PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

सिर्जना सिंहले 'वंशवाद' का आधारमा टिकट पाएकोले काठमाडौंमा कांग्रेस हार्‍यो : रामचन्द्र पौडेल 



पहिलोपोस्ट

सिर्जना सिंहले 'वंशवाद' का आधारमा टिकट पाएकोले काठमाडौंमा कांग्रेस हार्‍यो : रामचन्द्र पौडेल 

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित भएको बताएका छन्। पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरित् उम्मेदवार खडा गरि जनतालाई हेपेका कारण राजनीतिक दल महानगरको प्रमुख बन्न नसकेको बताएका हुन्। 

काठमाडौं महानगर पालिकाको मेयरका लागि कांग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको उनको भनाइ छ। प्रमुखका उम्मेदवारहरुको कार्यक्षमताको समय सकिसकेकोले जनताले राजनीतिक दलहरुले गरेको निर्णयलाई लत्याएको उनको दाबी थियो। 

'राजनीतिक दलहरुले जनतालाई हेपेर निर्णय गर्नुहुँदैन। कांग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका नेताले पनि। एमालेका नेताले जुन निर्णय गरे त्यो पनि जनतालाई हेपेकै निर्णय थियो। किनभने जुन उम्मेदवारलाई अघि सार्नुभयो उहाँहरु उपयुक्त थिएनन्। आउटेडेट भइसकेका थिए। अहिले कांग्रेसले जे गरेको थियो त्यो पनि उपयुक्त थिएन। ती भन्दा उपयुक्त धेरै मान्छेहरु थिए,' पौडेलले भने। 
कांग्रेसबाट मेयरमा सिर्जना श्रेष्ठ (सिंह) र एमालेबाट केशव स्थापित उम्मेदवार थिए। उनीहरुलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन) महानगर प्रमुखमा निर्वाचित भएका थिए।

 पौडेलले आफूले महानगर प्रमुखको उम्मेदवारका रुपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थराम डंगोललाई अघि सारेपनि नेतृत्वले नमान्दा हार व्यहोर्न बाध्य भएको बताए। कांग्रेसको नेतृत्व पंक्तिले वंशवादको आधारमा उम्मेदवारी दिएको भन्दै उनले जनताले त्यसको सजाय नेताको टाउकोमा लौरो लगाइदिएको बताए।

'मैले त्यही बेला भनेको थिएँ, महिला दिने हो भने हरिप्रभा छँदैछिन्, उपमेयरमा राम्रो काम गरेकी थिइन्। पुरुष दिने हो भने तीर्थ डंगोल छँदैछन्। भनेको थिएँ । त्यस्ता राम्रा मानिसहरु थिए। उम्मेदवारी दिँदा नै वंशवादको आधारमा जो दिइयो त्यो गलत भयो।  जनताले त्यसको सजाय लौरो लगाइदिए नेताको टाउकोमा। मैले त्यतिबेला पनि भनेको हो, मेरो केही लागेन। म निर्णायक ठाउँमा होइन। पार्टी सभापति नै निर्णायक हुन्छ। उहाँले इसारा गरेपछि मुख्यसचिवले टिकट पठाइसक्छ, म यहाँ छलफल गरिराखेको हुन्छु। त्यस्तो अतितमा पनि भएको छ। त्यसको परिणाम गत चुनावमा पनि भोगेकै हो,' पौडेलले भने। 

उनले आगामी दिनमा पनि यस्तै गल्ती नेतृत्व पंक्तिले गरिरहने हो भने नेपालको राजनीति यस्तै हुन्छ भन्न नसकिने उनले बताए। यस्ता घटनाबाट पाठ सिकेर राजनीतिक दलहरुले जनताले रुचाउने उम्मेदवार उठाउनु पर्नेमा जोड दिएका छन्। न्यूज एजेन्सी नेपालसँगको कुराकानीको आधारित 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell