PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मन्त्री हेरफेर बारे मेटमणि चौधरी : पार्टीले निर्णय गरेपछि प्रधानमन्त्रीलाई गर्दिन भन्ने छुट छैन



प्रकाश भण्डारी

मन्त्री हेरफेर बारे मेटमणि चौधरी : पार्टीले निर्णय गरेपछि प्रधानमन्त्रीलाई गर्दिन भन्ने छुट छैन

काठमाडौं : आइतवार नेकपा (एकीकृत समाजवादी)ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट सहभागी भएका सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गर्‍यो। तर, एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरुले फिर्ता हुन मानेका छैनन्।

यसैबिच, बालुवाटारमा शीर्ष नेताहरुबिच बजेटको छलफल चलिरहेको समयमा मन्त्री हेरफेर नगर्ने सहमति जुटेको छ। बैठकले मन्त्रीहरुलाई तत्काल नहटाउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनायो। तर, एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएका नेताहरु भने पार्टीको निर्णय कार्यान्वयन हुने बताइरहेका छन्।

एकीकृत समाजवादीबाट शहरी विकास मन्त्रीका लागि सिफारिसमा परेका मेटमणि चौधरी पार्टीको निर्णय कार्यान्वयन हुने बताउँछन्। मन्त्री हेरफेरबारे पार्टीमा विवाद नभएको समेत उनको दाबी छ।

मन्त्री बन्न आफू तयार रहेको बताउने मेटमणिलाई पहिलोपोस्टकर्मी प्रकाश भण्डारीले सोधे :

हिजोको निर्णयले मन्त्रीका लागि तपाईंलाई सिफारिस गरेको थियो तर अहिले सम्म हुनु भएन किन?

प्रधानमन्त्रीलाई एक दिन पर्खने सुविधा छ नि। भोलि आजै राति या भोलिसम्म होला। सर्वसम्मत निर्णय पार्टीले गरेपछि कार्यान्वयन हुन्छ।

अध्यक्ष माधव नेपालसँग कुरा गर्नु भयो यसबारे?

भइसक्या छ। रोकिने भन्ने कुरो छैन। सबै कुरा फाइनल भइसकेको छ। बिहान शीर्ष नेता बस्नु भएको थियो, त्यसमा पनि छलफल भयो। पार्टीले निर्णय गरेपछि प्रधानमन्त्रीलाई गर्दिन भन्ने छुट छैन नि त।

बिहानको बैठकमा के भयो त?

खास जनता समाजवादी पार्टीले गर्दा समस्या भएको रहेछ। उसले अहिले फेर्ने कुरा गरेको छैन। अरु पार्टीलाई पनि मन्त्री फेर्नपर्ने दबाब पर्‍यो नि त। त्यसैले पनि बिहानको बैठकमा जसपाले अहिले मन्त्री नफेर्ने भनेको छ।

मन्त्रीहरुले त हामीलाई जानकारी छैन, बजेट संसद्बाट पास नभए अहिले नै मन्त्रालय छोडन मिल्दैन भनेका छन् नि?

पार्टीले भनेपछि त तुरुन्तै छोड्नुपर्छ। यो त्यो भन्ने कुरै छैन। पार्टीको सचिवालयले गरेको औपचारिक र सर्वसम्मत निर्णय हो नि।

मन्त्रीकै कारण पार्टीभित्र विवाद बढ्यो हैन अब?

छैन। त्यस्तो केही विवाद छैन। पार्टीले त निर्णय गर्छ त्यसलाई कार्यान्वयन गर्ने हो। त्यसमा के विवाद भयो र। विवाद गर्ने कुरै छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell