PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

पोर्चुगलको फराकिलो जितमा रोनाल्डोको दोहोरो गोल



पहिलोपोस्ट

पोर्चुगलको फराकिलो जितमा रोनाल्डोको दोहोरो गोल
Photo: UEFA

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'बी'को खेलमा पोर्चुगलले स्वीजरल्याण्डमाथि फराकिलो जित निकालेको छ। पोर्चुगलस्थित स्टेडियो जोस अल्भालेडमा सम्पन्न खेलमा घरेलु टोलीले स्वीजरल्याण्डलाई ४-० गोलअन्तरले हराएको हो।

खेलको १५ औं मिनेटमा विलियम कार्भल्होको गोलमा अग्रता बनाएको पोर्चुगलका लागि दोस्रो गोल क्रिस्टियानो रोनाल्डोले खेलको ३५ औं मिनेटमा गरे। त्यस्तै ३९ औं मिनेटमा रोनाल्डोले नै अर्को गोल थप्दा पहिलो हाफमा पोर्चुगल तीन गोलले अघि रह्यो। दोस्रो हाफमा जोआओ क्यान्सेलोले गोल थप्दा पोर्चुगल ४-० को फराकिलो अन्तरले विजयी भयो। उनले खेलको ६८ औं मिनेटमा गोल गरेका थिए।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा स्पेन र चेक रिपब्लिक बराबरीमा रोकिए। चेक रिपब्लिक स्थित एडन एरेनमा सम्पन्न खेलमा २-२ गोलअन्तरको बराबरीमा रोकिए। चेक रिपब्लिकका लागि जाकुब पेसेक र जान कुच्टाले गोल गर्दा स्पेनका गाभी र इनिगो मार्टिनेजले गोल गरे।

यो सँगै समूहको दोस्रो चरणको खेल सकिँदा समान ४ अंक जोडेका पोर्चुगल र चेक रिपब्लिक पहिलो र दोस्रो स्थानमा छन् भने २ अंक जोडेको स्पेन तेस्रो तथा अंकविहीन स्वीजरल्याण्ड तालिकाको पुछारमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell