PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

भैरहवाबाट श्रम गन्तव्य देश आउजाउ गर्ने यात्रु बढे, सातै दिन उडानको तयारी



पहिलोपोस्ट

भैरहवाबाट श्रम गन्तव्य देश आउजाउ गर्ने यात्रु बढे, सातै दिन उडानको तयारी

काठमाडौंः गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए) बाट रोजगार गन्तव्य मुलुकहरुमा आउजाउ गर्ने यात्रुको संख्या बढ्न थालेको छ।

तीन साताअघिदेखि व्यवसायिक उडानका लागि खुला भएको यो विमानस्थलबाट श्रम मुलुकतर्फ आउजाउ गर्ने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गएको विमानस्थल प्रमुख गोविन्दप्रसाद दाहालले बताए।

आइतबार जेठ २२ मा पनि जजिरा एयरबाट १०६ जना भैरहवा विमानस्थल नेपाल आइपुगेका छन्। फिर्ता उडानमा अझ 'फुल अकुपेन्सी' थियो, जसबाट एक सय ५५ जना कुवेत उडेका छन्।

अहिले एउटा मात्र अन्तरराष्ट्रिय वायुसेवा (जजिरा एयरवेज) ले भैरहवा विमानस्थलबाट सेवा सञ्चालनमा ल्याएको छ। त्यसका बाबजुद बढेको यात्रुको प्राथमिकताले यस विमानस्थलमा अन्य वायुसेवाका लागि पनि सकारात्मक व्यवसायिक सम्भावना देखाएको छ।

सरकारले वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा प्रवाह गर्ने सरकारी निकाय भैरहवाबाट पनि सञ्चालनमा शीघ्र ल्याउने हो भने श्रम गन्तव्य मुलुकहरुमा आउजाउ गर्ने नेपालीका लागि यो प्राथमिकताको गेटवे बन्न सक्ने समेत सम्भावना छ।

'अहिले एउटा वायुसेवा कम्पनीले उडान सेवा दिइरहेको छ। बाँकी एक दर्जनभन्दा बढी कम्पनीले चासो देखाएका छन्। तर औपचारिक प्रवेश भने हुन बाँकी नै छ,' विमानस्थल प्रमुख दाहालले भने, 'एउटा वायुसेवा मात्र हुँदा पनि यो विमानस्थल भएर श्रम गन्तव्य जाने यात्रु संख्या बढ्नु उत्साहजनक छ।'

अन्तर्राष्ट्रिय उडानका लागि यतिखेर म्यानमार, दक्षिण कोरियालगायत विभिन्न मुलुकका राजदूत भैरहवा विमानस्थल अवलोकनका लागि आउने क्रमम पनि जारी रहेको उनले जानकारी दिए।

विमानस्थलमा हेल्थ डेस्क र श्रम स्वीकृतिको सुविधा लागू भएको अवस्थामा यात्रु र उडान संख्या थप बढ्दै जाने दाहाल बताउँछन्।

अहिलेको मागले निरन्तर गति लिएको अवस्थामा जीआईएबाट डेढ महिनाभित्रै साताको सात वटा उडान गर्ने तयारी रहेको सोसाइटी इन्टरनेश्नल ट्राभलका अध्यक्ष रविचन्द्र सिंहले बताए। सोसाइटी जजिराको नेपालको जनरल सेल्स एजेन्ट (जीएसए) हो।

२ जेठबाटै व्यवसायिक उडान सुरु गरेको जजिरा एयरमा यात्रु अकुपेन्सी उत्साहजनक रहेको जानकारी सोसाइटीले दिएको छ।

सिंह भन्छन्, 'अहिले काठमाडौंकै एजेन्सीमार्फत हामीलाई सपोर्ट भइरहेको छ। पिकअप निकै राम्रो छ। साउनबाट भैरहवाबाटै श्रम खुलाउने भनिएको छ। त्यसपछि यात्रुको माग थप बढ्ने हाम्रो विश्वास छ।'

कम्पनीले यतिखेर रातिको उडान तालिकालाई छिट्टै बिहान सार्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए। उडानको दिन बिहान ७ बजेका लागि समय तालिका तय गर्न लागिएको छ।

यसैगरी, विदेशमा भ्रमण गर्न जाने नेपालीको इन्क्वाइरी पनि उत्तिकै राम्रो रहेको उनले जानकारी दिए।

'अहिले ट्राभलरका लागि फोरेक्सको समस्या छ। नत्र यो समय विदेश भ्रमणका लागि जाने नेपालीको संख्या धेरै हुन्थ्यो। तर रेस्पोन्स राम्रो आरहेको छ।' उनले भने।

स्विटजरल्याण्ड-बेस्ड विज होल्डिङ्सअन्तर्गतको अल्ट्रा बजेट एयरलाइन्स 'विज एयर'ले पनि सेप्टम्बरबाट जीआईएलाई नै गन्तव्य बनाएर उडान थाल्ने तयारी गरेको छ। यो एयरलाइन्सको जीएसए पनि सोसाइटी नै हुने भएको छ।

विज एयरले सेप्टेम्बरबाट साताको सातवटा उडान तालिका पाइसकेको छ। यस वायुसेवा कम्पनीले एयरबसको ए ३२१ निओ सेरिजको जहाज सञ्चालनमा ल्याउने योजना बनाएको बुझिएको छ। विजले ल्याउने एक सय ९० सिटे यो जहाज नेपाली आकाशमै पहिलोपटक भित्रिन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell