साउथ कोल–७९४५ मि र बाल्कोनी–८४३० मि) मा स्वचालित केन्द्र जडान गरिएको थियो। यसैको निरन्तरतास्वरुप सन् २०२६ सम्म निरन्तर मर्मतसम्भार र तथ्याङ्क सङ्कलन कार्यका लागि नेपाल सरकार, त्रिवि र एनएसजीसँग भएको सम्झौताअन्तर्गत ‘रिटर्न टु एभरेष्ट’ अभियानद्वारा चार केन्द्रको मर्मतसम्भार र बाल्कोनी केन्द्रलाई ‘बिसप रक’मा स्थानान्तरण गरिएको हो। ती केन्द्रको सञ्जालबाट नियमितरुपमा ती स्थानको तापक्रम, आद्रता, वायुमण्डलको चाप तथा हावाको चाप तथा गतिको तथ्याङ्क सङ्कलन र तत्कालीन समय सहज रुपमा सम्प्रेषण भइरहेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले जानकारी दिए।

अमेरिकाको अप्लाचेन स्टेट विश्वविद्यालयका डा बेकर पेरीले नेतृत्व गरेको यो अभियान सम्पन्न गर्न शेर्पा समुदायको उल्लेखनीय सहयोग रहेको उनले बताए। शेर्पाहरुको स्थानीय भूगोल, जलवायु र पर्वतारोहणसम्बन्धी विशिष्ट ज्ञान तथा लामो अनुभवले ती केन्द्रहरुको नियमित मर्मतसम्भार र विषम भूगोलमा नयाँ केन्द्र स्थापनाका लागि योगदान पुगेको छ। तेन्जिङ ग्याल्जेन शेर्पाको नेतृत्वमा १२ जना क्लाइम्बिङ शेर्पा, नेपाली जलवायु वैज्ञानिक अरबिन्द्र खड्का र एनजिएस अन्वेषक टम म्याथ्युजले ‘बिसप रक’ मा केन्द्र स्थापना कार्य सम्पन्न गरेका थिए।

यस कार्यले सन् २०१९ मा सुरु गरिएको सगरमाथा क्षेत्रको सबैभन्दा महत्वाकाङ्क्षी वैज्ञानिक कार्यमा अर्का कोसेढुङ्गा थपिएको यस क्षेत्रका जानकारको भनाइ छ। आगामी दिनमा ती केन्द्रको नियमित सञ्चालन र मर्मतसम्भार तथा प्राप्त तथ्याङ्कबाट सगरमाथा क्षेत्रको जलवायु विश्लेषण र थप भरपर्दा मौसम पूर्वानुमान सम्प्रेषण यस सहकार्यको मुख्य प्राथमिकता रहेको महानिर्देशक जोशीले बताए।

अभियान टोलीका सदस्यमा एनजिएसका अन्वेषक डा पेरी र म्याथ्युज, पर्वातारोहण पिटर एथेन्स र दावा याङेजुम शेर्पा, नेपाल जलवायु वैज्ञानिक खड्का, तेन्जिङ ग्याल्जेन शेर्पाको नेतृत्वमा रहेको क्लाइम्बिङ शेर्पा हुन्। क्लाइम्बिङ शेर्पाहरुमा तेन्जिङ ग्लाल्जेन शेर्पा (सरदार), फू टाशी शेर्पा, ल्हाक्पा छिरिङ शेर्पा, इला नुरु शेर्पा, कामी तेम्बा शेर्पा, ल्हाक्पा नुरु शेर्पा, ङिमा नुर्बु शेर्पा, निमा छिरि शेर्पा, निमा कान्छा शेर्पा, पासाङ कामी शेर्पा, कान्छा नुरु शेर्पा, ङिमा नाम्ग्याल शेर्पा र मिङग्मा नुरु शेर्पा रहेको विभागले जनाएको छ। साथै बेस क्याम्पसम्म केन्द्र मर्मत कार्यका लागि त्रिविको केन्द्रीय जल तथा मौसम विज्ञान विभागबाट सदस्य डा दिवस श्रेष्ठ, विभागबाट सुवास तुलाधर, निरजशङ्कर प्रधानाङ्ग र निराकार थापा सहभागी थिए।

यसैगरि नेपाल सरकारले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असरको वैज्ञानिक अध्ययन अनुसन्धान गर्न हाल सञ्चालित ९ हिम केन्द्रलाई पूर्ण स्वचालित रियल टाइम प्रणालीमा स्तरोन्नति गर्ने भएको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असरको वैज्ञानिक अध्ययन अनुसन्धान गर्नका साथै हिम मौसमी प्रणालीको निरन्तर अनुगमन गर्न हिम केन्द्रलाई स्तरोन्नति गर्न लागिएको विभागले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell