- त्रिरत्न मानन्धर
भोटोजात्रालाई राज्यस्तरबाट नै विशेष महत्व दिँइदै आएको छ। राष्ट्र प्रमुख र सरकार प्रमुखसँगै हजारौं मानिसको उपस्थितिमा जावलाखेलमा भोटो जात्रा मनाइन्छ। नेपालमा आयोजना हुने धेरै जात्रामध्ये सबैभन्दा लामो जात्रा नै रातो मछिन्द्रनाथको जात्रा हो। मछिन्द्रनाथको जात्राको अन्त्य भोटो जात्रा सकाएपछि हुन्छ। भोटो जात्रा सकिएपछि मछिन्द्रनाथलाई खटमा राखेर बुंगमति लगिन्छ। १२ वर्षमा एकपटक भने बुंगमतिबाटै रथबाटै तानेर ल्याइन्छ र रथमै राखेर त्यहीँ लगिन्छ। त्यस बेला भने दुई पटक भोटो देखाइन्छ, जावलाखेल र बुंगमतिमा।
तर, कहिले देखि भोटो जात्रा सुरु भयो ? र, सुरु हुँदाको स्वरुप के थियो। यो अध्ययनको विषय हो।
भोटो जात्रालाई लिएर कर्कोटक नागराजा, ज्यापु र भूतको कथा जनस्तरमा प्रचलित छ। किम्वदन्तीअनुसार परापूर्वकालमा कर्कोटक नागराजकी श्रीमतीको दुखेको आँखा स्थानीय ज्यापुले तन्त्रमन्त्रद्वारा निको पारेपछि भोटो उपहारस्वरुप दिए। भोटो फुकालेर खेत खनिरहेको बेला भूत आएर उनको भोटो चोरेर लग्यो। आफ्नो खेतमा काम गर्दा उक्त भोटो हराएपछि कृषकले खोजी गरे र कतै नपाएपछि जावलाखेलमा आयोजित एक जात्रामा एकजना राक्षसले लगाएको देखेको मान्यता छ।
कृषकले यो भोटो मेरो हो भनेर माग्दा दुवै पक्षबिच धेरै विवाद भएकाले दुवैले पर्याप्त प्रमाण जुटाउन नसकेपछि भोटो नागराजले खोस्छन्। र, राजा र त्यहाँ उपस्थित जनतालाई देखाएर मछिन्द्रनाथको जिम्मामा भोटो दिन्छन्। जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने शर्तमा नासोका रुपमा मछिन्द्रनाथलाई भोटो दिइएको कथन छ। त्यसबेला देखि जावलाखेलमा भोटो देखाउने चलन सुरु भएको मान्यता छ।
तर, यो कथाका बारेमा पुराना वंशावलीमा कतै उल्लेख छैन। हाल प्रचलित यो जनश्रुति पहिले थिएन, पछि थपिएको कथा हो। भोटोजात्रा कहिले देखि सुरु भयो भन्ने कुरा खोजीनीति भएकै छैन। मछिन्द्रनाथको जात्राको बारेमा नेपालको सबैभन्दा पुरानो वंशावली गोपालराज वंशावलीमा स्पष्ट रुपमा उल्लेख छ। राजा नरेन्द्र देवले बौद्ध आचार्य बन्धुदत्तको सहयोगमा मछिन्द्रनाथलाई नेपाल ल्याएको उल्लेख छ। त्यसमा रातो मछिन्द्रनाथबारे धेरै कथा छन्। पछि पछिका वंशावली र वर्णनमा पनि मछिन्द्रनाथको जात्राको धेरै विवरण आउँछ। राजाहरु गएर जात्रा हेरेको, राजाहरुले सामान चढाएको, रथ बिग्रिएको , रथ ढलेको यावत् कुराहरु वंशावलीमा आउँछ। यी सबै तथ्य मध्यकालको घटनाका रुपमा वंशावलीमा उल्लेख छन्। तर, भोटो जात्रा कतै पनि उल्लेख छैन। त्यसैले मध्यकालमा भोटो जात्रा देखाउने चलन थिएन।
भोटो जात्रा देखाउने चलन पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जितिसकेपछि सुरु भएको देखिन्छ। पृथ्वीनारायणले काठमाडौं उपत्यका जित्नुभन्दा केही समय अगाडि फादर गेसिपी नेपाल आएका थिए। क्रिस्टियन मिसिनेरीका रुपमा नेपालमा बस्दै आएका उनले मछिन्द्रनाथको जात्राको वर्णन गरेका छन्। त्यसमा भोटोजात्राको बारेमा केही उल्लेख छैन। यदि त्यो बेला भोटो जात्रा हुन्थ्यो भने त्यसबारेमा उनको कृतिमा उल्लेख हुनुपर्ने हो। तर, लेखिएको छैन। शाहले उपत्यका जितिसकेपछि नेपाल आएका कक प्याट्रिक, ह्यामिल्टन, हर्डसनका कृतिहरुमा पनि भोटो जात्रा उल्लेख छैन।
भोटोजात्राको पहिलो उल्लेख हेनरी एम्ब्रोस ओल्डफिल्डले गरेका छन्। जंगबहादुर प्रधानमन्त्री हुँदा उनी यहाँका रेसिडेन्सी सर्जन थिए। धेरै वर्ष नेपाल बसेका उनले काठमाडौं उपत्यकाका जात्राबारे धेरै विवरण सहितका कृति लेखेका छन्। उनले मछिन्द्रनाथ जात्राको अन्तिम दिनमा भोटो जात्रा आयोजना गरिन्थ्यो भनेर उल्लेख गरेका छन्। जंगबहादुरको शासनकालको अन्तिम समयमा नेपाल आएका डेनियल राइटले पनि भोटो जात्राको बारेमा उल्लेख गरेका छन्। तर, भोटोजात्राको बारेमा लेखेका फिल्ड र राइटले हाल प्रचलित नागराजा, ज्यापु र भूतको कथा भने उल्लेख गरेका छैनन्।
वीर शमशेरको समयमा फ्रान्सेली स्कलर सिल्भा लेभी नेपाल आएका थिए। नेपालका बारेमा उनले तीन भोल्युमको किताब निकालेका थिए। उनकै किताबमा रातो मछिन्द्रनाथको भोटोजात्राको हाल प्रचलित कथा उल्लेख छ। किताबमा भोटो जात्राको बारेमा पूर्ण विवरण दिएर उनले प्रचलित कथा उल्लेख गरेको छन्। त्यसैले पहिलो पटक यो भोटो जात्राको कथा बारे उल्लेख गर्ने सिल्भा लेभी नै हुन्। यसले के निष्कर्ष निस्किन्छ भने भोटो जात्रा भनेको मध्यकालमा होइन शाहकाल आइसकेपछि सुरु भएको हो। पछि यसले धेरै महत्व पायो। राणाकालमा राजा र राणा प्रधानमन्त्री हात्तीमा बसेर जात्रा हेर्न जान्थे।
भोटोजात्रा मध्यकालमा नभइ शाहकालमा मात्रै सुरु भएको भन्ने तीन आधारहरु छन्।
पहिलो आधार : यो जात्राको नाम, भोटो जात्रा। भोटो नेपाली शब्द हो। नेवारी शब्द होइन। मध्यकालमा यो जात्रा सुरु भएको भए प्वाकलं जात्रा भन्नु पर्ने हो। नेपालभाषामा भोटोलाई प्वाकलं भनिन्छ। त्यसैले भोटो जात्रा भन्ने शब्दले नै यो शाहकालमा आएको भन्ने पुष्टि हुन्छ।
दोस्रो आधार : पृथ्वीनारायण शाहकाल पछि नै यो सुरु भएको हो। जंगबहादुर राणाको समयसम्ममा भने यो जात्रा सुरु भइसकेको थियो भन्ने कुरामा चाहिँ स्पष्ट हुनुपर्छ। तर, कहिलेदेखि सुरु भयो भन्न गाह्रो छ। पृथ्वीनारायण शाहले उपत्यका विजयी गरेको २०-२५ सालसम्म पनि भोटोजात्रा मनाउने प्रचलन थिएन। रणबहादुर शाहको समयमा नेवार र पर्वते कर्मचारीहरुलाई बिदा दिने कागजपत्र छ। त्यसमा भोटो जात्राको उल्लेख छैन। राज्यस्तरबाट नै मनाइने चाडको त बिदा उल्लेख हुनुपर्थ्यो। त्यसैले रणबहादुरको समयमा पनि भोटोजात्रा मनाउने चलन थिएन। जंगबहादुर भन्दा अघि आयो तर कहिले आयो भन्ने फेला परेको छैन।
तेस्रो आधार : लेभीभन्दा अघि नेपाल आएकाहरुले भोटोजात्राको उल्लेख गरेका छन्। उनीहरुको कथा फरक छ।
हेनरी एम्ब्रोस ओल्डफिल्डले जात्राको अन्तिम दिन रथ तानेर जावलाखेल ल्याउने र त्यहाँ ल्याएपछि मछिन्द्रनाथलाई लगाइदिएको लुगा फुकाल्ने काम हुन्छ भनेर लेखेका छन्। त्यसरी फुकालिएको लुगा एउटा बाकसमा राखिन्थ्यो। अन्तिममा रातो मछिन्द्रनाथको भोटो फुकालिन्थ्यो र भोटोलाई चारै तिर देखाएपछि त्यहाँ बस्नेले सलामी दिने र मानिसले जमिन छोएर ढोग्ने उनले उल्लेख गरेका छन्। त्यसपछि भोटो बाकसमा राखिने र जात्रा सकिने उनले बताएका छन्। यसमा प्रचलित कथन कहिँ आउँदैन।
डेनियल राइटको कथा फरक छ। अन्तिम दिन मछिन्द्रनाथलाई लगाइदिएको लुगा फुकाल्दा भोटो नि फुकालिने गरेको उनले उल्लेख गरेका छन्। यसरी भोटो फुकालेर मछिन्द्रनाथले दिन खोजेको सन्देश राइटले उल्लेख गरेका छन्। ‘म त्यहाँबाट आइसकेपछि जात्राको बेला जति लुगा लगाइदियो। त्यो सबै लुगा छोडेर जाँदैछु। मैले केही लगेको छैन। म जसरी आएँ त्यसरी नै गएँ,’ मछिन्द्रनाथले यो सन्देश दिन खोजेको भनेर उनले लेखेका छन्। राइटले यो पर्वलाई भोटोजात्रा भनेका छैनन्। उनले ‘गुद्री झारा’ (Gudri Jhara ritual) भनेका छन्। यसको अर्थ के हो, अध्ययनको विषय हो।
त्यसको मतलब सुरुमा भोटो जात्रा भनेको मछिन्द्रनाथलाई जात्राको बेलामा लगाइदिने भोटो हो। जात्रा सकेपछि फुकालेको हो। नागराजा र भूत सँग सम्बन्धित छैन भन्ने स्पष्ट हुन्छ।
लेभी वीर शमशेरको पालामा मात्रै आएका थिए। उसले लेख्यो र त्यही कथा प्रचलनमा आयो। त्यो भन्दा अघिको सबै बिर्सिए। अनि थप कथा थपिए। गुणकामदेवको पालामा भएको भनेर समेत लेखिएको छ।
तर, भोटो जात्रा मध्यकालपछि शाहकालमा मात्रै सुरु भएको हो। पछि यसले प्रधानता पायो। जुद्ध शमशेरको समयमा कर्मचारीहरुलाई दिइने बिदाको लिस्टमा भोटो जात्राको बिदा थपिइसकेको थियो।
यति भन्दै गर्दा हामीके केही प्रश्नको उत्तर खोज्नुपर्ने हुन्छ।
१। यो भोटो जात्रा कहिले सुरु भयो ? पृथ्वी नारायण पछि जंगबहादुर अघि, तर कहिले ?
२। जात्रा हुँदा यसको स्वरुप के थियो। लुगा फुकालेर देखाएको मात्रै हो कि के हो ?
३। भोटो देखाउने जात्राको दिन कहिले देखि विदा दियो ?
भोटोजात्राबारे यस्तै र यावत् कुराको अध्ययन बाँकी छ। नेपालको संस्कृति र इतिहासमा अध्ययन गरिरहेकाहरुले भोटो जात्राको बारेमा नयाँ कुरा ल्याउन सक्यो भने त्यो धेरै राम्रो हुन्छ।
(त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक त्रिरत्न मानन्धरसँग सहयोग रञ्जितले गरेको कुराकानीमा आधारित)