
काठमाडौं : बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सर्वनाम शिक्षालयका प्रिन्सिपललाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ।
प्रहरीले जोरपाटीस्थित सर्वनाम शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटीलाई सोधपुछको लागि नियन्त्रणमा लिएको हो। होस्टलमा कार्यरत वार्डेनलाई भने खोजी गरिरहेको प्रहरीले जानकरी दिएको छ। वार्डेनले होस्टलमा बस्ने बालिकाको संवेदनशील अंगहरु छुने, अश्लील प्रकारका भिडियोहरु देखाउने गरेको आरोप लागेपछि प्रहरीले सोधपुछको लागि प्रिन्सिपललाई नियन्त्रणमा लिएको हो।
'प्रिन्सिपललाई दुई दिन अगाडि नै घटनाको जानकारी रहेछ। त्यसैले सोधपुछको लागि नियन्त्रणमा लिएका हौं,' एक प्रहरी अधिकृतले भने। आरोप लागेका वार्डेनको भने खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
पीडितका आफन्तले उजुरी गरेपछि महानगरीय प्रहरी वृत बौद्धको टोली घटनास्थल पुगेको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जेठ १० गते चावहिलस्थित सेन्ट लरेन्स कलेजमा शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। पीडित छात्राले जाहेरी दिएपछि जनार्दन अधिकारीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको थियो। काभ्रे घरका अधिकारी कलेजका को-अर्डिनेटर हुन्। यही प्रकरणमा अर्का एक शिक्षक पनि समातिएका छन्।