PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

अर्थमन्त्री शर्माको आश्वासन : कृषि मेसिनरी उद्योग सञ्चालन गर्नुस्, कच्चा पदार्थमा पर्याप्त छुट हुनेछ



पहिलोपोस्ट

अर्थमन्त्री शर्माको आश्वासन : कृषि मेसिनरी उद्योग सञ्चालन गर्नुस्, कच्चा पदार्थमा पर्याप्त छुट हुनेछ
फाइल फोटो।

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले किसानहरु हेपिएर देश बन्न नसक्ने बताएका छन्। आइतवार नेपाल कृषि मेशिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताए।

उनले किसानहरुले दुखेसो गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने बताए। उनले देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय संकल्प र त्यसप्रकारको नीतिको अभाव रहेको बताए।

मन्त्री शर्माले किसानलाई सम्मान र आदर गर्ने संस्कार बसाल्नुपर्नेमा जोड दिए। उनले कृषि क्षेत्रलाई प्रवर्द्धन गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताए।

उनले भने, ‘हामीसँग हामीलाई पुग्न सक्ने धान उत्पादन गर्न सक्ने खेतहरु छन् पर्याप्त मात्रामा। तरकारी उत्पादन गर्ने बारीहरु छन्। हामीलाई पुग्ने फलफुल रोप्ने बारीहरु, पाखाहरु छन्। हामीसँग कमी छैन। जनशक्तिको समस्या हामीलाई होइन। ठूलो जनशक्ति आज विभिन्न मुलुकहरुमा पठाइरहेका छौँ। अभाव हाम्रो एउटा राष्ट्रिय संकल्पको अभाव, नीतिको अभाव, त्यो खालको कार्यक्रमको अभाव हो। त्यो खालका कार्यक्रम सञ्चालन गर्ने संस्थाहरुको क्षमताको अभाव हो।।’

अर्थमन्त्री शर्माले नेपालमा आवश्यक कृषि मेशिनरी नेपालमै उत्पादन गर्नुपर्ने बताए। कृषि मेशिनरी उद्योग खोल्न आग्रह गर्दै उनले आवश्यक कच्चा पदार्थहरुमा पर्याप्त भन्सार छुट दिइने बताए।

उनले भने, ‘अब त कोदालाका बिड पनि बाहिरबाट आउन थाल्यो। त्यो चाहीँ अब हुँदैन। बिड बनाउनुस् बाहिरबाट आउनुभएन। कुटा यही बनाऔँ बाहिरबाट आउनुभएन। कोदाला यही बनाऔँ बाहिरबाट आउनुभएन। मेशिनरी बनाउनु पनि पर्‍यो। यो माग नगर्नुस् कि हामी सबै बाहिरबाट ल्याउनुपर्छ भन्ने माग गर्नुभयो भने हाम्रो कुरा मिल्दैन। हामी बनाउँछौ भन्नुस्। उद्योगहरु सञ्चालन गरौँ। कच्चा पदार्थमा तपाईहरुलाई पर्याप्त छुट हुन्छ। भन्सार लाग्दैन।’

उनले कृषिमा उत्पादकत्व वृद्धिका लागि मलको आपूर्ति, प्रविधिहरुको हस्तान्तरण र सिँचाइको व्यवस्था लगायतका कामहरुलाई एकीकृत गरी लैजानु आवश्यक रहेको उल्लेख गरे। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell