PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

काठमाडौंमा उठेन फोहोर, समाधान खोज्दै बालेन र सुनिताको दौडधुप



पहिलोपोस्ट

काठमाडौंमा उठेन  फोहोर, समाधान खोज्दै बालेन र सुनिताको दौडधुप
शनिवार मन्त्री झाँक्रीसँग बालेन र सुनिता

काठमाडौं : काठमाडौं महानगरपालिकामा फोहोर नउठेको हप्तौं भइसक्यो। स्थानीय तह निर्वाचन अघि देखि नै थुप्रिएको फोहोर बिचमा एक-दुईपटक संकलन भए पनि त्यसपछि फहोर उठ्न सकेको छैन। महानगरमा नयाँ प्रमुख र उपप्रमुख आइसकेपछि फोहोरको विषयले प्राथमिकता पाएको छ। प्रमुख वालेन्द्र साह (बालेन) र उपप्रमुख सुनिता डंगोल अहिले फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर छलफलमा छन्।

केही दिनअघि सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पुगेर उनीहरुले फोहोर व्यवस्थापन र चुनौतीबारे जानकारी लिएका थिए। प्रमुख बालेनले एक हप्ताभित्र सिसडोलमा फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्ने बताएका थिए। साथै, स्थानीयको माग सम्बोधन गर्ने वाचा गर्दै उनले फोहोर फाल्न दिन आग्रह गरेका थिए।

‘म आएको चार दिन भयो। मलाई काम गर्न दिनुस्’ उनले भनेका थिए। उनले काठमाडौंबाट नै फोहोर छुट्याएर पठाउन जनचेतना फैलाउपर्ने, फोहोरबाट मोहोर बनाउने लगायतका योजना समेत सुनाएका थिए।

बालेन र सुनिताले पदभार ग्रहण गरेसँगै भएको काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकमा पनि फोहोरको मुद्दाले प्राथमिकता पाएको थियो। तर, स्थानीयको माग र अवरोधका कारण ल्यान्डफिल साइटमा फोहोर फाल्न सकिएको छैन।

यसबिच, शनिवार बालेन र सुनिताले फेरि शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग भेटेर फोहोर व्यवस्थानपनबारे परामर्श गरेका छन्। सिसडोल जानुअघि पनि बालेन र सुनिताले झाँक्रीसँग भेटेका थिए। ल्यान्डफिल साइट निर्माणको जिम्मा शहरी विकास मन्त्रालयसँग छ।

उक्त भेटमा बञ्चरेडाडाँमा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा छलफल भएको मन्त्री झाँक्रीको सचिवालयले जनाएको छ। बालेन र सुनिताले सिसडोल र बञ्चरेडाँडाको स्थानीयको माग र महानगरमा देखिएको फोहोरको समस्याबारे अवगत गराएका थिए।

जवाफमा झाँक्रीले बञ्चरेडाँडा ल्याण्डफिल साइटको ’सेल वान’मा फोहोर फाल्न सकिने गरी निर्माण भइसकेको बताएकी थिइन्। फोहोर व्यवस्थापनका लागि महानगरलाई आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता उनले दिएकी थिइन्। महानगरको अन्तिम मतपरिणाम आउनु केही दिनअघि झाँक्रीकै निर्देशनमा स्थानीयको अवरोधबिच बञ्चरेडाँडामा १०० वटा ट्रकले फोहोर खसालेको थियो।

बञ्चरेडाँडामा स्थानीयले सिसडोल जस्तो अवस्था नओओस् भनेर अहिले नै दीर्घकालीन समाधान खोजेको बताइरहेका छन्। बालेन र सुनितासमक्ष पनि उनीहरुले फोहोरको वैज्ञानिक व्यवस्थापन, जग्गा अधिग्रहण लगायतका माग राखेका थिए।

झाँक्रीले जग्गा अधिग्रहण गर्नुपर्ने स्थानीयको मागबारे प्राविधिक टोलीको अध्ययन प्रतिवेदनपछि मात्रै टुंगोमा पुग्न सकिने जवाफ दिएकी छिन्।

बालेन र सुनिताले काठमाडौंको फोहोर व्यवस्थापन आफूहरुको प्रमुख प्राथमिकतामा रहेको बताउँदै मन्त्रालयलाई समन्वय गरिदिन आग्रह गरेका थिए।

‘तत्काल फोहोर व्यवस्थापन गर्नका लागि मन्त्रालयले समन्वय गर्छ,’ उनले भनिन्।

प्रमुख बालेनले फोहोर व्यवस्थापनको मुद्दा राजनीतिक दलका शीर्ष नेताहरुसँग गरेका छन्। स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको प्रमुखमा जितेका उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।

भेटका क्रममा उनले नेताहरुलाई फोहोर व्यवस्थापनका लागि सहयोग मागेका थिए। जवाफमा नेताहरुले आफूहरुको सहयोग रहने बताएका थिए।

काठमाडौं महानगरमा फोहोर नउठ्दा र छिमेकी नगरका फोहोर पनि ल्यान्डफिल साइट जान नसक्दा अहिले समस्या बढ्दै गएको छ। नगरमै फोहोर डम्पिङ गर्ने साइटको अभाव हुँदा सडकमा थुप्रिएको फोहोर उठ्न सकेको छैन। महानगरको समन्यवमा छिट्टै फोहोर व्यवस्थापनका लागि सर्वपक्षीय बैठक बस्ने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell