PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नजिकिँदै एसिया कप छनोट : के अलमुताइरीले भने झैं नेपालको हार्ने तयारी हो?



मुकुन्द घिमिरे

नजिकिँदै एसिया कप छनोट : के अलमुताइरीले भने झैं नेपालको हार्ने तयारी हो?

काठमाडौं : नेपाली फुटबल टोली कतारमा १० दिन तालिम र तीन वटा अभ्यास खेल सकेर यतिबेला एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा छ। टोलीले शनिवार कुवेत सिटीमा रहेको अहमादीस्थित अल शवाव स्टेडियममा पहिलो दिनको अभ्यास सत्र पूरा गर्‍यो।

सोमबारसमेत सोही मैदानमा अभ्यास गर्ने कार्यतालिका रहेको छ। उसो त कतार उड्नुअघि नेपालमा रहेका विदेशी खेलाडीको टिमसँग पनि अभ्यास खेल खेलेको थियो। तर, नेपालले यहाँ हुँदा होस् या कतार पुगेर - सबै खेल क्लोज डुअरमा खेल्यो।

टिमोर लेस्टेसँग २-२ को बराबरी खेलेको नेपालले श्रीलंकासँग १-१ को बराबरी र ओमनसँग २-० गोलअन्तरको पराजय ब्यहोरेको थियो। नेपाली टोलीमा कुनै चोट नरहेको र उच्‍च लयमा रहेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

अब, एसिया कप छनोट अन्तर्गत नेपाली टोली एक साता खेल्नेछ। समूह ए मा रहेको नेपालले प्रतिस्पर्धीका रुपमा जोर्डन, कुवेत र इन्डोनेसियालाई पाएको छ। जोर्डन र कुवेतसँग नेपालले यसअघिको चरणमा पनि खेलेको थियो भने इण्डोनेसियासँग पनि नेपालले प्रतिस्पर्धा गर्नेछ।

किचलोपछिको नयाँ टिम

नेपाली फुटबल टोलीको विवाद अझै सकिएको छैन। होस्टलमा खानेबस्नेको समस्या खेलाडीले उठाएपछि सुरु भएको विवादमा बन्द प्रशिक्षणमा रहेका १० खेलाडी राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए।

ती दश जना खेलाडी र उनीहरुलाई समर्थन गरेका नियमित कप्तान किरण चेम्जोङसमेत गरि लगभग सुरुवाती ११ मै देखिने खेलाडीहरु यसपाला टिममा छैनन्। उक्त विवाद बढ्दै जाँदा छानविन समितसमेत गठन भयो। र, उक्त समितिले एन्फालाई सुझावहरु पनि दिएको थियो।

हाल टोलीमा २३ खेलाडीसहित नौं अफिसियल छन्।

प्रशिक्षण सुरु भएकै दिन हार स्वीकार!

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वैशाख २ गतेबाट प्रशिक्षण सुरु गरेका थिए। भलै प्रशिक्षणमा रहेका सिनियर खेलाडीले क्याम्प छाडेपछि नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए।

तर, पहिलो दिनको प्रशिक्षण सकेसँगै अलमुताइरीले नेपाल एसिया कपमा छनोट हुन नसक्ने स्पस्ट पारेका थिए। उनले एएफसी कपमा छनोट हुने भनेर वाचा गर्न नसक्ने बताउँदै आफ्नो तर्फबाट राम्रो 'फाइट' गर्ने बताए।

'हाम्रो लक्ष्य भनेको यथार्थमा भन्ने हो भने हामी छनोट हुन सक्दैनौं। किनभने हामी धेरै टाढा छौं। तर, सपना देख्न सकिन्छ तर यथार्थमा धेरै गाह्रो छ। जर्सी, किट्स हुँदैमा एसिया कपमा छनोट हुन सकिँदैन,' अलमुताइरीले भनेका थिए, 'यसका लागि धेरै काम गर्नुपर्छ। हामीले ट्रेनिङ क्याम्प सुरु गरेका छौं। तर हामीले कडा प्रतिस्पर्धा गर्नेछौं। हामी फाइट गर्नेछौं। तर धेरै आशा राख्नु ठीक हुँदैन। हामी यथार्थमा रहनुपर्छ।'

अलमुताइरीले नेपाली टोली रहेको समूह 'ए' लाई ग्रुप अफ डेथका रुपमा ब्याख्या गरेका थिए।

कस्ता छन् प्रतिस्पर्धी?

नेपाली टोलीले जोर्डनसँग २५ गते, कुवेतसँग २८ गते र इन्डोनेसियासँग ३१ गते प्रतिस्पर्धा गर्दैछ। फिफा वरीयतामा १६८ औं स्थानमा छ नेपाल। त्यस्तै इण्डोनेसिया १५९ औं, कुवेत १४६ औं र जोर्डन ९१ औं स्थानमा छन्। इण्डोनेसियाले पछिल्लो खेलमा टिमोर लेस्टेलाई हराएको थियो भने त्यसअघि थाइल्याण्डसँग बराबरी खेलेको थियो।

त्यस्तै जोर्डनले पछिल्लो खेलमा अस्ट्रेलियासँग २-१ गोलअन्तरले पराजय व्योहर्दा भारतलाई २-० र न्युजिल्याण्डलाई ३-१ गोलअन्तरले हराएको थियो। कुवेतले यसअघिका खेलमा सिंगापुरलाई २-० गोलले हराउँदा त्यसअघि माल्टासँग २-० गोलकै पराजय ब्यहोरेको थियो।  

नेपाली टोलीका प्रशिक्षक अमुताइरीकै विश्लेषण मान्ने हो भने यी तीनवटै टिमसँग युरोपमा लिग खेलिरहेका प्रोफेसनल खेलाडी छन्। र, नेपालले गर्नसक्ने भनेको कडा चुनौती दिएर सुन्दर खेल पस्कनेमात्रै हो।

'इन्डोनेसियाको राष्ट्रिय टोलीमा युरोपमा खेलिरहेका धेरै खेलाडी छन्। आयोजक कुवेतको वातावरण हाम्रो फेभरमा हुनेछैन। जोर्डन एसियाकै ठूलो टिममध्येको एक हो। हामी फाइट गर्नेछौं। तर, हामी यथार्थमा रहनुपर्छ,' उनले प्रशिक्षणका क्रममा भनेका थिए, ' नेपालको एसिया कपमा छनोट हुने कुनै सम्भावना छैन। जोर्डन राष्ट्रिय टोलीमा १७ जना प्रोफेसनल खेलाडी छन् इन्डोनेसियाका १० खेलाडी युरोपमा खेलिरहेका छन्।'

प्रतियोगितापछि अन्योलमा अलमुताइरीको करियर  

नेपालमा प्रशिक्षक भएर आएयता प्रशंसा र चर्चा पाएका अलमुताइरीको एसिया कप छनोटपछि नेपालमा करियर के हुने भन्ने स्पस्ट छैन। मुख्य प्रशिक्षक अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबिचको विवाद छानबिन गर्न बनेको समितिले खेलाडी प्रशिक्षक विवादबारे अखिल नेपाल फुटबल संघ एन्फालाई बुझाएको थियो।

एन्फाले बैशाख २५ गते आर्मीका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय समितिले २८ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो। ४ गते एन्फा महासचिव इन्द्रमान तुलाधरले प्रतिवेदन ग्रहण गरेका थिए।

उक्त प्रतिवेदनले एन्फालाई मुख्य प्रशिक्षकको विकल्प खोज्न एन्फालाई सुझाव दिएको थियो।

'मुख्य प्रशिक्षकको स्वास्थ्य स्थितिले गर्दा उत्तेजक र तनावमा देखिनु, स्वास्थ्य परीक्षणको लागि बिदा स्वीकृत रहेको अवस्था, फरक सामाजिक र सांस्कृतिक परिवेश, बारम्बार विवाद, तथा सामाजिक संजालमा अनावश्यक टिकाटिप्पणी जस्ता क्रियाकलापले गर्दा राष्ट्रिय टिममा स्वच्छ वातावरण नभएको देखिन्छ,' उक्त प्रतिवेदनमा भनिएको छ, 'यस्तो अवस्थामा भविष्यमा अरु समस्या उब्जने प्रवल सम्भावनालाई समेत नकार्न सकिँदैन। तसर्थः एसिया कप छनौट प्रतियोगितापछि कतार एफएसँगको सहयोगलाई निरन्तरता र सहमति कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिन्छ।'

त्यसअघि पनि वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसँगको विवादपछि युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको समितिले पनि अलमुताइरीलाई आचरण सुधार गर्न सुझाव दिएको थियो। त्यसो उनको करियर लम्बिने या नलम्बिने भन्ने थाहा पाउन एन्फाको असार ६ गते हुने निर्वाचनको परिणाम कुर्नैपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell