बुटवल : आइतवार बिहान रुपन्देहीको रोहिणी गाउँपालिका-३ र ओमसतिया गाउँपालिका-४ को सिमामा पर्ने रोहिणी खोलाको पुलबाट ३३ जना सवार रात्रिबस खोलामा खस्यो। जनकपुरबाट भैरहवा आउँदै गरेको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु २ ख ३८४१ नम्बरको बस आइतवार बिहान करिब पौने ५ बजे खोलामा खस्दा ९ जनाको मृत्यु भयो भने चालकसहित २४ जना यात्रु घाइते भए।
बुटवल-नारायणगढ सडकखण्ड लामो समयदेखि निमार्णाधिन अवस्थामा रहेको छ। सडक चौडा र ठाउँठाउँमा पुल निर्माणको काम भइरहेको छ। पूर्वबाट भैरहवा आउने गाडीहरुको आधिकारीक रुट नारायणगढबाट बुटवल हुँदै भैरहवा हो। तर, आइतवार बिहान दुर्घटना भएको बस पश्चिम नवलपरासीको भूमहीबाट पूर्व-पश्चिम राजमार्ग छाडेर ‘रुट’ परिवर्तन गरि हुलाकी राजमार्ग हुँदै भैरहवातर्फ जाँदा दुर्घटना भएको छ।
भैरहवा पुग्न करिब साढे ३ किलोमिटर दुरी बाँकी रहँदा बस खोलामा खसेको हो। प्रायः गरी यो सडक भारतबाट बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेर काठमाडौं र पूर्व जाने मालबाहक गाडीहरुले बढी प्रयोग गर्छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरन्त पौडेलले भैराहवा-परासी हुलाकी राजमार्ग लामो दुरीका गाडीहरूको आधिकारिक रुट नभएको जानकारी दिए। रुपन्देहीको भैरहवा, लुम्बिनी क्षेत्रबाट छुट्ने लामो दुरीका गाडीहरु बुटवलको राजमार्ग चौराहा हुँदै पूर्व लाग्नुपर्छ।
‘यो भैरहवा-परासी रुटमा चल्ने गाडीहरू र ठूला मालबहाक गाडीहरूले प्रयोग गर्ने सडक हो,’ डीएसपी पौडेलले भने, ‘गाडी आफ्नो लेनबाट नभई अर्को लेनमा पुगेर पुलको रेलिङ तोडेर खोलामा खसेको छ। बाँया लेनबाट हिँडेको गाडी दाँयालेनको रेडिङ भाँचेर पुलबाट खसेकोले चाकल निदाएको र गाडी नियन्त्रणबाहिर गएकोले दुर्घटना हुन पुगेको प्रारम्भिक अनुमान गरेका छौँ। खास के कारणले दुर्घटना भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’
गत वर्ष बाढीले देवदह र भलुहीमा पुल भाँचिएर सडक अवरुद्ध भएपछि बुटवल-नारायणगढ सडकखण्डमा चल्ने लामो दुरीका गाडीले यही सडक प्रयोग गरेर हिँडेका थिए। त्यसपछि पनि सहजताका लागि चालकहरुले यो सडक प्रयोग गर्दै आएको पाइएको छ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले बुटवल-नारायणगढ सडक निर्माणाधिन रहेकोले यात्रुलाई सहज होस् भनी बसले रुट परिवर्तन गरी बुटवल नआई हुलाकी राजमार्ग हुँदै भैरहवातर्फ लागेको हुनसक्ने बताए।
‘पूर्वबाट बुटवल, भैरहवा र लुम्बिनी क्षेत्रमा छुट्ने गाडी बुटवल हुँदै भैरहवा जानुपर्ने हो’, अध्यक्ष खरेलले भने, ‘चालकले यात्रुलाई सहज होस् भन्ने उद्देश्यले रुट परिवर्तन गरी हुलाकी राजमार्ग हुँदै भैरहवातर्फ गएको देखिन्छ।’
वातावरणकुलित उक्त बस शनिवार साँझ ५ बजे जनकपुरबाट २० जना यात्रु लिएर भैरहवाका लागि छुटेको चलानीमा उल्लेख छ। उक्त गाडी बुटवलबाट जनकपुर जाँदा भने ‘रिजर्भ’ गएको थियो।
९ जना मृतकमध्ये एक जना पुरूषबाहेक अन्य ८ जनाको सनाखत भएको छ। सनाखत हुनेहरूमा रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल, तिलोत्तमा २ योगिकुटीका ५६ वर्षीय विष्णु पौडेल, तिलोत्तमा-८ की ३७ वर्षीय तुल्सी पौडेल, ओमसतिया गाउँपालिका-४ मटेरियाका राजेन्द्र प्रसाद पाण्डे, रौतहट चन्द्रनिगाहापुरका २० वर्षीय दिनेश दास, भारत घर भएका नागेन्द्र शर्मा, अरबिन्द शर्मा र सञ्जय गुप्ता रहेका छन्। बसमा सवार ३३ जना मध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका छन्। घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ।
दुर्घटनामा परी घाइते भएका धनुषाको हंसपुर नगरपालिका-३ बस्ने १८ वर्षीय मुफिद मन्सुरी, बाराको जितपुर सिमरा उपमहानगरपालिका-१३ का १८ वर्षीय रोहन चौधरी, १८ वर्षीय सतेन्द्र चौधरी, १५ वर्षीय बरुण चौधरी, सिरहाको सिरहा नगरपालिका-९ का ३१ वर्षीय राकेश कुमार दास, गाडीका सहचालक कपिलवस्तु बाणगंगा नगरपालिका-५ बस्ने २९ वर्षीय तुलसीराम चौधरी, धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२२ का ३९ वर्षीय बिनोद मुखियाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।
त्यसैगरी, रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-११ का २८ वर्षीय रियाज जुल्लाह मुसलमान, सोही नगरपालिका-६ का १६ वर्षीय सहेजाद मुसलमान, बस चालक तिलोत्तमा नगरपालिका-३ शंकरनगर बस्ने ३६ वर्षीय सुमन क्षेत्री, लुम्बिनी साँस्कृतिक नगरपालिका-३ बस्ने २० वर्षीय राजेश यादव, रौतहटका २२ वर्षीय वकिल दास हात, झापाका ६० वर्षीय जयाप्रसाद चापागाईं, झापाकै ५६ वर्षीया तुलसा चापागाईं, भारतको जनकपुरग्राम बस्ने २८ वर्षीय गौरव सिंह, भारतकी ३२ वर्षीया सीता शर्मा, भारतकै ५ वर्षीया की सन्दिपा शर्मा, ४ वर्षीय यश शर्माको पनि मेडिकल कलेजमै उपचार भइरहेको छ।
त्यस्तै, धनुषाको जनकपुरधामकी ३५ वर्षीया अञ्जली कामी, २२ वर्षीया रिंकी यादव, रुपन्देही तिलोत्तमा नगरपालिका-३ बस्ने २२ वर्षीय बिपिन बस्याल, सिरहाको सिरहा नगरपालिका-९ बस्ने ३१ वर्षीय राकेश कुमार दास, रौतहटको श्रीनगर बस्ने २२ वर्षीय रामजनम दास, र महोत्तरीका २९ वर्षीय साबिर अन्सारीको पनि मेडिकल कलेजमै उपचार भइरहेको छ।