PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

एमालेलाई अर्थमन्त्री शर्माको जवाफ : यो चुनावी बजेट होइन, निर्वाचन पछि बन्ने सरकारले यसैलाई निरन्तरता दिन्छ



पहिलोपोस्ट

एमालेलाई अर्थमन्त्री शर्माको जवाफ : यो चुनावी बजेट होइन, निर्वाचन पछि बन्ने सरकारले यसैलाई निरन्तरता दिन्छ

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट अत्यन्तै संयमता अपनाएर स्रोत र साधनको उचित विनियोजन गरिएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-८० को बजेटमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको उत्तर दिँदै उनले बजेट महत्वकांक्षी नभई सन्तुलित र वास्तविक भएको उल्लेख गरेका हुन्।

अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट ९.८६ प्रतिशतले मात्रै बढी भएकाले यसलाई महत्वाकांक्षी भन्न नमिल्ने बताए । उनले संविधान र संघीयताको मर्मलाई मध्यनजर गरी बजेट तर्जुमा गरिएको धारणा राखे। कृषि क्षेत्रमा प्रोत्साहन, बाँझो जमिनको सदुपयोग र युवालाई कृषिमा आकर्षण गर्न बजेटले कार्यक्रम समावेश गरेको उनले जानकारी दिए। 

किसानलाई आत्मसम्मानका साथ उत्साहित गर्नुपर्ने भएकाले योगदानमा आधारित किसान हितकोषको व्यवस्था गरिएको र बजेटले आन्तरिक उत्पादनलाई जोड दिएको उनले बताए। उपलब्ध स्रोत, साधन, पुँजी र प्रविधिलाई जोडेर तीव्र उत्पादनतर्फ देशलाई लैजाने आजको आवश्यकता भएकाले सोहीअनुरुप बजेट तर्जुमा गरिएको शर्माले बताए। उत्पादनमूलक उद्योग, निर्यात प्रवर्द्धनलगायत विषयलाई बजेटले समेटेको पनि उनले जानकारी दिए।

शर्माले निर्वाचन हुने वर्ष भए तापनि संविधानतः सरकारले हरेक जेठ १५ मा वार्षिक बजेट पेश गर्नुपर्ने भएकाले सो दायित्व निर्वाह गर्दै बजेट ल्याइएकाले निर्वाचनवपछि बन्ने सरकारले पनि यस बजेटलाई निरन्तरता दिने बताए। नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारले चुनावी बजेट ल्याएको भन्दै आलोचना गरिरहँदा शर्माले जवाफ दिएका हुन्।

उनले मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको र पर्यटनबाहेक सबै क्षेत्र पूर्ववतः अवस्थामा फर्किएको तथा राजस्व संकलन पनि सन्तोषजनक रहेको बताए। 

उनले आगामी आर्थिक वर्ष कृषि उत्पादन र पर्यटन प्रवर्द्धनका लागि गरिएको लगानीलगायत समग्रतामा आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने बताए। उनले चालू आर्थिक वर्षमा वैदेशिक सहायता उत्साहप्रर्द्धक रहेको र आगामी वर्ष वैदेशिक लगानी भित्र्याउने आधार तयार गरिएकाले अर्थतन्त्रको प्रगति हुने अपेक्षा गरे। उनले मल र बीउका लागि पर्याप्त बजेट विनियोजन भएकाले आवश्यकताअनुरुप बजेट व्यवस्थापन हुने भन्दै कृषकलाई मलको अभाव हुन नदिने बताए। 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलगायत ठूला पूर्वाधार आयोजना यसैवर्ष सुरु गरिने पनि उनले बताए। सर्वोच्च अदालतले भने निजगढ विमानस्थलको कार्य  रोक्न आदेश दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell