
काठमाडौं : नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ। अबको दुई-चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची क्षेत्र आसपासबाट मनसुन सुरु हुनेछ।
'अबको दुई-चार दिनभित्रै नेपालमा मनसुन भित्रिनेछ,' उनले भने।
प्रदेश १, मधेश र वाग्मती प्रदेशका कतिपय स्थानमा आज र भोलि वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् भट्टराईले बताए।
नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्छ। देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ। जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ।
हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको छ। उक्त मौसमी प्रभावले हाल प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।