काठमाडौंः सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनको समीक्षा गर्न सातवटै प्रदेशबाट सूचना संकलनका लागि पार्टीका शीर्ष नेताहरुलाई खटाएको छ। शनिबार बसेको सचिवालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षाका लागि सबै प्रदेशमा १/१ जना सचिवालयका सदस्यहरुलाई खटाउने निर्णय गरेको हो।
पाँच दिनभित्र स्थानीय तह निर्वाचनको सम्पूर्ण सूचना संकलन गरिसक्ने निर्णय बैठकले गरेको छ। निर्णय अनुसार प्रदेश १ मा जयन्ती राई, मधेश प्रदेशमा रामचन्द्र झा, वाग्मती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्बिनी प्रदेशमा विजय पौडेल, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा वेदुराम भुसाललाई जिम्मेवारी दिइएको छ।
बैठकमा गठबन्धनलगायतका चुनावी विषयमा छलफल गरिएको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।
बैठकमा नेताहरुले गठबन्धनमा आवद्ध अन्य दलहरुले निर्वाचनमा पार्टीलाई अपमानजनक व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।