PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

किन मन्त्री फेर्ने निर्णयमा पुगे माधव नेपाल?



प्रकाश भण्डारी

किन मन्त्री फेर्ने निर्णयमा पुगे माधव नेपाल?

काठमाडौं : नेकपा एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य राज्यमन्त्री बन्नुअघि भवानी खापुङले मन्त्री नबन्ने अडान लिए। आफ्नो भागमा राज्यमन्त्री परेपछि असन्तुष्ट थिए खापुङ। 'विरोध खतिवडा बाहेकको राज्यमन्त्री बन्दिनँ,' २०७८ असोज २२ गते राज्यमन्त्री बन्नुअघि खापुङले भनेका थिए।

रामकुमारी झाक्री स्वास्थ्य मन्त्री बन्ने र उक्त मन्त्रालयमा राज्यमन्त्री खापुङ हुने तय भएको थियो। तर, खापुङले झाक्रीले सम्हाल्ने मन्त्रालयको राज्यमन्त्री नबन्ने अडान लिए। पछि स्वास्थ्य मन्त्री खतिवडा बने र राज्यमन्त्री खापुङ।

खापुङको अडानका कारण झाक्री र खतिवडाको मन्त्रालय नै अदलबदल भयो त्यतिबेलाको मन्त्रिपरिषद बिस्तारमा। तिनै खापुङ अब बढुवा भएर स्वास्थ्य मन्त्री बन्ने तय हुँदा खतिवडा र झाँक्रीले भने बाहिरिनुपर्ने भएको छ। पर्यटन मन्त्री प्रेम आले र श्रम मन्त्री किसान श्रेष्ठ पनि बाहिरिने भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वसको मत दिँदा र पार्टी विभाजनमा साथ दिएको भन्दै आले र श्रेष्ठलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पहिलो चरणमै मन्त्री बनाएका थिए। तर ८ महिनामा सत्तारुढ दलका अरु पार्टीले मन्त्री हेरफेर नगर्दा नेपालले भने सेट नै फिर्ता बोलाएको बताएका छन्। जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुवरलाई श्रम, भवानी खापुङलाई स्वाथ्य, मेटमणि चौधरी शहरी विकास र हिरा केसी स्वास्थ्य राज्यमन्त्रीका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम सिफारिस गरिएको छ।

किन फेरिए मन्त्री?

६ महिनाका लागिमात्रै मन्त्री बनाएको तर ८ महिना नै भइसकेकाले सबै मन्त्री फेरेको एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताएका छन्। '६ महिनाका लागि बनाइएको हो। ८ महिना भइसक्यो। टिम नै फेरेका छौ। काम कारवाहीका विषय पनि यो सँग जोडिने भए,' उनले भने।

नेपालले मन्त्रीको पर्फमेन्सलाई भन्दा पार्टी भित्रको असन्तुष्टिलाई साम्य पार्न पनि मन्त्री फेर्ने निर्णयमा पुगेको नेताहरुले बताएका छन्। पार्टीका आन्तरिक बैठकमा सरकारमा सहभागी मन्त्रीको भूमिकालाई लिएर आलोचना हुने गरेको थियो।

'अहिले भएका मन्त्रीले गरेको भन्दा पनि राम्रो काम गर्नुस् भनेर जिम्मेवारी हामीलाई दिइएको हो,' मन्त्रीका लागि सिफारिसमा परेका एक नेताले भने।

असन्तुष्टि मिलाउन ६ महिनाका लागि मन्त्री

यसै वर्ष प्रतिनिधि र प्रदेश सभाको चुनाव हुने छ। निर्वाचन आयोगले सांसदहरुको ५ वर्षेकाल मंसिरमा सकिने भएकाले मंसिरभित्रै चुनाव गर्नुपर्ने भन्दै आन्तरिक तयारी गरिरहेको छ। यस हिसाबले हेर्द मंसिरमा चुनाव भए समाजवादीबाट मन्त्री हुनेहरुको कार्यकाल ६ महिनाको हुने छ। ६ महिनाका लागि भए पनि मन्त्री फेर्नुको अर्को कारण हो - पार्टी भित्रको असन्तुष्टि मिलाउन। अहिले मन्त्री हुनका लागि सिफारिसमा परेका हरु अघिल्लोपटक पनि मन्त्रीका लागि आकांक्षी थिए। मेटमणी चौधरीले आफूलाई मन्त्री नबनाइएको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका थिए त्यतिबेला।

पछि नेपालले चौधरी लगायतका नेतालाई अर्कोपटक मन्त्री बनाउने आश्वसन दिएर पार्टी विवाद मिलाएका थिए। मन्त्री आले र श्रेष्ठलाई मन्त्री बनाउन नहुने भन्दै त्यतिबेला पनि समाजवादीभित्र चर्को आवाज उठेको थियो। तर नेपालकै अडानका कारण दुई नेता मन्त्री बनेको नेताहरु बताउँछन्। त्यतिबेला अप्ठेरोमा गुन लगाएको भन्दै उनीहरुलाई आफूले रोक्न नमिल्ने नेपालले पार्टी नेतालाई बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell