PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

औद्योगिक क्षेत्रलाई प्रदेश मातहतमा ल्याएर उद्योग खोल्ने वातावरण तयारी गर्न जरुरी छ : मुख्यमन्त्री पाण्डे



पहिलोपोस्ट

औद्योगिक क्षेत्रलाई प्रदेश मातहतमा ल्याएर उद्योग खोल्ने वातावरण तयारी गर्न जरुरी छ : मुख्यमन्त्री पाण्डे

हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले औद्योगिक क्षेत्रलाई प्रदेश मातहतमा ल्याएर उत्पादनमूलक उद्योग खोल्ने वातावरण तयारी गर्न जरुरी भएको बताएका छन्। शुक्रवार नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशको पाँचौं प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले संघीय सरकार मातहत रहेका प्रदेशभित्रका चारवटा औद्योगिक क्षेत्रलाई प्रदेश मातहत ल्याउन जरुरी रहेको बताएका हुन्।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार उद्योगी व्यवसायीको सहयात्री बन्न तयार रहेको बताए। उनले औद्योगिक क्षेत्रका मजदुरलाई तालिम दिएर मात्र उद्योग क्षेत्रको विकासमा काम गर्न सक्ने बताउँदै उद्योग पाठशाला खोल्न उद्योगीहरुलाई आग्रह गरे।

उनले भने, ‘उद्योग पाठशाला खोल्नु अहिलेको आवश्यकता हो। मजदुरका लागि आवश्यक तालिम सञ्चालन गरेर हामीले दक्ष कामदार निकाल्न जरुरी छ।’

उनले चितवन उद्योग वाणिज्य संघलाई उद्योग पाठशाला खोल्न १० लाख रुपैयाँ सहयोग गरिसकेको जानकारी दिए। उनले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटको आकार करिब १० अर्ब बढेर आउन सक्ने समेत बताए।

हेटौँडाको मयुरधाप, चितवनमा शक्तिखोर र सिन्धुलीको मरिण नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी भइरहेको उनले जानकारी दिए। मुख्यमन्त्री पाण्डेले आगामी आर्थिक वर्षको लागि बजेट बनाउने कार्य जारी रहेको बताउँदै उद्योग क्षेत्रको समस्याहरु समाधान गर्नेमा विश्वस्त रहन आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell