PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

कालीगण्डकीको बिजुली भारतमा बिक्री सुरु, प्रतियुनिट १९ रुपैयाँसम्ममा बिक्यो



पहिलोपोस्ट

कालीगण्डकीको बिजुली भारतमा बिक्री सुरु, प्रतियुनिट १९ रुपैयाँसम्ममा बिक्यो

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट क्षमताको कालीगण्डकी 'ए' विद्युतगृहबाट उत्पादित विद्युत भारतमा बिक्री सुरु भएको छ।

प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिवार राति १२ बजेबाट निर्यात सुरु गरेको हो। प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मा बिहीवारबाट त्रिशूली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ।

कालीगण्डकीको पनि बिक्री सुरु भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत भारत निर्यात गर्न सुरु गरेको छ। कालीगण्डकी 'ए'को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत भारत निर्यात हुनेछ।

वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिवार रातिबाट निर्यात भएको विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको बताए।

‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) छ,’ घिसिङले भने।

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्ल्कको मूल्य फरक फरक हुने गरेको छ। प्राधिकरणका अनुसार बिहीवार निर्यात गरिएको विद्युतको अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः भारु १२ (१९.२ नेरु) र २.४९ (३.९८ नेरु) छ। त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६.७२ (१०. ७६ नेरु) छ।

यसैगरी, शनिवार प्रधिकरणले अधिकतम प्रतियुनिट मूल्य १९.२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपैयाँ (२.५५ भारु)मा विद्युत बिक्री गरेको छ। औसतम मूल्य ११.४८ रुपैयाँ (७.१८ भारु) छ। नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत बिक्री गर्न अनुमति पाएको छ। मर्स्याङ्दी (६७ मेगावाट), मध्य-मर्स्याङ्दी (६८ मेगावाट), त्रिशूली (२३.२८ मेगावाट), देवीघाट (१४.५५ मेगावाट), कालीगण्डकी 'ए' (१४० मेगावाट), लिखु-४ (५१ मेगावाट) लगायतका आयोजनाको विद्युत बिक्रीका लागि अनुमति पाएका हुन्।

माथिल्लो तामाकोसी (४५६ मेगावाट) सहित ४३५ मेगावाट थप विद्युत निर्यातका लागि प्रस्ताव गरिएको छ। आगामी पाँच महिनामा ५ सय मेगावाट विद्युत निर्यात गर्ने प्राधिकरणको लक्ष्य छ। विद्युत बेचेर १२ अर्ब रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell