PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

भारतसँग रुष्ट बन्दै अरबी देश, पैगम्बरप्रतिको विवादित बयान मोदीलाई कति भारी पर्ला?



पहिलोपोस्ट

भारतसँग रुष्ट बन्दै अरबी देश, पैगम्बरप्रतिको विवादित बयान मोदीलाई कति भारी पर्ला?
Photo : Reuters

यतिखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारसँग खाडी देशहरु रुष्ट बनेका छन्। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ता नूपुर शर्माले पैगम्बर मोहम्मदमाथि विवादित बयान दिएपछि मुस्लिम देशहरु भारतविरुद्ध उभिएका हुन्।

एक टेलिभिजन डिबेटमा नूपुरले पैगम्बरविरुद्ध अपमानजनक टिप्पणी गरेकी थिइन्। हिन्दुहरुको आस्थामाथि केही व्यक्तिहरुले ठट्टा गरिरहेको भन्दै उनले पैगम्बरविरुद्ध बोलेकी थिइन्। उनको सो अभिव्यक्तिको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो। उनकै अभिव्यक्तिका कारण भारतका कयौं शहरमा प्रदर्शन समेत भएको थियो। त्यसबेलासम्म भाजपाले यस विषयमा कुनै कारवाही गरेको थिएन।

तर, जब अरब देशले पैगम्बरविरुद्धको बोलीको आलोचना गर्न थाल्यो अनि भाजापा एक्सनमा उत्रियो। भाजपाले नुपूरलाई पार्टीको प्राथमिक सदस्यबाट निलम्बित गरेको छ। यस्तै, दिल्ली मिडिया सेलका भाजपा प्रमुख नवीनकुमार जिंदललाई कारवाही गर्दै पार्टीबाट निस्कासित गरेको छ। नविनले पनि पैगम्बरविरुद्ध अभिव्यक्ति दिएका थिए। अहिले भने दुवैजनाले आफ्नो अभिव्यक्ति फिर्ता लिएको भन्दै माफी मागेका छन्।

यसअघि पनि भाजपाका नेताहरुले मुस्लिम समुदायप्रति लक्षित गर्दै अपमानजनक टिप्पणी गर्दै आएका थिए। तर, भाजपाले कुनै पनि नेता कार्यकर्ताविरुद्ध कारवाही गरेको थिएन। तर, यसपटक अरबी देशहरुले भारतलाई घेर्न थालेपछि भाजपा कारवाही गर्न बाध्य भएको हो।

कतार र कुवेतले भारतीय राजदूतलाई यस विषयमा स्पष्टीकरण दिन ‘अफिसियल नोट’ नै दियो। यो प्रकरण तब भयो जब भारतीय उपराष्ट्रपति वेंकैया नायडू कतार भ्रमणमा थिए। उपराष्ट्रपति कतारमा रहँदा कतारको विदेश मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण सोधेको थियो। त्यस क्रममा राजदूत दीपक मित्तलले केही अस्थिर व्यक्तिको टिप्पणीको भारत सरकारले विरोध गर्ने र टिप्पणी गर्नेहरुलाई कारवाही गरिसकेको जवाफ दिएका थिए। उनले भारत सबै धर्मको समानताको पक्षमा रहेको बताएका थिए।

कुवेतले पनि नुपूरको विवादित बयानको विरोध जनाएको छ। भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण सोधेको कुवेतले नुपूरमाथि गरिएको कारवाहीको स्वागत गरेको छ।  

कतार र कुवेतसँगै यस मुद्दामा अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओइसी) ले पनि भारतको आलोचना गरेको छ। ओइसीले ट्वीट थ्रेडमा भारतमा मुसलमानविरुद्ध सुनियोजित तरिकाले हिंसा बढिरहेको बताएको छ। हिजाबमाथि प्रतिबन्ध लगाउनु र मुसलमानहरुको सम्पत्तिमाथि आक्रमण भइरहेको घटनालाई उसले उठाएको थियो। ओइसीले पैगम्बरविरुद्ध बोल्ने र मुसलमानमाथि हिंसा गर्नेहरुमाथि कारवाहीको माग गरेको छ।

 

यस्तै, इरान र साउदी अरबले पनि उक्त मुद्दामा विरोध जनाएको छ। 

खाडी देशबाट दबाव बढिरहँदा अहिले भारत सरकारसँगै भाजपा र टेलिभिजन डिबेट संचालन गर्ने च्यानल नुपूरको अभिव्यक्ति उनको व्यक्तिगत भएको भन्दै पन्छिएको छ। हिन्दुवादी पार्टीका रुपमा परिचित भाजपाले यस प्रकरणपछि एक विज्ञप्ति जारी गर्दै भाजपाले सबै धर्मको सम्मान गर्ने र धार्मिक व्यक्तित्वको अपमान गर्ने खालको बयानको आलोचना गर्ने जनाएको छ।

यस मुद्दामा भारतमा मात्र नभइ खाडी देशका नागरिकहरुले पनि सामाजिक संजालमार्फत भारत सरकार र भाजपाको आलोचना गरिरहेको छ। खाडी देशका नागरिकहरुले भारतीय उत्पादनहरुलाई बहिष्कार गर्न आह्वान समेत गरेका छन्।

कहाँबाट सुरु भयो अभियान ?

अरब देशको तर्फबाट नुपूर र नवीन जिंदलविरुद्धको अभियान ओमानका मुफ्ती शेख अहमद बिन हमाल अल खलिलिले सुरु गरेका थिए।

उनले ट्वीट गर्दै भारतको सत्तारुढ दलका प्रवक्ताले इस्लामका दूतविरुद्ध अपमानजनक र अश्लिल टिप्पणी गरेको भन्दै सबै मुस्लिम देशहरुलाई एक साथ उभिन आह्वान गरेका थिए। त्यसपछि अरबी देशहरु भारतविरुद्ध उभिन सुरु भएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell