PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

हुनेवाला दुलाहालाई ठग भन्दै पक्राउ गरेकी 'दवंग प्रहरी' जुनमोनी सोही मुद्दामा गिरफ्तार



पहिलोपोस्ट

हुनेवाला दुलाहालाई ठग भन्दै पक्राउ गरेकी 'दवंग प्रहरी' जुनमोनी सोही मुद्दामा गिरफ्तार
Photo: JUNMONI RABHA/FACEBOOK/BBC

भारतको आसाममा गत महिना एक महिला सब-इन्स्पेक्टरले आफ्नै मंगेतर (हुनेवाला दुलाहा) लाई ठगी मुद्दामा पक्राउ गरेर जेल पठाएकी थिइन्। आफ्नै मंगेतरलाई पक्राउ गरी जेल पठाएपछि सामाजिक सञ्जालमा निकै प्रशंसा पाएकी तिनै महिला 'दवंग' सब-इन्स्पेक्टर सोही मुद्दामा पक्राउ परेपछि घटना तरंगित भएको छ।

माजुलीको प्रहरीले शनिवार सब-इन्स्पेक्टर जुनमोनी राभालाई ‘आपराधिक षड्यन्त्र’ र ‘ठगी’ गरेको अभियोगमा पक्राउ गरेको छ। सोही मुद्दामा उनका मंगेतर पक्राउ परेका थिए।

सब-इन्स्पेक्टर जुनमोनी राभालाई पक्राउ गरेको पुष्टि गर्दै माजुलीका पुलिस अधीकक्ष गौतम बोराले बीबीसीलाई भने, ‘महिला सब-इन्स्पेक्टर जुनमोनी राभालाई विभिन्न अभियोगमा पक्राउ गरिएको हो। यति धेरै अभियोगहरु फोनबाट बताउन सम्भव नहोला तर मुख्यतः उनलाई षड्यन्त्र र ठगी गरेको आरोपमा पक्राउ गरिएको हो।’

माजुलीमा पोस्टिङका क्रममा यी महिला प्रहरी अधिकृतले आफ्ना मंगेतरसँग मिलेर धेरैलाई ‘ठगी’ गरेको प्रहरीको आरोप छ। यसअघि ठेकेदारहरु रामअवतार शर्मा र अजित बोराले जुनमोनी राभाका मंगेतर राणा पोगागविरुद्ध आर्थिक ठगी गरेको आरोपमा छुट्टाछुट्टै उजुरी दिएका थिए।

जुनमोनी राभाले नै आफूहरुलाई राणा पोगागसँग भेट गराएको उनीहरुको आरोप छ। राभाकै कारण आफूहरुले तेल तथा प्राकृतिक ग्यास निगम (ओएनजीसी)को ठेक्का पार्न पोगागलाई पैसा दिएको उनीहरुले बताएका छन्। उजुरीमा राभाको नाम पनि उल्लेख भएपछि माजुली प्रहरीले  राभालाई शुक्रवार सोधपुछ गरेको थियो भने शनिवार गिरफ्तार गरेको थियो।

राणा पोगागले जुनमोनीको बैंक खातामा ठगीको पैसा जम्मा गर्ने गरेको उजुरीमा उल्लेख छ। जसमा माजुलीको कनाडा बैंक खातामा ११ लाख ३३ हजार रुपैयाँ र एक्सिस बैंकको खातामा ९ लाख १४ हजार रुपैयाँ लिएको आरोप छ।

जुनमोनीका मंगेतर पोगाग अहिले नौगांव चौकीमा छन्। जुनमोनी र राणाले गत वर्ष अक्टोबरमा इन्गेजमेन्ट गरेका थिए। र, यसै वर्षको नोभेम्बरमा विवाह गर्ने उनीहरुको तयारी थियो। तर, त्यसअघि जुनमोनी राभाले गत महिना पोगागलाई ठगीलगायतका विभिन्न आरोपमा आफैले नौगांव प्रहरी चौकीमा उजुरी दिएकी थिइन्।

ठगीलगायतका आरोप लगाउँदै उनले इन्गेजमेन्टपछि मात्र आफूले जीवनसाथी बनाउन लागेको व्यक्ति वास्तवमा ठग भएको थाहा पाएको मिडियामा बताएकी थिइन्। पहिलो भेटमा राना पोगागले आफूलाई ओएनजीसीको जनसम्पर्क अधिकारी भएको बताएको र त्यसबाट आफू प्रभावित भएको समेत जुनमोनीले बताएकी थिइन्।

तर, अहिले जुनमोनीको गिरफ्तारी र उनीमाथि लगाइएका तमाम आरोपले उनलाई पोगागको ठगीसँग जोडिएका कामको बारेमा पहिल्यै थाहा भएको तथ्यलाई औँल्याएको छ। उनीमाथि प्रहरीले लगाएको आरोप अनुसार जुनमोनी आफैँ पोगागसँग मिलेर ठगी गर्ने गरेको र माजुलीका धेरैसँग लाखौँ रुपैयाँ ठगी गर्ने गरेकी थिइन्।

यसै वर्षको जनवरीमा जुनमोनीले सत्तारुढ बीजेपी विधायक अमिय कुमार भुइयालाई जनप्रतिनिधिको जिम्मेवारी बुझाउँदै गरेको टेलिफोन संवाद सार्वजनिक भएपछि पनि उनको निकै प्रशंसा भएको थियो। फोनमा भएको कुराकानीको क्लिप मिडियामा बाहिरिएपछि निकै खैलाबैला मच्चिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell