काठमाडौं : वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सबै खालका सवारीसाधनले असार मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ। यातायात व्यवस्था विभागले एक सूचना निकालेर यी दुई प्रदेशका कार्यालयहरु दर्ता कायम रहेका सवारीसाधन इम्बोस्ड नम्बर प्लेट जडान नगरे साउन १ गतेदेखि कारबाही गर्ने चेतावनी दिएको छ।
वाग्मती प्रदेशको एकान्तकुना-ललितपुर, गुर्जुधारा-काठमाडौं र गण्डकी प्रदेशको पोखरा-कास्कीमा रहेका यातायात कार्यालयहरुमा आवश्यक तयारी पनि गरिएको जनाइएको छ। ती कार्यालयहरुमा दर्ता भएका सवारीसाधनमा हालसम्म पनि इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धी कानुन बमोजिमको व्यवस्था तथा कार्यान्वयन नभएको प्रति विभागको ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ।
प्रचलित ऐन तथा नियममा भएको व्यवस्था बमोजिम सवारीहरुमा अबिलम्ब इम्बोस्ड नम्बर प्लेट जडान गराउन अनुरोध गरिएको छ। कम्तीमा १० वर्षको आयु हुने यो नम्बर प्लेट सामान्य नम्बर प्लेटभन्दा बलियो र किफायती हुन्छ। डिजिटल नम्बर प्लेटमा लेखिएका अक्षरहरु प्लेटको सतहभन्दा माथि उठेका हुन्छन्।
यो प्लेट जडान गरिएका सवारी साधनमा चिप राखिएको हुन्छ। उक्त चिपमा सवारीसाधन सम्बन्धी सम्पूर्ण विवरण हुन्छ। उक्त चिप 'रिड' गर्न विभिन्न ठाउँहरुमा गेटहरु निर्माण गरिन्छ। गेट पार गर्ने सवारी साधनको विवरण 'रिड' भएर गेटले नै 'अटो इन्ट्री' गर्छ। जसको विवरण ट्राफिक प्रहरीले र यातायातका कर्मचारीले कार्यालयमै बसेर हेर्न सक्छन्। यो प्रणाली प्रभावकारीरूपमा सञ्चालनमा आउँदा सवारीसाधन चोरी घट्ने अनुमान गरिएको छ।
अहिले प्रचलनमा रहेको २३ प्रकारको नम्बर प्लेटलाई ५ वटामा सीमित गरिएको छ। राष्ट्रपतिका लागि विशेष नम्बर प्लेट हुनेछ। राष्ट्रपतिको सवारीमा नेपालको झण्डा, त्यसमुनि हल्का नीलो रंग हुँदै गाढा नीलो रङ, NEP अक्षर, त्यसभन्दा तल लालीगुराँससहित नेपालको निसान छाप राखिने विभागले जनाएको छ।
निजी सवारी साधनमा सेतो प्लेटमा कालो अक्षर,सार्वजनिक सवारीमा पहेँलो प्लेटमा कालो अक्षर, सरकारीमा सेतो नम्बर प्लेटमा रातो अक्षर, कूटनीतिक नियोगका सवारीमा सेतो प्लेटमा नीलो अक्षर राखिने छ। सार्वजनिक सेवाका सवारीमा पहेँलो प्लेटमा कालो अक्षर हुनेछ।