PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मन्त्री हेरफेर किन रोक्यो एकीकृत समाजवादीले?



प्रकाश भण्डारी

मन्त्री हेरफेर किन रोक्यो एकीकृत समाजवादीले?

काठमाडौं : नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्री हेरफेर गर्ने निर्णय रोकेको छ। आइतवार एकीकृत समाजवादीले अहिलेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो।

निर्णयलगत्तै स्वास्थ्य मन्त्री विरोध खतिवडा र पर्यटनमन्त्री प्रेम आले पार्टी कार्यालय पुगेका थिए। साँझ सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफूलाई पार्टीको निर्णय थाहै नभएको बताएकी थिइन्। तर पार्टीका अध्यक्ष माधव नेपालले भने ६ महिनाका लागि पठाएका मन्त्रीहरु फिर्ता हुने समय आइसकेको बताएका थिए।

पार्टी अध्यक्ष नेपालले नै भनिसकेपछि नयाँ मन्त्रीको सूचीमा परेकाहरु सोमवार सपथको तयारीमा लागेका थिए। एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुवरलाई श्रम, भवानी खापुङलाई स्वाथ्य, मेटमणि चौधरी शहरी विकास र हिरा केसी स्वास्थ्य राज्यमन्त्रीका लागि प्रधानमन्त्री देउवालाई नाम सिफारिस गरिएको थियो। 

स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्री हटाउने निर्णय आफूलाई थाहा नभएको दाबी गरेका छन्। उनले केही समयपछि आफू प्रतिनिधि सभामा जाने र साँझ नै मन्त्रिपरिषदको बैठकमा सहभागी हुने बताए। आफू अहिले मन्त्रालयको काममै रहेकोसमेत उनले बताए।

'म अहिले मन्त्रालयमा छु। पार्लियमेन्टमा जान्छु। ४ बजे क्याबिनेट छ। त्यहाँ जान्छु। मलाई अरु केही थाहा छैन। पार्टीको निर्णय के हो? त्यसबारे पनि मलाई थाहा छैन,' मन्त्री खतिवडाले भने, 'कहाँ कसले निर्णय गर्‍यो भन्ने पनि थाहा छैन। बुझ्नुस् मैले काम गरिरहेको छु। गरिरहन्छु। त्यति हो अहिलेलाई।'

यता पर्यटन मन्त्री बन्ने तयारीमा रहेका जीवनराम श्रेष्ठले भने पार्टीको निर्णय कार्यान्वयन नहुनेमा कुनै शंका नरहेको दाबी गरे। पहिले बनेका मन्त्रीहरु पार्टीकै निर्णयबाट भएकाले अहिले फिर्ता आउन्न भनेर शंका गर्ने ठाउँ नै नभएको उनको तर्क छ।

'निर्णय कार्यान्वयन हुनेमा कुनै शंका नै छैन। पार्टीले निर्णय गरिसकेपछि नहुने भन्ने हुन्छ? पहिला मन्त्री पनि पार्टीले बनाएको हो,' केहीबेर अघि  श्रेष्ठले भनेका थिए, 'अहिले फिर्ता पनि पार्टीले गराएको हो। कसैसँग छलफल गरेर नगरेर भन्ने कुरै आउँदैन। कार्यान्वयन हुन्छ।'

पार्टीका उपमहासचिव गंगालाल तुलाधरले पनि बजेटको समयभरका लागि मन्त्रीहरुले आफूहरुलाई नहटाइदिए हुन्थ्यो कि भन्ने चाहना व्यक्त गरेको बताएका छन्।

बजेटका समयमा आफूले ल्याएका कार्यक्रमको जवाफ दिएर बिदा हुन पाए राम्रो हुने थियो भन्ने धारणा मन्त्रीहरुको रहेको तुलाधरको भनाई थियो। 

यता एकीकृत समाजवादीका मन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले नै हटाउन नचाहेको बताइएको छ। पर्यटनमन्त्री आले र श्रम मन्त्री किसान श्रेष्ठलाई देउवा निकट मानिन्छ। दुई मन्त्रीले यसअघि पनि आफूहरुले राम्रो काम गरेको भन्दै नहटाउन लबिङ गर्दै आएका थिए। बजेटका समयमा सम्बन्धित मन्त्रालयले प्रस्तुत गरेको योजनाको जवाफ दिन अहिलेकै मन्त्रीहरु कायम रहनुपर्ने पक्षमा प्रधानमन्त्री देउवा रहेको बताइएको छ।

यसैबीच बालुवाटारमा शीर्ष नेताहरुबीच बजेटको छलफल चलिरहेको समयमा मन्त्री हेरफेर नगर्ने सहमति जुटेको छ। बैठकले मन्त्रीहरुलाई तत्काल नहटाउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनायो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell