PahiloPost

Jun 18, 2024 | ५ असार २०८१

बुंगमति फर्किए रातो मछिन्द्रनाथ, स्थानीयले 'छ्वाली' बालेर गरे स्वागत

बुंगमति फर्किए रातो मछिन्द्रनाथ, स्थानीयले 'छ्वाली' बालेर गरे स्वागत

पहिलोपोस्ट /पहिलोपोस्ट


ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई  आज बुंगमती फिर्ता लगिएको छ। जावलाखेलमा भोटोजात्रा सम्पन्न भएपछि रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको हो। 

रातो मछिन्द्रनाथलाई खटमा राखेर बुंगमति फिर्ता लग्दा मानिसहरुले दायाँबायाँ बसेर छ्वाली (गहुँको पराल) बालेका थिए। रातो मछिन्द्रनाथको मुर्तिलाई नख्खु हुँदै बुङमतिमा रहेको मन्दिरमा प्रतिस्थापन गर्ने बेलासम्म ती छ्वालीहरु बालेर देवतालाई बाटो देखाउने गरिन्छ। यसरी छ्वाली बाल्नुलाई स्थानीय भाषामा 'सवा लाख छ्वालीप्वाः च्याकाः लं स्ववनेगु' भनिन्छ। यसको अर्थ सवा लाख परालको मुठा बालेर देउताको बाटो हेर्न जाने हुन्छ।

पानेजु (रातो मछिन्द्रनाथका पुजारी) मदन शाक्यका अनुसार पहिला बत्ती नभएको बेला रातो मछिन्द्रनाथलाई खटमा राखेर ल्याउँदा छ्वाली बालेर लिन जाने गरिन्थ्यो। त्यो परम्परा हाल सम्म पनि निरन्तर चलिरहेको छ। शाक्यका अनुसार पहिला त भक्तपुरबाट दीप बोकेर मानिसहरु रातो मछिन्द्रनाथलाई बाटो देखाउन आउँथे। अहिले भने त्यो परम्परा रोखिएको उनी बताउँछन्।

बुंगमती पुर्‍याइएपछि रातो मछिन्द्रनाथलाई पूजा गरेर त्यही बनाइएको अस्थायी मन्दिरमा राखिएको छ। २०७२ सालको भूकम्पमा मन्दिर भत्किएपछि पुनर्निर्माणको काम सम्पन्न नहुँदा रातो मछिन्द्रनाथलाई अस्थायी मन्दिरमा राखिँदै आएको छ। हाल उपभोक्ता समितिमार्फत मन्दिर पुनर्निर्माणको काम भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell