PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

राष्ट्रिय सभामा मूल्यवृद्धिबारे चर्चा : मन्त्री बडुले सुनाए मूल्य बढ्नुको कारण र घाटाको फेहरिस्त



पहिलोपोस्ट

 राष्ट्रिय सभामा मूल्यवृद्धिबारे चर्चा : मन्त्री बडुले सुनाए मूल्य बढ्नुको कारण र घाटाको फेहरिस्त

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले विश्वबजारमा पेट्रोलियम पदार्थको चरम अभावका कारण नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा सांसद देवेन्द्र दाहालले पेश गरेको 'खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनिकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्' भन्ने विषयक जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफमा उनले सो कुरा बताएका हुन्। 

बडुले भने, 'रसिया र युक्रेनबिचको युद्धका कारण विश्वबजारमा पेट्रोलियम पदार्थको चरम अभाव र त्यसको कारणले पेट्रोलियम पदार्थममा भएको मूल्य वृद्धिका कारण नेपालमा पनि बाध्यत्मकरुपमा मूल्य वृद्धि गर्नुपरेको हो।'

मन्त्री बडुले पेट्रोलियम पदार्थको मूल्य समायोजनमा सरकार सधैँ संवेदनशील रहेको प्रस्ट पार्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण आम जनतामा पर्न गएको असुविधालाई ध्यानमा राख्दै सरकारले हाल पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर मूल्य घटाउने र उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँ घटाएको बताए। 

'नेपाल आयल निगमबाट आर्थिक वर्ष २०७७-०७८ मा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन गरी कुल दुई अर्ब ३८ करोड लिटर तथा एलपी ग्यास चार लाख ७८ हजार मेट्रिक टन खरिद गरिएको र सो बापत इन्डियन आयल कर्पोरेशनलाई रु एक खर्ब ५८ अर्ब रुपैयाँ भुक्तानी भएको छ। चालु आर्थिक वर्षको जेठ महिनाको पहिलो हप्तासम्ममा करिव दुई खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थको आयात भैसकेको छ। जुन गत आर्थिक वर्षको भन्दा दश महिनामा झण्डै एक खर्ब बढी आयात भएको अवस्था छ,' उनले भने। ्

बडुले समग्र पेट्रोलियम पदार्थको अध्ययन गर्न उच्चस्तरीय अध्ययन कार्यदल गठन गरिएको समेत जानकारी राष्ट्रिय सभामा गराएका छन्।
 
उनले पेट्रोलमा मासिक रु. एक अर्ब ८३ करोड घाटा, डिजेलमा मासिक तीन अर्ब ७३ करोड घाटा,  एलपी ग्यासमा मासिक दुई अर्ब ८६ करोढ घाटा, मट्टितेल र हवाई इन्धनमा ६५ करोड नाफा गरी हेर्दा हाल आयल निगम मासिक रुपमा सात अर्ब ७७ करोड घाटामा सञ्चालित रहेको जानकारी समेत गराए।  

छलफलका क्रममा सांसदहरुले मूल्यवृद्धि नियन्त्रण र इन्धन र ग्यासको मूल्य घटाउनुपर्ने माग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell