
काठमाडौं: क्रिकेट विश्वकप लिग २ को तयारीमा रहेको नेपाली टोलीले अमेरिकामा दोस्रो अभ्यास खेलमा ह्युस्टन हुरिकेन्समाथि जित निकालेको छ। गएराति सम्पन्न खेलमा कप्तानी भूमिकामा रहेका रोहितकुमार पौडेलले शतकीय पारि खेल्दा नेपालले २९ रनको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.१ ओभरमा अलआउट हुँदै २५० रन बनाएको थियो। नेपालका लागि कार्यवाहक कप्तान रोहितकुमार पौडेलले शतकीय पारि खेल्दै सर्वाधिक १०१ रन बनाउँदा आरिफ शेखले ४१, दीपेन्द्रसिंह ऐरीले २४, देव खनालले १९ रन बनाए। त्यसअघि ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा सुनिल धमलाले १३ रन बनाए।
बलिङतर्फ हुरिकेन्सका मोहम्मद इल्लियासले सर्वाधिक ५ विकेट लिँदा हरमीत सिंहले २ तथा हसन रशिदले १ विकेट लिए।
जवाफी ब्याटीङमा उत्रिएको हुरिकेन्स २२१ रनमा समेटियो। जसका लागि सर्वाधिक ९९ रन बनाएका निनद निम्बलकर शतकबाट १ रनले चुके। उनीबाहेका रमीज राजा जुनियरले २९ रन बनाउँदा एन्ड्रीज गोसले २८, गौरव बजाजले १५, उस्मान रफिकले १२ तथा नितिश कुमारले १० रन बनाए।
बलिङतर्फ नेपालका सोमपाल कामीले सर्वाधिक ५ विकेट लिँदा किशोर महतो र सागर ढकालले समान २ विकेट लिँदा करण केसीले १ विकेट लिए।
यसअघी पहिलो अभ्यास खेलमा नेपाली टोली नेपाली अल स्टार्स टोलीसँग पराजित भएको थियो। क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले ९ जुनमा ओमनविरुद्ध खेल्दै सुरुवात गर्नेछ।