बुटवल : आइतवार बिहान भैरहवा–परासी हुलाकी सडक अन्तर्गत रोहिणी पुलमा भएको बस दुर्घटनामा परी मृत्यु भएका ९ जना मध्ये ५ जनाको पहिचान खुलेको छ।
मृत्यु भएकामध्ये रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षका राजेन्द्र पाण्डे, रुपन्देहीकै तिलोत्तमा योगिकुटीका ४६ वर्षका विष्णु पौडेल, बुटवल उपमहानगरपालिका ११ का ४८ वर्षका कृष्णप्रसाद बस्याल, रौतहट चन्द्रनिगाहापुरका २० वर्षीया दिनेश दास र भारतको जनकपुरग्रामका ४० वर्षका अरविन्द्र शर्माको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डिएसपी नवरन्त पौडेलले जानकारी दिए।
दुर्घटनामा १ जना महिलासहित ९ जनाको मृत्यु भएको छ। हाल उपचाररत रहेका २४ जना यात्रुमध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ। जनकपुरबाट भैरहवातर्फ आउँदै गरको लु २ ख ३८४१ नम्बरको रात्री बस आइतबार बिहान भैरहवा–परासी हुलाकी राजमार्ग अन्तर्गत पर्ने रोहिणी खोलाको पुलबाट खसेको थियो।
चालक निदाएकोले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। गाडी चालक रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ३६ वर्षीय सुमन क्षेत्रीपनि गम्भीर घाइते भएका छन्। घाइतेहरुको भैरहवास्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।